बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

गुणस्तर जनशक्तिको व्यवस्थापनमा सरकार केन्द्रित छ : स्वास्थ्य मन्त्री सारू

बिहीबार, १५ फागुन २०८१, १६ : ४६
बिहीबार, १५ फागुन २०८१

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले स्वास्थ्य सेवाको क्षेत्रमा भौतिक पूर्वाधारसँगै गुणस्तरीय जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ  स्थापना दिवसका अवसरमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री सारूले सरकारी अस्पतालहरूमा स्वास्थ्य सेवा सुधार तथा बिस्तारका लागि सरकार सहकार्य र सहयोगकामा सधैँ तयार रहेको बताएका हुन् । 

मन्त्री सारूले अस्पतालमा सेवालाई थप गुणस्तर गराउन समेत आग्रह गर्दै  स्वास्थ्य सेवा लिन आउने सेवाग्राही धेरै सचेत भैसकेको र कुनै पनि कमजोरीहरू भेटिएमा तुरुन्तै प्रतिक्रिया जनाउन सक्ने जिकिर गरे । उनले सेवाग्राहीसँग मुस्कानसहितको व्यवहार गर्न आग्रह गरे । 

प्रदेश सरकारले गौरव आयोजनामा राखेर लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ भवनको निर्माण कार्य जारी रहेको बताउँदै यसका लागि सङ्घीय सरकार, प्रदेश र स्थानीय बिच समन्वय आवश्यक रहेको उल्लेख गरे । यसै गरी निजी स्वास्थ्य संस्थालाई नियमन गर्ने सवालमा समेत मन्त्रालयले तयारी थालेको उनले बताए । कतिपय निजी स्वास्थ्य संस्थाहरूले दर्ता तथा सूचीकरण नगरीकन सञ्चालनमा आएको बताउँदै त्यस्ता संस्थाहरूलाई नियमन गर्ने तयारीमा रहेको जानकारी गराए । गरिब तथा विपन्न परिवारका लागि निजी स्वास्थ्य संस्थाहरूले समेत कम्तीमा १० प्रतिशत उत्तरदायित्व बहन गर्नुपर्ने भए पनि सो कुरा कार्यान्वयन भएको बताउँदै सरकारले कडाइकासाथ नियमन गरी कार्यान्वयनमा लैजाने तयारी गरिरहेको उल्लेख गरेका छन् । 

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुटवल आर्थिक सुस्तताको मारमा परेको बताउँदै लुम्बिनी प्रादेशिक अस्पतालको विकास गर्न सकेमा समग्र लुम्बिनी प्रदेशको परिचय र पहिचान बदलिने उल्लेख गरेका छन् । 

सेवालाई थप गुणस्तर गराउँदै आधारभूत स्वास्थ्य सेवाको बिस्तार र विशिष्टीकृत सेवामा केन्द्रित हुन आग्रह गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले कतिपय अवस्थामा सेवाग्राही र सेवा प्रदायक बिच मनमुटाब हुने गरेका बताउँदै यस प्रकारका कमजोरी हुन नदिन अस्पताल परिवार सधैँ चनाखो बन्न आग्रह गरे । 

अस्पताल विकास समितिका अध्यक्ष अजय मान श्रेष्ठले सेवाग्राहीको चाप र यहाँ उपलब्ध संरचना तथा जनशक्ति बिच ठुलो भिन्नता भएको  बताए । 

उनले अस्पतालमा भएका समस्याहरूलाई निराकरण गर्नका लागि अस्पताल विकास समिति, प्रशासन र विभागीय प्रमुखबिच समन्वय भइरहनु पर्ने आवश्यकता ल्याए । अस्पतालको नयाँ बन्दै गरेको भवनबाट कसरी सेवा प्रदान गर्ने अहिलेदेखि नै तयारी गर्नुपर्ने  बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बिस्तारतक अस्पताल सेवा कार्यक्रम प्रभावकारी भएको उल्लेख गरे । अस्पतालमा वार्षिक साढे ३ लाखले स्वास्थ्य सेवा लिएको तथ्याङ्क प्रस्तुत गर्दै प्रसूति सेवाको क्षेत्रमा उल्लेख्य प्रगति भएको जानकारी गराए ।

उनले अस्पतालमा २ महिना भित्रै आफ्नै ब्लड बैङ्क स्थापना गर्ने योजना रहेको उल्लेख गर्दै मेमोग्राफी मेशिन सञ्चालन स्तन क्यान्सरको स्क्रिनिङ सेवा सञ्चालन गर्ने तथा पित्त थैलीमा पत्थरी अपरेसनका लागि पालो कुरेर बसिरहेका सेवाग्राहीका लागि छुट्टै प्याकेजको कार्यक्रम ल्याउने तयारीमा रहेको बताए । 

कार्यक्रमका २५ वर्ष सेवा अवधि पूरा गरेका तथा उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो । यसै गरी अस्पतालले स्थापना दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा सहभागी भई विजेता बनेकाहरूलाई पुरस्कार वितरण तथा सम्मान गरेको थियो ।सो अवसरमा अस्पतालका गतिविधि समेटिएको स्मारिका ‘जिवक–३’ विमोचन गरिएको छ । 

  • डिजिटल पेमेन्टसहितका सेवा बिस्तार

अस्पतालको स्थापना दिवसको अवसरमा स्वास्थ्य मन्त्री सारूले डिजिटल पेमेन्ट काउन्टरको सुरुवात गरेका छन् । उक्त काउन्टरबाट सेवाग्राहीले डिजिटल माध्यमबाट टिकट काट्ने तथा भुक्तानी सेवा लिन सक्ने छन् । 

यसै गरी अस्पतालको ईएनटी (नक, कान, घाँटी) उपचार कक्षमा अडियोग्राम, टिम्पानोग्राम र ओएई टेस्ट सेवाको सुरुवात गरेका छन् । अस्पतालमा इकोकार्डियोलोजीतर्फ ट्रेडममिल टेस्ट(टिएमटी), हल्टर मनिटरिङ तथा एबीपीएम सेवाको शुभारम्भ गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप