शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय
विचार

‘सहिदलाई मुर्दावाद भन्नेहरू नेपालको इतिहासका मुर्दाहरू हुन्’

बिहीबार, १५ फागुन २०८१, २० : ००
बिहीबार, १५ फागुन २०८१

बलिदानको मूल्य छ । त्यो बलिदानको मूल्य चुकाउन हामीले गणतन्त्रलाई सही ढंगले संस्थापन गर्नुपर्छ । गरिब, विपन्न र हेपिएकाहरूलाई धुलोबाट उठाउनुपर्छ । तिनका विवेकलाई उठाउनुपर्छ । तिनलाई अधिकार सम्पन्न गराउनुपर्छ । तिनको अगाडि शिर झुकाउनुपर्छ । 

जनयुद्धकालमा मलाई देशका विभिन्न भू–भागमा घुम्ने अवसर प्राप्त भएको थियो । ठाउँ–ठाउँमा सहिदद्वार खडा गरिएका हुन्थे । सहिद स्मारक खडा गरिएका हुन्थे । राजनीति गाउँबाट काठमाडौँ पस्यो । नेता काठमाडौँबाट सिंहदरबार पस्यो । पछि ती गाउँमा डुल्दा जेजति स्वागतद्वार थिए, कति सहिद स्मारक थिए– तिनको कहीँ पनि संरक्षण गरिएन । अहिले ती कहीँ पनि छैन । 

स्थानीय सरकारले कमसेकम यो ठाउँमा सहिद दिलबहादुर रम्तेलको नाममा सहिद स्मारक निर्माण गरेको छ । बिहान सहिद र बेपत्ता व्यक्तिहरूको सूची हामीले पढ्यौँ । १० वर्षको जनयुद्धमा एउटै जिल्लामा त्यति धेरै नागरिक मारिनु र बेपत्ता हुनु कुनै ठट्टा होइन । महान् उद्देश्यका निम्ति लडेर सहादत प्राप्त गरेका जेजति नागरिक छन्, तिनका मातापिताहरूले गौरवान्वित गर्नुपर्छ । स्थानीय सरकारले धेरै असल काम गरेको छ । यस्ता कामलाई देशको धेरै भागमा फिँजाउनुपर्छ । मारिएका सहिदहरू छन्, तिनको इतिहास खोजिनुपर्छ । तिनको नाममा स्मारक बनाइनुपर्छ । स्मृति पार्क बनाइनुपर्छ । यसलाई सत्ताले सम्झिनुपर्छ । 

म त पञ्चायतमा हुर्किएको मान्छे । पञ्चायत राजाको शासन थियो । पञ्चायतकालमा कल्पना वा मनमा पनि राजाबारे कुनै टिप्पणी गर्दा पुलिसले समातेर मार्ला कि भन्ने डर हुन्थ्यो । अहिले त्यही पञ्चायतका अवशेषहरू, वंशतन्त्रका अवशेषहरू सडकमा निस्किएर गणतन्त्र मुर्दावाद भनिरहेको छ । संघीयता मुर्दावाद भनिरहेका छ । धर्म निरपेक्षता मुर्दावाद भनिराखेको छ । सहिदको बलिदानले गणतन्त्र प्राप्त भएको हो । जसले गणतन्त्रको मुर्दावाद भनिरहेको छ, त्यसले गणतन्त्र मुर्दावाद भनेको हो । सहिदलाई मुर्दावाद भन्नेहरू नेपालको इतिहासका मुर्दाहरू हुन् । त्यो मुर्दाविरुद्ध लड्नुपर्छ । 

मलाई एउटा घटनाको याद आउँछ । दोस्रो संविधानसभामा लहानदेखि चन्द्रनिगाहपुरसम्म माओवादीको चुनावी अभियानमा म हिँडेको थिएँ । साथमा प्रचण्ड र बाबुरामजी पनि हुनुहुन्थ्यो । पुराना घटनालाई सम्झेर पत्रकार मलाई सोध्छन्–तिमी पुष्पकमल र बाबुरामसँग तीन दिनसम्म चुनावी अभियानमा गएकोमा पश्चात्ताप लाग्दैन ? म सोध्छु– किन ? 

पत्रकारले फेरि सोध्छन्–त्यसले सिंहदरबार देखाउँछ । तिमी र तिमी जस्ताले काँध थापेर सिंहदरबारमा पठाए । तिनी कस्ता छन् ? तिनका अनुहार कस्ता छन् ? तिनको मुद्रा कस्तो छ ? तिनको भेषभूषा कस्तो छ ? तिनको जीवनशैली कस्तो छ ? तिनको सामाजिक सम्बन्ध कस्तो छ ? समय के थियो ? के भयो ? के थिए ? के भए ? तिमिलाई पश्चात्ताप लाग्दैन ?

म भन्छु– मैले आफ्नो जीवनमा जानी नजानी गरेको कुनै पनि कामप्रति कहिल्यै पश्चात्ताप लागेन । मैले जीवनमा जे गरेँ, आफ्नो विवेकको निर्णयले गरेँ । म चुनावी अभियानमा प्रचण्ड र बाबुरामको आदेशमा गएको होइन । माओवादी पार्टीको आदेशमा होइन । म मेरो विवेकको आदेशमा गएको हो । मेरो समर्थन कुनै व्यक्तिप्रति थिएन । माओवाद भनेको एउटा दर्शन हो । माओवादी जनयुद्ध एउटा अभियान हो । त्यो तिनीहरूको अभियान हो, जो हेपिएका छन्, अधिकार खोसिएका छन्, जसको जात हरण गरिएको छ, जसको संस्कृति दबिएको छ । तिनका उत्पीडनविरुद्ध, तिनको अधिकारको निम्ति, राज्यमा तिनीहरूको समान अधिकार दाबी गर्न ढोका खोल्नको निम्ति म त्यो अभियानमा गएको हो । 

म पहिलाको राम्रा कामको कुरा गर्छु, अहिलेको कुरा गर्दिनँ । अतीतका पदचिह्नलाई हेर्न र त्यसका गौरवका कुरा स्मरण गर्न यहाँ आएको छु । म फेरि के भन्छु भने–गणतन्त्रविरुद्ध सडकमा गर्जन उत्पन्न भएको छ । गणतन्त्रको शक्ति के हो भने गणतन्त्रले राजावादीलाई गणतन्त्र मुर्दावाद भन्न दिन्छ । पञ्चायतले हामीलाई राजामाथि सानो टिप्पणी गर्न पनि दिँदैनथ्यो । गणतन्त्र शक्तिशाली हुन्छ । त्यो कुनै ठट्टा होइन । गणतन्त्र प्राप्तिका निम्ति असीमित नागरिकका बलिदान छ । आँसुको बलिदान छ । रगतको बलिदान छ । त्यागको बलिदान छ । पारिवारिक विघटनको बलिदान छ । शोकको बलिदान छ । सबै सहिदका बलिदानबाट गणतन्त्र आएको हो । त्यसको स्मारक यहाँ खडा गरिएको छ । स्थानीय सरकारलाई म फेरि पनि धन्यवाद दिन्छु । 

यहाँ स–साना नानीबाबुले कविता वाचन गर्दा मलाई विद्यालयको याद आयो । म अंग्रेजी पढाउँथेँ । कहिलेकाहीँ नेपाली शिक्षक नहुँदा मलाई हेडमास्टरले नेपाली पढाउन पठाउँथे । मलाई खुब मजा आउँथ्यो । ती नानीबाबुहरूलाई ‘हुँदैन बिहानी मिरमिरे तारा झरेर नगए, बन्दैन देश दुई चार सपुत मरेर नगए’ त्यसको म अर्थ लगाउँथेँ । एकदिन मलाई सीडीओ कार्यालयबाट बोलावट भयो । के हो मास्टरसा’ब कविताको अर्थ लगाउनु भएछ नि । हेडमास्टरले पढाउन पठाए । मेरो काम त कविताको अर्थ लगाउने नै हो । सीडीओले भने–कविताको अर्थ लगाउँदा राजालाई जोड्नुभएछ नि । हैन, मैले त्यस्तो अर्थ लगाएको छैन भनेँ । तपाईंसँग रेकर्ड छ भने ल्याउनोस् मैले भनेँ । जवाफमा भने–हैन, तपाईंले घुमाएर भन्नुहुन्छ । म साहित्य पढेको हुँ । साहित्य भनेकै घुमाएर भन्ने चिज हो । सीडीओले भने–मास्टरसा’ब तपाईं नेपाली नपढाउनोस्, अंग्रेजी नै ठिक छ भने । त्यसपछि हेडसरले नेपाली पढाउन जा भन्दा हैन मलाई त्यो सीडीओले डाक्छ भन्थेँ । म त्यो परिस्थितिमा हुर्किएको मान्छे हुुँ । आज तपाईं–हामी यहाँ उभिएर चिहानमा फालिएको राजतन्त्रदेखि हाम्रै नेता समेतलाई पनि प्रश्न गर्न सक्छौँ । हामी तीसँग आँखा जुधाउन सक्छौँ । तिमी को थियौ ? के भयौ ? तिमीलाई यस्तो बनाउन क–कसले के–के बलिदान गरे ? हामी स्मरण गराउँछौँ । सहिदको बलिदानबाट प्राप्त भएको व्यवस्था जोखिममा छ । सडकमा त्यसविरुद्ध मुर्दावादको नारा लाइराखेका छन् । सिंहदरबारमा फोहोरको डंगुर भएको छ । त्यो फोहोरको डंगुर निर्माण गर्न हामीले काँध थापेर माथि पठाएका नेताहरूको पनि मनग्य योगदान छ । त्यो फोहोर सफा गर्न समाजमा ठुलो अभियानको आवश्यकता छ । ढिलोछिटो त्यो अभियान हुनेछ । यो व्यवस्थालाई जोगाउन, भौतिक र मानसिक रूपमा यसलाई संस्थागत गर्न धेरै कुरा सफा गर्न आवश्यक छ । अर्को अभियान उठिरहेको बेला गोरखाका संग्रामी जनताले अगुवाइ गर्नेछन् । फेरि पनि तिनीहरूले सत्कर्मका निम्ति आत्म बलिदानी गर्न तयार हुनेछन् । म दिलबहादुर रम्तेलाई सलाम गर्नेछु । त्योभन्दा बढी सेते रम्तेल (दिलबहादुरका बुवा) लाई सलाम गर्नेछु । 

(बलिदानी दिवस–२०८१ को अवसरमा बुधबार बारपाक सुलिकोट, गोरखामा आयोजित कार्यक्रममा संग्रौलाले राखेको मन्तव्य) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप