शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

ओली–प्रचण्ड व्यक्तिगत तहमै ओर्लेर आरोप-प्रत्यारोपमा

जनसरोकारका विषय एकातिर, गालीगलौजमै व्यस्त
शुक्रबार, १६ फागुन २०८१, ०६ : ००
शुक्रबार, १६ फागुन २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीबिच पछिल्ला दिन फेरि घोचपेच र आरोप–प्रत्यारोप चल्न थालेको छ । 

केही समय सत्ता सहकार्य गर्दा ‘चुपचाप’ देखिएका यी दुई ठुला कम्युनिस्ट पार्टीका अध्यक्षहरू पुनः सत्ता र सत्ताबाहिर हुनासाथ दोषारोपणमा उत्रिसकेका छन् ।  

झन्डै ८ महिनाअघि असार १७ मध्यरातमा एमाले कांग्रेस सात बुँदे सहमति गरेर ओली प्रधानमन्त्री बनेपछि यी दुई नेताबिच सम्बन्ध बिग्रिएको थियो । जुन उनीहरूकै बारम्बारको अभिव्यक्तिले पुष्टि गर्छ । 

प्रचण्डले वर्तमान सरकार र गठबन्धनलाई अप्राकृतिक, अपारदर्शी र संविधान विपरीत भन्न थालेका छन् भने ओलीले प्रचण्ड र उनको दललाई सत्ताविमुख हुँदाको ‘छटपटी’का रूपमा अर्थ्याइरहेका छन् । 

राजनीतिक रूपमा ओली र प्रचण्डबिचको यस्ता आरोप–प्रत्यारोप खासगरी सत्तागठबन्धन नहुँदा बढी देखापर्छ । र यो सामान्य पनि भइसक्यो । तर व्यक्तिगत तहमै ओर्लेर एकअर्कामाथि हिलो छ्याप्नेगरी ओर्लिनु नेपाली राजनीतिमा देखिएको विचलन भएको राजनीतिकशास्त्र प्राध्यापकहरू तर्क गर्छन् । 

असार १७ पछि अध्यक्ष प्रचण्डले ओलीलाई जालीझेली, बेइमान र फटाहाको संज्ञा दिँदै आएका छन् भने ओलीले प्रचण्डलाई ‘राजावादी’सम्म भन्न भ्याइसके । 

गत माघ २२ गते म्याग्दीमा पार्टीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भनेका थिए, ‘एमालेको नेता जो अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ उहाँले यति धेरै ढाँट छल, जालझेल गर्नुभएको छ, मलाई त गर्नसम्मै गर्नुभयो !’

ओलीले सत्तागठबन्धन परिवर्तन गर्नेबेलामा आफूसँग भएको स्वर्ग र नर्कको कुरा उप्काउँदै प्रचण्डले प्रश्न गरेका थिए, ‘उहाँ हस्ताक्षर गरेर आएर पनि गरेकै छैन भन्नुहुन्छ । पत्रिकामा फोटो छापिसक्यो, यो कहिलेको छाप्यो ? यो झुटो फोटो भन्नसक्ने भनेपछि यस्ता जालीझेली र यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ?’

ओली प्रधानमन्त्री बन्नु देशका लागि योभन्दा ठुलो दुर्भाग्य अरू केही नभएको उनले बताएका थिए । 

त्यतिमात्रै होइन, कांग्रेस–एमालेको गठबन्धन पारदर्शी र लोकतन्त्रवादी भएको भए दिनको उज्यालोमै सहमति गर्नसक्नेमा त्यसो नगरी मध्यरातमा सहमति गरेबाटै पनि प्रश्न गर्ने ठाउँ रहेको प्रचण्डको दाबी छ । 

ओली पनि के कम ? फागुन ५ गते दाङ पुगेर प्रचण्डलाई आफूमाथि लगाएको जवाफ फर्काउने प्रयास गरे । ओलीले दाङमा प्रचण्डलाई राजासँग साठगाँठ गरेको संज्ञा दिँदै उनै प्रचण्डले अहिले लोकतन्त्रको दुहाई दिन नमिल्ने र धेरै नबोल्न चेतावनी नै दिए । 

नेकपा (एमाले) जिल्ला कमिटी दाङले घोराहीमा गरेको कार्यक्रममा ओलीले प्रचण्डलाई पूर्वराजासँग सम्झौता गरेर लोकतन्त्र मास्न हिँडेको र बाध्यताले लोकतन्त्रको पक्षमा सम्झौता गरेको आरोप लगाए । 

‘उल्टै लोकतन्त्रका मसिहा ?’, ओलीले प्रचण्डलाई प्रश्न गर्दै भनेका थिए, ‘गणतन्त्रका लागि कहिले लडेका थिए ? राजासँग साँठगाँठ गरेर सम्झौता गरेको होइन ?’ त्यस्ता निर्लज्ज मान्छेहरूले लोकतन्त्रका बारेमा दुहाइ हामीलाई दिने ?’

त्यतिमात्र होइन, ओलीले धेरै नबोल्न र बोले विगतका षड्यन्त्रको पर्दाफास गरिदिने चेतावनी पनि दिएका थिए । 

‘प्रचण्डजीलाई म भन्न चाहन्छु त्यस्ता बकवास गरेर नहिँड्नुस् । धेरै कुराहरूको, षड्यन्त्रहरूको पर्दाफास गर्न नपरोस्’, ओलीको चेतावनी थियो । 

त्यसबाहेक ओली प्रचण्डको संसद्मै पनि जुहारी चलेको थियो । माघ १८ गते प्रतिनिधि सभा बैठकमा ओलीले सरकार ढल्यो ढल्यो... भनेर माओवादी सहितका विपक्षले गरेको प्रचारबाजीको माघ २४ गते संसद्बाटै खण्डन गरेका थिए । 

‘विपक्षीमा रहेका साथीहरूले व्यर्थ समय खेर फालेको जस्तो लागेको छ । एउटा गीत बजारमा ढलेँ ढलेँ भन्ने प्रचारमा छ । राजनीतिक नेताहरूले त्यस्तै गाएको सुन्छु, आजै ढल्यो, भरे ढल्यो, ढल्यो, ढल्यो, ढल्यो । यो गीत राजनीतिका मञ्चमा सुहाउँदैन । मनारेञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ’, ओलीले प्रचण्डलाई जवाफ दिएका थिए । 

त्यसपछि प्रचण्डले ओलीलाई माघ २४ गतेको संसद् बैठकमा भने, ‘अस्ति प्रधानमन्त्रीले संसद्मा गीत गाउनुभयो । ढलो, ढलो, ढलो....। तपाईँहरूबिच विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु, भनिरहनुपर्छ ? हरेक ठाउँमा भनिरहनुपर्ने ? के शेरबहादुरजी कान सुन्नुहुन्न ? । हामी टिप्न हिँड्दैनौँ, यो सरकार कुहिएर झर्नेवाला छ ।’

नेताहरूको आरोप प्रत्यारोप ओली–प्रचण्डबिच चलिरहँदा एमाले महासचिव शंकर पोखरेल पनि बेलाबेलामा यसमा जोडिने गरेका छन् । 

बुधबार बेलुका मात्रै महासचिव पोखरेलले प्रचण्डलक्षित टिप्पणी गरे । ‘नेकपा (एमाले) र नेपाली कांग्रेसको सहयोगमा सत्ता समीकरणको कथित म्याजिक नम्बर पाउन सफल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले ती दलहरूको सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा ती दल ठुला भएको हास्यास्पद दाबी गरेछन्’, सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘वास्तवमा सरकारको नेतृत्वमा रहँदा पुष्पकमल दाहाल प्रचण्डले अवलम्बन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको हो ।’ र यो क्रम निरन्तर जारी रहेको पनि उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

‘त्यसको हेक्का भएर नै प्रचण्डमा यतिवेला तीव्र निराशा र छटपटाहट देखिन थालेको छ’, महासचिव पोखरेलले प्रचण्डलाई सामाजिक सञ्जालबाटै उत्तर दिएका हुन् । 

  • ‘देशको चिन्ता र निर्दिष्ट लक्ष्य छैन’ 

मुलुकमा अनगिन्ती समस्याहरू छन् । कमजोर सुशासन, बेरोजगारी समस्या र सामाजिक आर्थिक समस्याले मुलुक गाँजिएको अवस्थामा त्यसबाट मुक्त गर्दै मुलुकलाई अघि बढाउनुपर्ने जिम्मेवारी दुवै नेताको काँधमा छ । तर उनीहरू देश र जनताका समस्या सम्बोधन गर्न तथा जनसरोकारका मुद्दामा ठोस कदम चाल्ने विषयमा कुनै दिन पनि गम्भीर छलफल र संवादमा बसेका छैनन् । सरकार आफूले ल्याएको अध्यादेश कसरी संसद्बाट स्वीकृत गर्ने भन्ने ध्याउन्नमा छ भने प्रमुख प्रतिपक्ष त्यसलाई असफल बनाउने प्रयत्नमा छ ।

राजनीतिक शास्त्रका प्राध्यापक लोकराज बराल देश बनाउने चिन्ता नभएपछि शीर्ष नेताहरू व्यक्तिगत आरोपप्रत्यारोपमा अलमलिएका बताउँछन् । 

‘नेताहरूमा देश बनाउने चिन्ता भएन । कहाँ जाने भन्ने निर्दिष्ट लक्ष्य पनि देखिएन’, बरालले रातोपाटीसँग भने, ‘फेरि कम्युस्टिहरूमा त आरोप प्रत्यारोपको शृङ्खला पुष्पलाल श्रेष्ठका पालादेखि नै देखिएको हो ।’

स्वार्थअनुसार हेलमेल हुँदा प्रशंसा गर्ने र स्वार्थ नमिलेपछि एकअर्कामा गालीगलौज र आरोप प्रत्यारोपमा नेताहरू लाग्नु नौलो कुरा नभएको बरालको भनाइ छ । 

‘यस्ता कुरामा महत्त्व दिनु नै बेकार छ । यस्तो उनीहरूको चलिरहन्छ । भोलि स्वार्थ मिल्ने अवस्था आयो भने फेरि मिल्न पनि सक्छन्’, बरालले रातोपाटीसँग भने, ‘पावर सेयरिङमा कुरा मिल्यो भने आजको भोलि थामथुम हुन्छ ।’ देश बनाउने चिन्तन र नागरिकका समस्या सम्बोधन गर्ने विषयमा नेताहरूबिच छलफल र संवाद नै हुन छाडेको भन्दै नेताहरूमा हुनुपर्ने स्ट्यान्ड राख्न नसकेको बरालको विश्लेषण छ । ‘यिनीहरूको भर पनि छैन, बाटो र निर्दिष्ट लक्ष्य पनि देखिँदैन । जसले गर्दा प्रतिगामीलगायत तत्त्वहरू जमजमाउने मौका मिलेको छ’, बरालको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?