बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले ‘काठमाडौँ शैक्षिक मेला’ गर्दै

बिहीबार, १५ फागुन २०८१, ११ : ३९
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गर्न लागेको छ । फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृह परिसरमा मेला आयोजना गर्न लागेको हो । 

विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको महानगरले जनाएको छ । कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र सङ्घ संस्थाहरूसँग सहकार्य हुने महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 

विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको उनको भनाइ छ ।  महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरूको क्षमता विकास लगायतका कार्यक्रमको बिम्ब मेलामा समेटिने बताए ।

मेला आयोजनाका लागि महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्नुहुनेछ । प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरू नै हुनेछन् । 

प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरूले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक फ्री फ्राइडे अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्पत रुचि र नतिजा प्रदर्शन गर्नेछन् । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनालाई अवलोकनका लागि निमन्त्रणा गरिएको मेलामा सामुदायिक विद्यालयहरूले दिवा खाजाका रूपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई ३० रुपैयाँमा नै उपलब्ध गराइनेछ । यस्तै नेपाल भाषा, मौलिक संस्कृति, भेसभुसा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिनेछ । 

विद्यार्थी नमुना संसद् अभ्यास, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, बुक फ्री फ्राइडेको बावा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका १ हजार बढी स्केचिङ र स्कल्प्चरको नमुना प्रदर्शनी, टिचर कलेज प्रोग्रामसम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदानप्रदान, महानगरपालिकाका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्र मेलाका आकर्षण हुन् । 

KTM Education Fair photo (1)

कार्यक्रमका ३ चरणमध्ये फेस्ट पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन (२०८१ फागुन २३ गते) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना बनाइएको छ । 

तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नवीनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तरक्रिया आयोजना गरिनेछ ।  महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको छ । जसबाट प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्री फ्राइडे (एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सिप), टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । 

विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहुवर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा छ । यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ कार्यान्वयनमा ल्याइएको प्रवक्ता मानन्धरले बताए । 

कार्यक्रमबाट सैद्धान्तिक शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाएर समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनमा योगदान गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप