बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

कोरियामा नेपाली युवकले आत्महत्या गरेपछि बाँकीले कम्पनी छाड्दै

बिहीबार, १५ फागुन २०८१, १९ : ३७
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । दक्षिण कोरियामा एक नेपाली युवकले आत्महत्या गरेपछि बाँकी नेपालीले उक्त कम्पनी छोड्ने भएका छन् । छल्लानाम्दो मोक्पोस्थित ‘वुसङ पिग फार्म’ मा कार्यरत म्याग्दीका २८ वर्षीय तुलसी पुन मगर गत शनिवार मृत फेला परेका थिए । 

उनले आत्महत्या गरेको अवस्थामा फेला परेपछि उक्त फार्ममा काम गर्दै आएका अन्य नेपालीले समेत कम्पनी छोड्ने भएका हुन् ।

त्यहाँ कार्यरत बाँकी नेपालीले उक्त घटनापछि काम नगर्ने बताएका छन् । सोलस्थित नेपाली राजदूतावासको आग्रहमा रोजगारदाताले उनीहरूलाई अन्यत्र काम गर्न जान दिन सहमत भएका हुन् । 

काउन्सुलर मैया कँडेलले कम्पनीको साहुले चरणबद्ध रूपमा नेपालीलाई कम्पनी छोड्न दिने सहमत भएको बताइन् । एकै पटक सबै कामदारले कम्पनी छोड्दा फार्ममा समस्या हुने बताउँदै कम्पनी सञ्चालक क्रमिक रूपमा कामदारलाई अन्यत्र काम गर्न दिन सहमत भएको उनको भनाइ छ । 

दुई साताभित्र नेपाली कामदारले उक्त कम्पनी छोडिसक्ने उनको भनाइ छ । मृतक मगरसहित १८ जना नेपाली उक्त फार्ममा कार्यरत थिए । तीमध्ये १५ जनालाई दुई साताभित्रमा अन्यत्र पठाइने बताइन् । 

कँडेलका अनुसार १८ मध्ये ३ जनाले कम्पनीबाट ‘रिलिज लेटर’ लिएर घटनापछि तत्काल कम्पनी छाडेका थिए भने अब १५ जना बाँकी छन् । 

के भएको हो ? 

गत शनिबार मगर आफ्नै कोठामा मृत फेला परेका थिए । पोस्ट्मार्टम रिपोर्टअनुसार उनले आत्महत्या गरेका थिए । उक्त फार्ममा कार्यरत नेपालीले अत्यधिक काम गर्दा शारीरिक तथा मानसिक तनाव झेल्नुपरेको बताएका थिए । उनीहरूले काममा निरन्तरता दिन नचाहेको बताएका थिए । 

घटनापछि दूतावासले वस्तुस्थिति बुझ्न श्रम काउन्सिलर कँडेलसहित टोलीलाई फार्ममा पठाएको थियो । टोलीले जानकारी लिने क्रममा आइन्दा त्यस्ता घटना हुन नदिनेतर्फ सचेत गराएको थियो । 

आफूलाई एकदमै गाह्रो भइरहेको, काम गर्न नसक्ने बताएपछि मगर शुक्रबार नेपाल फर्किने तयारीमा थिए । सार्वजनिक भएका विभिन्न भिडियो सामग्रीमा नेपाली म्यानेजरले कुटपिट गरेको, अत्यधिक काममा लगाएको जस्ता आरोप लगाएका थिए । तर टोलीले अनुगमनका क्रममा त्यस्तो नदेखिएको र गुनासो नआउनेगरी काममा लगाउन भन्दै सचेतसमेत गराएको थियो । 

उनको मृत्युपछि फार्म सञ्चालकले दुःख व्यक्त गर्दै उनको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको कँडेलले बताइन् । कोरिया पुगेको ४ महिनामै उनले आत्महत्या गरेका थिए । जसले गर्दा कम्पनीले धेरै आर्थिक सहायता प्रदान गर्न नसक्ने तर, फार्म सञ्चालकले मानवीय नाताले आफूले सक्ने सहयोग दिने प्रतिबद्धता जाहेर गरेको कँडेलको भनाइ छ । 

फार्म सञ्चालकको प्रतिबद्धतापछि दूतावासले मगरको परिवारलाई आवश्यक कागजात तत्काल पठाउन अनुरोध गरेको छ । मगरको शव भने शुक्रबार बेलुकासम्म नेपाल पठाउने तयारी भइरहेका समेत उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप