बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
लेखापरीक्षण प्रतिवेदन

कांग्रेस सवा २ करोड नोक्सानमा, घाटाको ब्यालेन्स सिटमा ‘भेट्रान’ व्यवसायीको सिग्नेचर

बिहीबार, १५ फागुन २०८१, १४ : ४८
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । देशकै सबैभन्दा ठुलो दल नेपाली कांग्रेस नोक्सानमा गएको छ । पार्टीको आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनले सञ्चित कोष २ करोड ३२ लाख ४७ हजार रुपैयाँले नोक्सानीमा गएको हो । ४ करोड ९१ लाख ५६ हजार रुपैयाँ खर्च गरेको कांग्रेसले यो अवधिमा २ करोड ५९ लाख ८ हजार रुपैयाँ मात्रै आम्दानी गर्न सक्दा सञ्चित कोषको आकार घटेको छ । 

यो वर्ष कांग्रेसले सदस्यता तथा नवीकरण शुल्कबापत ७१ लाख ९८ हजार रुपैयाँ प्राप्त गरेको छ । यो शीर्षकमा अघिल्लो वर्ष ५७ लाख ६० हजार रुपैयाँ आम्दानी भएको थियो । 

त्यस्तै, चन्दा सहयोगबापत यो अवधिमा १ करोड ७३ लाख ९४ हजार रुपैयाँ उठेको छ । अघिल्लो वर्ष सोही शीर्षमा २ करोड ६५ लाख रुपैयाँ उठेको थियो । 

अघिल्लो वर्ष बैंकको ब्याजबापत ३८ लाख ३१ हजार रुपैयाँ प्राप्त गरेको पार्टीको ब्याज आम्दानी समीक्षा वर्षमा घटेर १२ लाख ९७ हजार रुपैयाँमा झरेको छ । 

यी आम्दानी घट्दा गत आर्थिक वर्षमा कुल ३ करोड ६४ लाख आम्दानी गरेको कांग्रेसको कुल आम्दानी यो वर्ष घटेर २ करोड ५९ लाखमा झरेको हो । 

आम्दानी कम भएपछि कांग्रेसले खर्चमा समेत मितव्ययिता अपनाएको छ । अघिल्लो वर्ष ७ करोड ९९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको पार्टीले यो वर्ष खर्च घटाएर ४ करोड ९१ लाख ५६ हजारमा सीमित गरेको हो । 

यसमध्ये कार्यालय सञ्चालनबापत ४ करोड ५४ लाख र ह्रास तथा अपलेखनबापत ३६ लाख ८८ हजार रुपैयाँ खर्च भएको देखिएको छ । कार्यालय सञ्चालन शीर्षकमा अघिल्लो वर्ष ३ करोड २२ लाख रुपैयाँ तथा ह्रासकट्टी शीर्षकमा ३९ लाख ३६ हजार छुट्याएको थियो ।

गत वर्ष पार्टीले निर्वाचन खर्चबापत ३ करोड ८८ लाख ५७ हजार र भातृ संगठनसम्बन्धी खर्चमा ४९ लाख ६० हजार रुपैयाँ खर्च गरेको थियो । 

यो वर्ष पार्टीले जाजरकोटका भूकम्प पीडितलाई २ लाख, हुम्लाका बाढी पीडितलाई १० लाख, खगेन्द्र रेग्मीलाई ३ लाख, राजाराम कार्कीलाई ५ लाख, अर्जुन खड्कालाई २ लाख र सुरेन्द्र सिंह राठौरलाई ९ लाख ९० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । त्यस्तै, प्रधानमन्त्री राहत कोषमा ५० लाख सहयोग हस्तान्तरण थरेको समेत जनाइएको छ । 

अहिले कांग्रेससँग ५ करोड ५ लाख ४५ हजार रुपैयाँ बराबरको सम्पत्ति रहेको देखिएको छ । जसमा जग्गाको २५ लाख ४६ हजार र भवनको ४ करोड ३८ लाख ५३ हजार मूल्यांकन गरिएको छ । कांग्रेससँग ललितपुरको सानेपामा आफ्नै जग्गामा सुविधा सम्पन्न भवन छ । 

समीक्षा वर्षको नोक्सानीसँगै पार्टीको साधारण जगेडा कोष २ करोड ६१ लाख ४० हजार रुपैयाँबाट घटेर २८ लाख ९२ हजार रुपैयाँ पुगेको छ । 

अहिले कांग्रेसको कोषाध्यक्षमा भेट्रान व्यवसायी उमेश श्रेष्ठ छन् । सभापति शेरबहादुर देउवाको मनोनयन अनुसार नियुक्त भएका उनैले आर्थिक विभाग सम्हालिरहेका छन् । उनको समेत हस्ताक्षर(सिग्नेचर) रहेको लेखा परीक्षण प्रतिवेदनको कांग्रेस भने नोक्सानमा देखिएको हो । 

उनीसहित पार्टीका तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा तथा मुख्यसचिव कृष्ण पौडेलले समेत प्रतिवेदनमा हस्ताक्षर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप