सान्त्वना जित निकाल्दै आलोचना मत्थर पार्ने धुनमा आयोजक पाकिस्तान र बंगलादेश

काठमाडौँ । ‘मिनी विश्वकप’ को नामले चर्चित आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा बिहीबार उपाधि होडबाट बाहिरिइसकेका दुई टोली पाकिस्तान र बंगलादेशबिच भिडन्त हुँदैछ । यी दुई टोलीबिचको खेल पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा दिउँसो १४ः४५ बजे सुरु हुनेछ ।
अघिल्लो दुवै खेलमा पराजित भएपछि यी दुवै टोली उपाधि होडबाट भने बाहिरिइसकेका छन् । त्यसैले बिहीबारको खेलमा पाकिस्तान र बंगलादेश दुवै सान्त्वना जितको खोजीमा हुनेछन् । समूहगत चरणबाटै बाहिरिएपछि खासगरी साविक विजेता पाकिस्तानको भने व्यापक आलोचना भइरहेको छ ।
त्यसैले आयोजक राष्ट्र पाकिस्तान आफ्नो अन्तिम खेलमा जित हात पार्दै निरन्तरको आलोचनालाई केही हदसम्म भए पनि मत्थर पार्ने धुनमा छ । समूह ‘ए’ बाट न्युजिल्यान्ड र साविक उपविजेता भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
उक्त समूहमा सबै टोलीले दुई–दुई खेल खेलिसक्दा चार अंकसहित न्युजिल्यान्ड पहिलो र समान अंक जोडेको भारत दोस्रो स्थानमा आसिन छन् । नेट रन रेटमा भारतभन्दा न्युजिल्यान्ड अगाडि छ । आयोजक तेस्रो स्थानको बंगलादेश र चौथो स्थानको पाकिस्तानले भने अंक बटुल्न सकेका छैनन् ।
पाकिस्तानी टोली प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्यान्डसँग ६० रनले पराजित भएको थियो । दोस्रो खेलमा पाकिस्तानी टोली चिरप्रतिद्वन्द्वी भारतसँग ६ विकेटले हारेको थियो । बंगलादेशी टोली भने पहिलो खेलमा भारतसँग ६ विकेटले र दोस्रो खेलमा न्युजिल्यान्डसँग पाँच विकेटले हारेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा पाकिस्तानी टोली तेस्रो वरीयतामा आसिन छ । बंगलादेशी टोली भने पछिल्लो आर्यसीसी वरीयताको नवौँ स्थानमा रहेको छ ।
च्याम्पियन्स ट्रफीमा बंगलादेश
आईसीसी च्याम्पियन्स ट्रफीमा बंगलादेशको यो छैटौँ सहभागिता हो । बंगलादेशले सबैभन्दा पहिले सन् २००० मा आयोजित दोस्रो संस्करणमा सहभागिता जनाएको थियो । सन् १९९८ मा पहिलो संस्करणको आफैले आयोजना गरे पनि बंगलादेशी टोलीले प्रतियोगितामा सहभागिता जनाउन पाएको थिएन ।
सन् २००० मा पहिलोपटक सहभागिता जनाउँदा बंगलादेश प्रि–क्वार्टरफाइनल चरणबाटै बाहिरिएको थियो । उक्त संस्करणमा बंगलादेश प्रि–क्वार्टरफाइनल चरणमा इङ्ल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।
सन् २००२ मा आयोजित तेस्रो संस्करणमा पनि बंगलादेशी टोली च्याम्पियन्स ट्रफीमा सहभागी थियो । तर, दुवै खेलमा पराजित हुँदै समूहगत चरणबाटै बाहिरिएको थियो । सन् २००४ मा आयोजित चौथो संस्करण पनि दुवै खेलमा पराजित हुँदै बंगलादेश समूहगत चरणबाटै बाहिरिएको थियो ।
तेस्रो सहभागितासम्म बंगलादेशले च्याम्पियन्स ट्रफीमा एक खेल पनि जित्न सकेको थिएन । सन् २००६ मा आयोजित पाँचौँ संस्करण पनि बंगलादेश प्रारम्भिक चरणबाटै बाहिरिएको थियो । तर, यो संस्करणमा बंगलादेशले आफूले खेलेको तीनमध्ये एक खेलमा जित हात पारेको थियो ।
च्याम्पियन्स ट्रफीको इतिहासमा बंगलादेशको यो नै पहिलो जित थियो । उक्त खेलमा बंगलादेशले जिम्बाबेलाई एक सय एक रनको फराकिलो अन्तरले हराएको थियो । त्यतिबेला हबिबुल बसार बंगलादेशका कप्तान थिए ।
सन् २००९ मा आयोजित छैटौँ र सन् २०१३ मा आयोजित सातौँ संस्करणमा भने बंगलादेश छनोट नै भएन । त्यसपछि सन् २०१७ मा आयोजित आठौँ संस्करणमार्फत बंगलादेश पुनः च्याम्पियन्स ट्रफीमा फर्किएको थियो ।
आठौँ संस्करणमा बंगलादेशी टोली समूहगत चरण पार गर्दै सेमिफाइनलसम्म पुगेको थियो । समूहगत चरणमा तीन अंकसहित बंगलादेश दोस्रो भएको थियो । सेमिफाइनलमा भने बंगलादेशी टोली भारतसँग नौ विकेटले पराजित भएको थियो । च्याम्पियन्स ट्रफीमा बंगलादेशको यो सबैभन्दा ठुलो उपलब्धि हो ।
च्याम्पियन्स ट्रफीमा पाकिस्तान
पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफीमा पहिलो संस्करणदेखि नै निरन्तर रुपमा सहभागिता जनाउँदै आएको छ । त्यसैले च्याम्पियन्स ट्रफीमा पाकिस्तानको यो लगातार नवौँ सहभागिता हो । पाकिस्तानले हालसम्म एकपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।
आठौँ संस्करण सन् २०१७ मा इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना भएको थियो । उक्त संस्करणको फाइनलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको थियो ।
च्याम्पियन्स ट्रफीको इतिहासमा फाइनलमा कुनै पनि टोलीले रनका आधारमा हात पारेको यो नै सबैभन्दा ठुलो अन्तरको जित पनि हो । यस आधारमा पाकिस्तानी टोली अहिले च्याम्पियन्स ट्रफीको आयोजकसँगै साविक विजेता पनि हो ।
पाकिस्तानी टोलीले सन् २०१७ मा सरफराज अहमदको कप्तानीमा च्याम्पियन्स ट्रफी जितेको थियो । त्यतिबेला पाकिस्तानी टोलीमा अजहर अली, फाखर जामन, सोएब मलिक, मोहम्मद हाफिज, इमाद वसिम, मोहम्मद आमिर, सदब खान, हसन अली, जुनैद खानलगायतका प्रभावशाली खेलाडी थिए । अन्य संस्करणमा भने पाकिस्तानी टोली फाइनलसम्म पनि पुग्न सकेको छैन ।
च्याम्पियन्स ट्रफीमा पहिलो भिडन्त
च्याम्पियन्स ट्रफीमा पाकिस्तानको नवौँ र बंगलादेशको छैटौँ सहभागिता भए पनि हालसम्म यी दुई राष्ट्रबिच भिडन्त भने भएको छैन । त्यसैले च्याम्पियन्स ट्रफीमा यी दुई टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा पाकिस्तान अगाडि
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने हालसम्म यी दुई टोलीबिच ३९ पटक भिडन्त भइसकेको छ । उक्त भिडन्तको तथ्याङ्कले बंगलादेशभन्दा पाकिस्तानलाई निकै बलियो टोलीको रुपमा देखाउँछ ।
हालसम्म ३४ एकदिवसीय अनतर्राष्ट्रिय खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ । बंगलादेशी टोलीले भने पाँच एकदिवसीय खेलमा मात्र पाकिस्तानले पराजयको स्वाद चखाउन सकेको छ ।
पछिल्लो पटक यी दुवै टोली सन् २०२३ मा भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा आपसमा भिडेका थिए । उक्त खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले हराएको थियो ।
लयमा छन् पाकिस्तानका खुशदिल र अबरार
जारी च्याम्पियन्स ट्रफीमा पाकिस्तानका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान खुशदिल शाह हुन् । उनले जारी प्रतियोगिताको दुई खेलमा कुल एक सय सात रन बनाइसकेका छन् । सबैभन्दा बढी विकेट लिने बलर भने अबरार अहमद हुन् ।
खुशदिलले जारी प्रतियोगिताको दुई खेलमा दुई विकेट लिएका छन् । त्यसैले बंगलादेशविरुद्धको खेलमा पनि पाकिस्तानी समर्थकले यी दुई खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आशा गरेका छन् ।
बंगलादेशलाई जाकिर र रिशादको आश
जारी च्याम्पियन्स ट्रफीमा बंगलादेशका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा जाकिर अली पहिलो स्थानमा छन् । उनले भारतविरुद्धको पहिलो खेलमा ६८ र न्युजिल्यान्डविरुद्धको दोस्रो खेलमा ४५ रन बनाएका थिए ।
यो सूचिमा दोस्रो स्थानमा तौहिद हृदोय रहेका छन् । उनले भारतविरुद्ध शतकीय पाली खेलेका थिए । जारी प्रतियोगितामा बंगलादेशका लागि सर्वाधिक विकेट लिने बलर भने रिशाद हुसैन हुन् । उनले दुई खेलमा तीन विकेट लिइसकेका छन् ।
रावलपिण्डीको सन्तुलित पिच
रावलपिण्डी क्रिकेट स्टेडियमको पिच सन्तुलित प्रकृतिको रहेको छ । यो स्टेडियमको पिचले बलर र ब्याट्सम्यान दुबैमाथि न्याय गर्ने गरेको छ । यो स्टेडियममा हालसम्म २७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले १२ खेल जितेका छन् ।
यो स्टेडियममा जवाफी ब्याटिङ गर्ने टोलीले भने १४ खेलमा सफलता हात पारेका छन् । एक खेल भने अनिर्णित रुपमा सकिएको छ । यो स्टेडियममा बनेको उच्च स्कोर तीन विकेट गुमाएर तीन सय ३७ रन हो । उक्त स्कोर सन् २०२३ मा पाकिस्तानले न्युजिल्यान्डविरुद्ध बनाएको थियो ।
वर्षाले खेल बिथोल्ने प्रवल सम्भावना
रावलपिण्डी क्रिकेट स्टेडियममा हुने पाकिस्तान र बंगलादेशबिचको खेल वर्षाका कारण प्रभावित हुने सम्भावना निकै छ । बिहीबार रावलपिण्डीमा वर्षाको सम्भावना ७५ प्रतिशत रहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
रावलपिण्डीको आकाश विहानैदेखि बाक्लो बादलले ढाकिएको हुनेछ । रंगशाला वरपरको तापक्रम ११ देखि १८ डिग्री सेल्सियसको बिचमा रहने छ । हावाको गति भने १५ किलोमिटर प्रति घण्टा रहने समाचारमा जनाइएको छ ।
पाकिस्तान र बंगलादेशको सम्भावित टोली
पाकिस्तान : मोहम्मद रिजवान (कप्तान तथा विकेटकिपर), इमाम उल हक, साउद शकिल, बाबर आजम, सलमान आगा, तैयब ताहिर, खुशदिल शाह, नसिम शाह, साहिन शाह अफरिदी, ह्यारिस रउफ र अबरार अहमद ।
बंगलादेश : नजमुल हुसैन शान्तो (कप्तान), तान्जिद हसन, तौहिद हृदोय, मुश्फिकुर रहिम, महमुदुल्लाह, जाकिर अली, मेहन्दी हसन मिराज, रिशाद हुसैन, तस्किन अहमद, नाहिद राणा र मुस्तफिजुर रहमान ।
ICC Champions Trophy, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
-
शीतल निवासमा 'फेमार' काटेर राष्ट्रपतिले सुरु गरे ग्याल्पो ल्होसार
-
प्रधानन्यायाधीश पनि ट्रम्पकै पक्षमा, विदेश सहयोग रोक्का जारी राख्न दिए अनुमति
-
लागुऔषध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालकसहित २ जना पक्राउ
-
भूकम्पपछिको पुनःनिर्माणका लागि कहाँ-कहाँ खुल्दैछ प्राधिकरणको अस्थायी कार्यालय ?
-
‘वरिष्ठ बलराम’ आगामी लक्ष्मी पूजामा रिलिज हुने