करारमा कर्मचारी भर्ना गर्न गण्डकी सरकारले ल्याएको अध्यादेश मेरिट सिस्टम विपरीत : अध्यक्ष रेग्मी

काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गण्डकी प्रदेश सरकारले दुई वर्षअघि आफैँले जारी गरेको प्रदेश निजामती सेवा ऐनविपरीत ज्यालादारी वा करारमा कर्मचारी नियुक्तिको प्रक्रियाअगाडि बढाउन अध्यादेश जारी गर्नु मेरिट सिस्टमको विपरीत रहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले प्रदेश सरकारले अध्यादेशमार्फत अस्थायी र करार कर्मचारी भर्ना गर्न नपाउने बताएका हुन् ।
अध्यक्ष रेग्मीले यसरी सरकारले आफैँले अध्यादेश ल्याएर कर्मचारी पदपूर्ति गर्दा भाइ, भतिजवाद प्रश्रय पाउने बताए । उनले अध्यादेशमार्फत कर्मचारी नियुक्ति प्रक्रिया अगाडि बढाउँदा प्रतिस्पर्धाको गुण हराउने भएको कारण नेपाल सरकारको काम स्वच्छ, निष्पक्ष र पारदर्शी नहुने बताए । अस्थायी, करार, ज्यालादारीमा कर्मचारी नियुक्ति गरेर सरकारको बजेट सञ्चालन गर्न दिन नमिल्ने उनको भनाइ छ ।
अध्यक्ष रेग्मीले लोक सेवा आयोगको नतिजा उत्कृष्टतामा र कार्यक्षमतामा आउनुपर्ने कुरामा आफू गम्भीर रहेको समेत बताए । उनले आयोगले कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कन समेत गर्ने गरेको उल्लेख गर्दै सन्तोषजनक कार्यसम्पादन हुन नसकेको बताए । उनले कर्मचारी नियुक्त भइसकेपछि निश्चित समयको तालिम दिन जरुरी रहेको बताए । उनले पूर्व निर्धारित रूपमा कर्मचारीका लागि विज्ञापनको व्यवस्था नहुँदा सार्वजनिक प्रशासन समस्याग्रस्त रहेको बताए । उनले एक वर्षको अवधिमा निश्चित कर्मचारी भर्ना गर्न सकिए उनीहरूको सरुवा बढुवा समेत अनुमानयोग्य हुने बताए । उनले परीक्षा विधिमा समेत सुधार गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘गण्डकी प्रदेश सरकारले अध्यादेश ल्याएको सन्दर्भमा प्रदेश सरकारले कर्मचारीको अभावमा काम गर्न सकिएन त्यसकारणले करार ज्यालादारीमा कर्मचारी नियुक्ति गर्दा प्रदेशको काम होस् भन्ने उद्देश्यले गरेको थियो । तर म लोक सेवा आयोगको अध्यक्षको नाताले प्रदेश सरकारले अध्यादेश जारी गरेर जुन कर्मचारी नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । त्यो मेरिट सिस्टमको विपरीत छ । त्यसो गर्न मिल्दैन । त्यसो गर्न मिल्दैन । अस्थायी, करार, ज्यालादारी नियुक्ति गरेर बजेट सरकारको बजेट सञ्चालन गर्न दिन मिल्दैन । अहिले स्थानीयमा के परेको छ भने जहाँ स्थायी ज्यालादारी कर्मचारीको विषय आउँछ त्यहाँ आफन्तवाद, भाइ भतिजावादले प्रश्रय पाउँछ । त्यसले प्रतिस्पर्धाको गुण लिन सक्दैन र नेपाल सरकारको काम स्वच्छ, निष्पक्ष भएर गर्न सक्दैन ।’
अध्यक्ष रेग्मीले संघीय संरचनाको पदपूर्ति अदालती आदेशबाट नभई संघीय कानुनबाटै हुनुपर्नेमा जोड दिए । उनले अदालतबाट आदेश भएका तथा विचाराधीन मुद्दाका विविध विषयको समेत उचित सम्बोधन हुनेगरी यथाशीघ्र संघीय निजामती सेवासम्बन्धी कानुन तर्जुमा गर्न जरुरी रहेको बताए । उनले कानुनी रूपमा सुधार गर्न सकेमात्र सार्वजनिक प्रशासनमा सुधार गर्न सकिने जिकिर गरे ।
बिहीबारको समिति बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदनमाथि छलफल गरिएको हो । आयोगका वार्षिक प्रतिवेदनले सुझाएका सुझावहरू सरकारले गम्भीर रूपमा लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले स्तरोन्नति गर्ने
-
खेम र संगीताको ‘धेरै नरिसाउँ’ गीतमा पुष्प र सनिशाको अभिनय
-
गुणस्तरीय पानी वितरणका लागि अब क्लोरिनेसन अनिवार्य
-
उत्तर कोरियाले रुसमा पठायो थप सेना
-
काठमाडौँको वडाबाट निर्वाचित २९५ पदाधिकारी र सदस्यहरूलाई एकैसाथ शपथ गराउँदै रास्वपा
-
कानुन धेरै भएर देशको विकास हुन सकेन : गगन थापा