बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गलेश्वर मन्दिरमा ५१ लाख भेटी सङ्कलन

बिहीबार, १५ फागुन २०८१, १३ : ३३
बिहीबार, १५ फागुन २०८१

म्याग्दी । जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन भएको छ ।  गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । 

कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले यो वर्ष भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताए । उनका अनुसार गत आव २०८०/८१ मा रु ५८ लाख ४० हजार पाँच सय १० भेटी सङ्कलन भएको थियो । यस वर्ष नियमिततर्फ रु २५ लाख १५ हजार पाँच सय ४७ तथा मेलापर्व र विशेष अवसरमा गरी रु २६ लाख छ हजार छ सय छ भेटी सङ्कलन भएको रेग्मीले जानकारी दिए ।  

बुधबारको महाशिवरात्रि पर्वमा रु चार लाख ३३ हजार सात सय ७४, मङ्सिरको बालाचर्तुदशीमा रु छ लाख ६१ हजार दुई सय ९४ र साउने सोमबारको मेलामा रु १५ लाख ११ हजार पाँच सय ३८ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष कुमारी पुनले जानकारी दिइन् ।

 शिवरात्रि पर्वको भेटी आज बिहान कोषका पदाधीकारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा गनेर सार्वजनिक गरिएको हो । अन्य शीर्षकमा रु २१ लाख ४२ हजार पाँच सय २९ सहित कोषले साउनदेखि हालसम्म रु ७२ लाख ६४ हजार छ सय ८२ आम्दानी गरेको कोषका कार्यालय सचिव राम बानियाँले बताए । 

मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिकको आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने गरिएको सचिव बानियाँले बताए ।

नियमित पूजाबाट तथा महायज्ञबाट सङ्कलन भएको भेटी, तीर्थयात्रीद्वारा दिइएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए ।

उनका अनुसार धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् । 

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । 

हिन्दुधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने गर्दछ । साथै यहाँ दैनिक नित्य पूजाआजा हुने गर्दछ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुुने धार्मिक विश्वास रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप