बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

जनयुद्धकी पहिलो महिला सहिद धनमायाबारे के भन्छन् श्रीमान् ?

पार्टी नेतृत्वप्रति गुनासैगुनासा
बिहीबार, १५ फागुन २०८१, १३ : ००
बिहीबार, १५ फागुन २०८१

नेकपा(माओवादी)ले सञ्चालन गरेको १० वर्षे जनयुद्धको प्रथम सहिद थिइन् धनमाया श्रेष्ठ । साविक महत गाविस–५, रुकुममा पसलमा ऊनको कपडा बुनेर बसिरहेको अवस्थामा २०५२ साल चैत ५ गते तत्कालीन राज्य पक्षका सुरक्षाकर्मीले मनमायालाई गोली हानी हत्या गरेको थियो । 

त्यसदिन बिहान उनका श्रीमान् मनप्रसाद श्रेष्ठ दाइ (चक्रबहादुर)लाई भेट्न पसलमै आएका थिए । तर माथि ठुलो गाउँमा सेन्ट्री बसेका माओवादी छापामारले तलबाट ठुलो संख्यामा प्रहरी आएको जानकारी दिएपछि उनले भागेर ज्यान बचाए । 

पर जंगलमा पुगेपछि बन्दुक पड्किएको आवाज आएको थाहा पाएका धनमायाको श्रीमान्ले आफ्नै श्रीमतीलाई गोली हानेको शंका पनि गरेका थिएनन् । जंगलमाथि पुगेपछि सम्पर्कमा आएका एक व्यक्तिले उनका श्रीमती, दाइ र अर्का एक जनाको हत्या गरेको जानकारी गराएका रहेछन् । 

उनै प्रथम सहिद धनमायाका श्रीमान् मनप्रसाद श्रेष्ठले त्यतिवेलाको घटना, संघर्ष र पार्टी नेतृत्वबारे रातोपाटीका संवाददाता गणेश पाण्डेसँग कुराकानी गरेका छन् । 

प्रस्तुत छ, श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः   

  • त्यतिवेला घटना कसरी भएको थियो ? 

२०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सुरु भएको थियो । सोही साल चैत ५ गते मेरो परिवार (श्रीमती) पसलमा बसेकै बेला प्रहरीले मारिदिए हुन् । चक्रबहादुर श्रेष्ठ(दाइ) र अर्का जयबहादुर बुढालाई पनि त्यही पुलिसले त्यहीँ मारेछन् । पार्टीले जनयुद्धकी प्रथम महिला सहिद घोषणा गर्‍यो तर, अहिलेसम्म पार्टीले रेकर्ड राखेको छैन कि के हो !

  • घटना हुँदा तपाईं कहाँ हुनुहुन्थ्यो ? 

त्यतिबेला म भूमिगत थिएँ । बिहान घर आएको थिएँ । घरभन्दा माथि हामीले सेन्ट्री राखेका थियौँ । माथिबाट आएका केटाहरूले तल पुलिस आइपुगे, भाग्नोस् भने । त्यसपछि म हिँडिहालेँ । मेरो परिवार पसलमा बसेको मान्छे । महिलालाई मारेको रेकर्ड पनि थिएन । परिवारलाई केही गर्दैन भन्ने कुरा भयो । म हिँड्दा मेरा दाइ र अर्का एक जना त्यहीँ थिए । पर जंगलमा पुगेपछि बन्दुक पड्किएको आवाज आयो । क–कसलाई मार्‍यो भन्ने सोचेँ । तर म माथि नै बसेँ । पछि एक जना मान्छे आएर तपाईँको परिवारलाई मार्दिए भनेपछि मैले थाहा पाएँ । ६ दिनसम्म प्रहरी त्यहीँ बस्यो । हामीलाई सदगत गर्न पनि दिएन । म पनि आउँछ भनेर प्रहरीले त्यसो गरेको रहेछ । म नआएपछि त्यतै गाडे होलान् । 

  • घटना भएको ठाउँको वडा वा गाउँ अहिले कहाँ पर्छ ?

घटना भएका ठाउँ पहिला महत गाविस–५ गुनाम हो । अहिले पूर्वीरुकुमको भूमे गाउँपालिका–२ मा पर्छ होला । मेरो परिवारलाई गोली हानेपछि घटनास्थलबाट तल काक्री त्रिवेणी खोलामा लगेर हत्या गरेछन् । त्रिवेणी अहिले भूमे गाउँपालिका–१ मा पर्छ होला । 

  • अहिले कता हुनुहुन्छ र ? 

म अहिले दाङ झरेको छु । काम केही छैन । गुजारा चलिरहेको छ । एउटी छोरी विदेश गएकी छ । छोरो पढ्दै छ । छोरीकै भरथेगमा बाँचिरहेका छौँ । अर्की छोरीचाहिँ घरमै छे । 

  • तपाईंका दाइलाई पनि त्रिवेणी लगेर हत्या गरेको हो ? 

होइन । माथि नै मारेका हुन् । दाइ र अर्का एक जना पर ढुंगामा बसेका रहेछन् । त्यहीँ हत्या गरेन । लास ढुंगैमा थियो भन्थे । मेरो परिवार पसलबाट बाहिर निस्किएर कपडा बुनिरहेका बेला गोली हानेछन् । सुरुमा मेरो परिवारलाई नै हानेका रहेछन् । किन हानेको भन्दा दाइहरूको पनि हत्या गरेछन् । दाइ गुनामका हुन् । अर्का मर्ने एकजना बुढा काक्रीका हुन् । पहाडको घर वडा नम्बर ७ पर्छ । गाउँको जग्गा सबै त्यसै छ । बसाइसराइँ लिएर अहिले यतै बसेका छौँ । 

  • घटना कति समयमा भएको थियो ? 

त्यस्तै बिहानको ९/१० बजेको थियो होला । हाम्रो कार्यक्रम थाबाङ भन्ने ठाउँमा थियो । घरबाट नजिकै पर्छ । जेठाजु आउनुभएको छ, एकछिन भेट्न आउनोस् भनेर परिवारको खबर पाएपछि म बिहानै आएको थिएँ । सोही दिन राति हाम्रो प्रशिक्षण कार्यक्रम थियो । सायद त्यो दिन म त्यहीँ बस्थेँ होला । माथि सेन्ट्री बसेका केटाहरूले तलबाट ठुलो संख्यामा प्रहरी आएको जानकारी दिएपछि म भागेको हुँ । सेन्ट्री पोस्ट माथि ठुलो गाउँमा थियो । त्यहाँबाट तल पुलिस आउने बाटो सबै देखिन्छ । 

  • सहिद धनमायाकी एक छोरी पनि थिइन्, होइन र ? 

थियो । 

  • नाम के थियो ?

भरत श्रेष्ठ हो । भरतकुमारी हो । सबैले भरत भनेर चिन्छन् । 

  • आमाको हत्या भएको बेला छोरी कति वर्षकी थिइन् ? त्यतिबेला कहाँ थिइन् ?

त्यस्तै १२/१३ वर्षकी थिइन् होला । छोरी महत भन्ने ठाउँमा स्कुल पढ्न गएकी थिइन् । सात कक्षामा पढ्दै थिइन् । आमालाई मारिसकेपछि थबाङ पुगिन् । थबाङमा कान्छी आमाकोमा बसेर पढिन् । तिनका दुई छोरा छन् । छोरीलाई ब्लड क्यान्सर भएर शान्तिकालपछि २०६५ सालतिर होला, मृत्यु भइसक्यो । 

  • उपचार खर्च पार्टीले व्यवस्था गर्‍यो कि छोरीकी घरले गर्‍यो ? 

उपचार खर्च सबै हामीले गर्‍यौँ । घरपट्टिबाट कोही फर्केर आएनन् । मेरी श्रीमती (वर्तमान) ले उपचारका लागि नेपालगञ्जसम्म पुर्‍याइन् । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ वीर अस्पतालमा ल्याएकी थिइन् । वीर अस्पतालमै उनी(छोरी) बितिहालिन् । जनार्दन शर्मा, गणेशमान पुनलगायत नेताहरू गएर पशुपति आर्यघाटमा लगेर दाहासंस्कार गर्‍यौँ । उनका छोराहरूलाई निःशुल्क पढ्ने व्यवस्था मिलायौँ । तर छोरीको लोग्नेले पहिले नै अर्की श्रीमती ल्याएका रहेछन्, कसैलाई थाहै भएन । ऊ कता गयो, कता बेपत्ता भयो । बिरामी श्रीमतीलाई एकपटक भेट्न पनि आएनन् । उपचार खर्च पनि व्यहोरेन् । त्यतिबेलै छोरीको उपचार गर्दा ९/१० लाखभन्दा बढी खर्च भएको थियो । बाजेबज्यैले पनि खर्च व्यहोर्दैनौँ भने । हाम्रा नातिहरू आफै राख्छौँ, दिन्नँ भने । नातिहरूको भविष्य बनाउन धेरै प्रयास गर्‍यौँ । तर उनीहरू हाम्रो सम्पर्कमा आउन चाहेनन् । अहिले उतै थबाङतिरै छन् भनेका छन् । 

  • तपाईंको विवाह कि मागी जनवादी ? 

होइन, प्रेम विवाह हो । 

  • हत्या हुने बेला श्रीमती पार्टीको कुन तहमा हुनुहुन्थ्यो ? 

त्यतिबेला उनी महिला एरिया समिति सदस्य थिइन् । म पनि एरिया समिति सदस्य थिएँ ।  

  • घटनापछि तपाईं निरन्तर पार्टीमा लाग्नुभयो कि छोड्नुभयो ? 

म त लगातार भूमिगत नै भएँ । अहिले निष्क्रिय छु । 

शान्ति प्रक्रियामा आएपछि पार्टी लगातार सत्तामा छ । प्रचण्ड र बाबुराम भट्टराईले चार पटक सरकारको नेतृत्व गरिसके ।

  • सहिद परिवारलाई पार्टी नेतृत्वले सम्झिराखेको छ कि बिर्सियो ? 

पार्टी नेतृत्वले सहिद परिवारलाई गरेको उपेक्षाका कारण म अहिले निष्क्रिय बसेको छु । एकपटक मलाई भेट्न रेखा शर्मा आउनुभएको थियो । 

मैले तीन/चार वटा प्रश्न राखेँ । मेरो परिवार प्रथम महिला सहिद हो, तपाईंले कम्तीमा तिनलाई महत्त्व दिनुस् भनेँ । मेरो सम्पत्ति जायजेथा सबै लुटिया, कैयौँ निवेदन दिएँ, त्यसको कुनै वास्ता गर्नुभएन, यस्तै प्रश्न राखेँ । यी काम गर्नुहुन्छ भने म पार्टीमा फेरि सक्रिय हुन्छु भनेको थिएँ । नत्र तपाईं सत्तामा मात्र बस्ने । जनयुद्धकालका सबै कुरा बिर्सिने पनि भनेँ । यसबारे पार्टीले कुनै सुनुवाइ नगरेपछि पार्टी काममा निष्क्रिय बसेको हुँ । 

  • कति वर्षको हुनुभयो ? 

७० वर्षको भएँ । 

  • अहिले प्रचण्डलगायत शीर्ष नेताहरूसँग सम्पर्क हुन्छ कि हुँदैन ? 

मैले पनि सम्पर्क गरेको छैन । उहाँहरूले पनि गर्नुभएको छैन । 

  • दोस्रो विवाह कहिले गर्नुभएको हो र ? छोराछोरी कति छन् ? 

दोस्रो विवाह मैले २०५३ अन्तिममा गरेँ । कान्छीपट्टिका दुई छोरी र एक छोरा छन् । कान्छी पनि एरिया सदस्यसम्म भइन् । अहिले राजनीतिमा सक्रिय छैन । 

  • त्यसोभए जुन उद्देश्य राखेर माओवादीले जनयुद्ध गर्‍यो । शान्ति प्रक्रियामा आएपछि राम्रो गरेनन् भन्ने तपाईंको मूल्यांकन हो ? 

कम्तीमा सहिद परिवारको अवस्था के छ ? कसरी जीविका चलाइराखेका छन् ? यसबारे जानकारी लिन पनि उनीहरूका परिवारसँग भेट्ने, दुःखसुखबारे जानकारी लिने गर्नुपर्थ्यो । सहिद परिवारलाई प्रोत्साहन गर्न योजना ल्याउनुपर्थ्यो । घोराहीमा आएपछि पनि मलाई एक/दुई पटक बोलाएका थिए । गएपछि नेताहरूले आफ्ना भाषण मात्र राख्ने हुन् । केही गर्ने होइनन् । कम्तीमा सहिद परिवारको प्रतिनिधित्व गरेर बोल्न लगाउने गर्नुपर्थ्यो । खालि भाषण मात्र गरेर हुँदैन । म त भाषण सुनेर नै हुर्केको व्यक्ति हुँ । 

  • पार्टी नेतृत्व पछिल्लो समय फेरि सहिद परिवारलाई भेट्ने, गुनासा सुन्ने, हामी बिग्रियौँ, अब सच्चिन्छौँ, कार्यकर्ता र जनतातिर फर्किन्छौँ भनिराखेका छन् नि ? 

माओवादी सुध्रिएर आए निष्क्रिय बसेका नेता तथा कार्यकर्ता फेरि आउँछन् । सक्रिय हुन्छन् । नेताहरू गल्ती महसुस गरेर सुध्रिएर आउने, जनतामा जाने हो भने किन आउँदैन, आउँछन् मान्छेहरू । आज पनि कार्यक्रम राखेका रहेछन्, केन्द्रीय नेताहरू आएका थिए, उहाँहरूले सच्चिएर आएका छौँ, सहिद परिवारका गुनासा सुन्छौँ । तपाई पनि सक्रिय हुनुपर्छ भने । अनि मैले तपाईंहरू सच्चिएर आउनुस्, घाइते अपांगहरूलाई व्यवस्थापन गर्ने काम गर्नुस् अनि सोचौँला भनिदिएँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप