शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : दलहरूको अभियान

तीन कम्युनिस्ट पार्टीको प्रतिस्पर्धा : आफ्ना रोक्ने, अर्काका खोस्ने !

कार्यकर्ता जोगाइराख्न अभियान, प्रतिस्पर्धी दलको भण्डाफोर
बिहीबार, १५ फागुन २०८१, ०९ : ५०
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । संसद्मा प्रतिनिधित्व गर्ने तीन ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जनतासँग जोडिन र कार्यकर्ता जोगाइराख्न विभिन्न कार्यक्रम घोषणा गरेका छन् ।

गत निर्वाचनमा अपेक्षाअनुरूप नतिजा ल्याउन नसकेपछि जनसरोकारका मुद्दा उठाउँदै तीनवटै राजनीतिक पार्टी २०८४ मा हुने निर्वाचनलक्षित गतिविधिमा सक्रिय बन्न पुगेका हुन् ।

‘हामीलाई जनतासमक्ष जानु छ । विगतमा एमाले र कांगेससँग गठबन्धन गर्दा जनतासँगको सम्बन्धबाट विमुख हुन पुग्यौँ । अब त्यसो गर्ने छैनौँ,’ फागुन १२ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाको कचनकवलमा पुगेर ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’को उद्घाटन गर्दै भने, ‘आत्मसमीक्षा र भूलसुधार गर्दै जनतासँगै सम्बन्ध बनाउने भनेका छौँ । यसो गर्दा पक्कै पनि जनताले साथ दिनेछन् भन्ने विश्वासमा छौँ ।’

maoist

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रमात्र होइन, सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र प्रतिपक्षमा रहेको अर्को दल नेकपा एकीकृत समाजवादी पनि जनतासँग प्रत्यक्ष जोडिन खोज्दै छ ।

एमालेले तीनमहिने वडाकेन्द्रित अभियान माघ महिनाबाटै सुरु गरिसकेको छ भने माओवादी केन्द्रले फागुन दोस्रो साताबाट तराई–मधेस जागरण र एकीकृत समाजवादीले तेस्रो साताबाट ‘आन्दोलनद्वारा पार्टी निर्माण’ अभियान घोषणा गरेको छ ।

कुनैवेला एउटै पार्टीमा रहेका र अहिले तीन धारमा विभाजित यी पार्टीहरू आ–आफ्ना अभियानअन्तर्गत अलग–अलग एजेन्डा बोकेर जनतासँग जोडिने र उनीहरूको मन जित्ने कसरतमा लागेका हुन् ।

‘हामी अब आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौँ । माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने हल्ला र दुष्प्रचार गरिएको थियो,’ प्रचण्ड भन्छन्, ‘अरू पार्टीसँग सहकार्य गरेर हामी ठुलो भएनौँ ।’

२०७२ को संविधानपछि माओवादी केन्द्रले कहिले एमाले त कहिले कांग्रेसँगको सहकार्यमा निर्वाचन लड्दै आएको छ ।

‘अहिले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीले एउटै समयमा जनतासँग जोडिने कार्यक्रमहरू धमाधम घोषणा गरिरहेको देखिन्छ । यसमा दलहरूको पहिलो उद्देश्य आफ्ना नेता कार्यकर्ताहरूलाई ‘इन्गेज’ बनाइराख्ने राख्ने नै हो’

‘बरु हामीले जोसँग सहकार्य गर्‍यौँ त्यही पार्टी ठुलो भयो । कहिले कांग्रेस ठुलो भयो, कहिले एमाले ठुलो भयो,’ अध्यक्ष प्रचण्ड विगतमा गठबन्धनमार्फत चुनावमा जाँदा पार्टीले घाटा बेहोर्नुपरेको अनुभव सुनाउँछन् ।

सत्ताविमुख भएसँगै माओवादीले वर्तमान सरकारलाई अप्राकृति र असंवैधानिकको बिल्ला भिराउँदै आएको छ । जनतामा जाँदा पनि माओवादीले मुख्यगरी वर्तमान एमाले–कांग्रेस गठबन्धन सरकारको विरोध गर्दै आफ्नो कार्यकालमा भ्रष्टाचार र सुशासनका पक्षमा भएका कामहरूको प्रचार गरिरहेको छ ।

त्यस्तै एमालेले विगतदेखि अहिलेसम्म आफू नेतृत्वको सरकारले गरेका कामको बेलिबिस्तार लगाइरहेको छ । अर्को दल एकीकृत समाजवादी पनि जनसरोकार र सुशासनसहित मुद्दा बोकेर जनतामाझ जान लागिरहेको छ ।

जनतामाझ जाँदा तीनवटै पार्टीले आफूअनुकूल मुद्दा बोके पनि उनीहरूको उद्देश्य भने एउटै देखिन्छ ।

विश्लेषकहरूका अनुसार पार्टीहरूको पहिलो उद्देश्य हो, आफ्ना कार्यकर्तालाई ‘इन्गेज’ बनाइराख्ने । त्यसपछि २०८४ को निर्वाचनमा सबैभन्दा ठुलो पार्टी बन्न प्रयास गर्ने र त्यो सम्भव नभए पनि सत्ताका लागि निर्णायक शक्ति बन्न प्रयत्न गर्ने हो ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल राजनीतिक दलहरूले समय समयमा विभिन्न मुद्दा उठाएर जनतामाझ जानु वा जाने घोषणा गर्नु स्वाभाविक र नियमित प्रक्रियाअन्र्तगत नै भएको बताउँछन् । पोखरेल उनीहरूका त्यस्ता कार्यक्रमको मूल उद्देश्य आफ्ना कार्यकर्ता ‘इन्गेज’ र अरूका कार्यकर्ता आफूतिर आकर्षण गर्ने माध्यम हुने विश्लेषण गर्छन् ।

‘अहिले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीले एउटै समयमा जनतासँग जोडिने कार्यक्रमहरू धमाधम घोषणा गरिरहेको देखिन्छ । यसमा दलहरूको पहिलो उद्देश्य आफ्ना नेता कार्यकर्ताहरूलाई ‘इन्गेज’ बनाइराख्ने राख्ने नै हो’, प्राध्यापक पोखरेलको विश्लेषण छ ।

कुनै पनि राजनीतिक दलका कार्यकर्ता मूकदर्शक भएर बस्न नसक्ने भन्दै यस्तो अवस्थामा उनीहरूको ध्यान अन्यत्र नमोडियोस् भनेर पार्टीहरूले समय–समयमा विभिन्न कार्यक्रम तय गर्ने गरेको पोखरेलको बुझाइ छ ।

‘कार्यकर्ताहरू पार्टीकै कामहरूमा केन्द्रित होउन् र नभाडिउन् भनेर कार्यकर्तालाई काम दिन खोजेको भनेर बुझ्न सकिन्छ’, पोखरेलले रातोपाटीसँग भने, ‘त्यो काम सत्ता र प्रतिपक्षमा हुने दुवैले गर्न सक्छन् । शैली र तरिका आ–आफ्नै हुन सक्छन् ।’

गएको उपनिर्वाचनमा हालका सत्तारुढको जनमत खस्किएको देखिएकाले उनीहरूलाई आफ्नो जनमत बरकरार राख्नुपर्ने दबाब रहेको पोखरेल बताउँछन् । 

‘एमालेलाई पुरानो जनमत बरकरार गर्दै थप गर्नुछ भने प्रतिपक्षलाई विगतको भन्दा जनमत बढाउनु छ’, पोखरेलले भने, ‘तीनवटै दलले ०८४ मा अलगअलग चुनाव लड्ने घोषणा गरे पनि त्यतिवेलासम्मको अवस्था के हुन्छ भनेर अहिले नै भन्न सकिँदैन ।’

पोखरेलले दलहरूले ०८४ को चुनावमा गठबन्धन नगर्ने भनेर घोषणा गरे पनि त्यो अडान कायमै राख्लान् भनेर विश्वास गर्न नसकिने बताए ।

‘गएको उपनिर्वाचनमै अलग–अलग लड्ने भनेका कांग्रेस एमालेले नै कति स्थानमा गठबन्धन गरे’, उनले भने, ‘त्यसले गर्दा पार्टीहरूले के भन्छन् र के गर्छन् भन्ने कुरामा कुनै ग्यारेन्टी हुन्न । कार्यकर्तालाई जागरूक र चलायमान बनाउनका लागि एक्लै चुनाव लड्छौँ भन्नु स्वाभाविक हो ।’

सरकारले गरेका कामबाट जनतामा असन्तुष्टि छ भन्ने बुझेपछि त्यसवेला प्रतिपक्षले जनताको विश्वास जित्न लाग्ने अवसरका रूपमा प्रयोग गर्ने पोखरेलको भनाइ छ ।

‘सरकारका कामकारबाहीबाट असन्तुष्ट बनेको पक्षलाई आफूतिर तान्नुपर्ने प्रतिपक्षलाई लागेको छ, किनभने जनता भनेको बगुवापानी जस्तै हो’, उनले भने, ‘बगुवा पानी मेरै खेतमा आउँछ भन्ने अवस्था छैन ।’ यस्तो अवस्थामा जनताका मुद्दा उठाएर उनीहरूसँग जाँदा नेताकार्यकर्ता र जनताबिचको जीवन्त सम्पर्कसमेत हुने भएकाले दलहरूले त्यसको फाइदा लिन प्रयास गर्ने पोखरेलको भनाइ छ ।

‘यदि कुनै पार्टीले म ०८४ मा बहुमत ल्याउँछु भन्छ भने त्यो जनतालाई धोखा र कार्यकर्तालाई बेवकुफ बनाउने प्रयत्न मात्र हो’

‘त्यसो गर्दा ग्राउन्डमा के रहेछ भनेर पार्टीका नेता कार्यकर्ताले बुझ्ने अवसरसमेत पाउने भए’, पोखरेलले भने, ‘तर सत्तारुढ दललाई समस्या छ । सरकारमा छौँ के गर्‍यौँ भनेर जनताले सोध्ने भएपछि एउटा कार्यक्रम दिऊँ न त भन्ने उसको प्रयत्न हुन सक्छ ।’

प्रतिपक्षमा रहेका पार्टीलाई जनतामा जाँदा मुद्दा उठाउन सहज हुने पोखरेल टिप्पणी गर्छन् । 

प्रमुख दलहरूले अहिलेबाटै आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउँछौँ, हामीलाई मत दिनू भनेर जनतामाझ भन्ने गरेको सुनिए पनि अहिलेको निर्वाचन पद्धतिअनुसार कुनै पनि दलको बहुमत आउने सम्भावना नरहेको पोखरेल बताउँछन् ।

‘यदि कुनै पार्टीले म ०८४ मा बहुमत ल्याउँछु भन्छ भने त्यो जनतालाई धोखा र कार्यकर्तालाई बेवकुफ बनाउने प्रयत्न मात्र हो’, प्राध्यापक पोखरेल भन्छन् । 

अर्का राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम पनि राजनीतिक दलहरूले गर्ने यस्ता किसिमका कार्यक्रमहरू आफ्ना दलका कार्यकर्ता जागरूक गराउन हुने गरेको बताउँछन् ।

‘आफ्नो पार्टी पंक्तिलाई जागरूक गराउँछ, छुटपुट संगठन वा जनमत विस्तार पनि गर्न सहयोग पुग्ला’, गौतमले भने, ‘भन्नलाई भ्रष्टाचार र सुशासनका कुरा पनि गर्लान्, तर जनसरोकार र जनचासोको कुरा कम महत्वमा पर्ने गरेका छन् ।’

पछिल्लो समय तीनवटै पार्टीमा कार्यकर्ताहरू एकअर्कामा आउनेजाने भइरहेको भन्दै पार्टीहरूबिचको अन्तरविग्रहलाई रोक्ने उद्देश्यले विभिन्न मुद्दा र एजेन्डा अघि सारेर दलहरू देश दौडाहा, भण्डाफोर जस्ता कार्यक्रममा लागेका गौतमको विश्लेषण छ ।

‘अन्तरविग्रहलाई रोक्दै आफ्नोबाट अर्को पार्टीमा जान नदिने र सकेसम्म अर्काको खोस्ने मुख्य उद्देश्य हो’, विश्लेषक गौतमको निष्कर्ष छ ।

WhatsApp Image 2025-02-25 at 16.55.17_e5788cc9

  • माओवादीको प्राथमिकता  

जनतामाझ जाँदा प्रतिपक्ष दलहरूले सरकारका गलत कामको  विरोध, भ्रष्टाचार नियन्त्रणमा सरकारको बेवास्ता, महँगी र बेरोजगारी समस्या तथा विभेद र असमानतालगायत विषयलाई बढी जोड दिएको पाइन्छ ।

‘प्रतिगमनको खतराविरुद्ध खबरदारी गर्दै संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न हाम्रो अभियान हो,’ माओवादीले थालेको तराई–मधेस जागरण अभियानबारे पार्टी सचिव देवेन्द्र पौडेल भन्छन्,‘दलाल, बिचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर तथा अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरंकुश प्रवृत्तिको विरोधसहित भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिने हाम्रो अभियानको उद्देश्य हो ।’

यसबाहेक माओवादीले जातीय भेदभाव तथा महिलामाथिको हिंसा, मूल्यवृद्धि र सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा देखिएको उदासीनताको अभियानअन्तर्गत विरोध गरेको छ ।

‘सहकारी पीडितलाई बचत रकम उपलब्ध गराई न्याय दिलाउने वातावरण, मिटरब्याज समस्या समाधान, किसानलाई मलबीउ र बजार सुनिश्चितताका एजेन्डा पनि माओवादीले उठाएको छ । यस कार्यक्रमअन्तर्गत माओवादीले कोशी प्रदेशको झापा र मोरङमा खबरदारी सभा गरिसकेको छ भने मोरङमा फागुन १५ गते गर्दैछ । त्यसपछि मधेस प्रदेशमा फागुन १६ देखि २४ सम्म कार्यक्रम तय गरेको सो पार्टीले बागमतीमा फागुन २५ गते र गण्डकीको नवलपरासी पूर्वमा फागुन २६ गते भण्डाफोर कार्यक्रम गर्दैछ ।

फागुन २७ देखि चैत ५ सम्म लुम्बिनीका परासी, रुपन्देही कपिलवस्तु हुँदै दाङ, बाँके र बर्दियामा कार्यक्रम तय गरेको माओवादीले चैत ६ र ७ गते कैलाली र कञ्चनपुरमा कार्यक्रम राखेको छ । माओवादी संसद्मा ३२ सांसदसहित तेस्रो शक्तिका रूपमा छ ।

  • निर्णायक र बलियो शक्ति निर्माण

सरकारको नेतृत्व गरिरहेको एमालेले आगामी ०८४ को निर्वाचनमा निर्णायक र बलियो शक्ति निर्माण गर्ने लक्ष्य लिएको छ । त्यसो त नेकपा एमालेले ‘मिसन ०८४’ अभियान भन्दै ०७९ को निर्वाचन लगत्तै मिसन ०८४ अभियान सुरु गरेको थियो ।

२०७९ को फागुन ५ गतेबाट एमालेले दुई महिने ‘मिसन ग्रासरुट ’ अभियान चलाएको थियो । त्यसपछि एमालेले ०८० मंसिर १४ देखि पुस २ गतेसम्म ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ चलाएर नेता कायकर्तालाई अभियानमा सामेल गरायो । त्यसक्रममा मध्यपहाडी राजमार्गअन्तर्गत २६ र अन्य ११ सहित ३८ जिल्लामा एमाले नेता कार्यकर्ता पुगेका थिए ।

२०७९ को निर्वाचनमा ७८ सांसदसहित दोस्रो ठुलो शक्ति बनेको एमालेले पार्टीको ७५औँ स्थापना दिवसको समय पारेर ०८१ वैशाख ८–९ मा गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले आगामी २५ वर्षभित्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने र समाजवादको बलियो आधार निर्माण गर्ने दूरगामी महत्वको संकल्प गरेको थियो ।

त्यसका लागि एमालेले तत्काल पार्टी ‘मिसन–०८४’मा केन्द्रित हुने, राज्यका तीन वटै तहमा एकल बहुमत हासिल गरेर श्रमजीवी वर्गलाई राज्यसत्ताको केन्द्रीय नेतृत्वमा स्थापित गर्ने, राष्ट्रको आवश्यकता र जनअपेक्षानुरूप काम गर्ने र त्यसपछिका दिनमा निर्विकल्प रूपमा नेकपा (एमाले)लाई राष्ट्रिय राजनीतिमा निरन्तर विजयी पार्टीका रूपमा स्थापित गर्ने उल्लेख गरेको थियो ।

त्यसको प्रारम्भमा संगठन शुद्धीकरण तथा सुदृढीकरणबाट गर्ने भनेको थियो । त्यही सोचलाई दृष्टिगत गर्दै पार्टी केन्द्रले ०८१ का लागि निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना जारी गरेको थियो ।

सोही क्रममा २०८१ को मंसिर अन्तिम साता केन्द्रीय संगठन विभागले गरेको ‘स्थानीय तहमा पार्टी कामका समस्या तथा समाधान‘ विषयक राष्ट्रिय कार्यशालाले ०८१ को केन्द्रीय वार्षिक कार्य योजनाअनुसार स्थानीय स्तरबाटै पार्टी काम र संगठनलाई सबल बनाउन ‘तीन महिना वडा–केन्द्रित पार्टी निर्माण विशेष अभियान’ सञ्चालन गर्न प्रस्ताव गरेको थियो । 

संगठन विभागले अघि सारेको वडा–केन्द्रित पार्टी निर्माण अभियान– २०८१ अन्तर्गत एमालेले स्थानीयस्तरमा पार्टीको सबलीकरण, जनतासँग पार्टीको घनिष्ठता र ‘मिसन चौरासी‘ लक्षित राष्ट्रिय अभियान हुने एमालेको भनाइ छ ।

यो अभियानअन्तर्गत पार्टी सदस्य विस्तार गर्न फागुन–चैतभित्रै सदस्यता नवीकरण, पार्टीलाई टोलसम्म संगठनात्मक रूपमा गतिशील बनाउने, पार्टी जीवनको शुद्धीकरण, भ्रामक प्रचारको प्रतिवाद गर्ने, पार्टीको नीति र नेतृत्व स्थापित गर्ने, कार्यकर्तामा आत्मविश्वास र जनतामा आशा जगाउने तथा जनताका माग–मुद्दा र समस्यामा अग्रसरता लिएर घर–घर पार्टीलाई पुर्‍याउने एमालेको लक्ष्य अघि सारेर अभियानलाई निरन्तरता दिइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘महिला सदस्यता कम्तीमा ३३ प्रतिशत पुर्‍याउने, युवा नेतृत्व विकास, पार्टीलाई पूर्णतया प्रविधिमैत्री बनाउने, वडासम्म जनसंगठन कमिटी र सदस्य विस्तार अर्थात् जगैदेखि पार्टीलाई मजबुत जनाधारित कार्यकर्ता पार्टी बनाउन अभियान फलदायी बन्ने छ’, गौतमको भनाइ छ ।

अभियानबाट भौगोलिक र गैर–भौगोलिक करिब ८ हजार वडा/शाखा तहका कमिटीहरू, टोल तथा प्रारम्भिक कमिटीस्तरका १० हजारभन्दा बढी कमिटीहरूको क्रियाशीलता बढाएर राष्ट्रिय रूपमा ३ लाखभन्दा बढी नेता कार्यकर्ता पार्टी तथा जनसंगठन निर्माण र नेतृत्वविरुद्ध भ्रामक प्रचारको प्रतिवाद गर्न परिचालित हुने एमालेको बुझाइ छ । 

एमालेले अभियानअन्तर्गत सबै प्रकारका भ्रम र राष्ट्रिय निराशा फैलाउने प्रयत्नहरूको प्रतिवाद गर्ने सकिने समेत जनाएको छ । ‘३ महिनाको अवधिमा सामाजिक सञ्जालमा राष्ट्रिय समृद्धि, आशा र जनताप्रति विश्वास जगाउने न्यूनतम १ लाख सन्देशहरू प्रवाह गर्ने लक्ष्य रहेको छ’, प्रचार विभाग प्रमुख गौतम भन्छन्, ‘राष्ट्रिय निराशा फैलाउने, पार्टी र नेतृत्वविरुद्ध ५० हजार डेडिकेटेड नेता कार्यकर्ता परिचालन गरिएको छ ।’

निर्धारित कार्यक्रमअनुसार अघि बढ्दा २०८४ मा मतदाता बन्ने १० लाख युवामाझ पार्टीको स्थानीय युवा नेतृत्वले विद्यालय, कलेज, समुदाय आधारित संवाद, भेटघाट कार्यक्रम गरी पार्टी सन्देश र प्रभाव विस्तार गर्ने एमालेको बुझाइ छ । ‘कार्ययोजनाअन्तर्गत पार्टी परिचालन हुँदा स्थानीय घरदैलो भेटघाट जन संवाद कार्यक्रमबाट ६० लाख मतदातामाझ पार्टी पङ्क्ति पुग्न सक्ने अपेक्षा छ’, नेता गौतमको भनाइ छ ।

  • आफै खुट्टा टेक्ने प्रयासमा नेकपा एकीकृत 

एमालेसँग विद्रोह गरेर २०७८ भदौ २ गते निर्वाचन आयोग दर्ता भएको नेकपा एकीकृत समाजवादी मुलुकको तेस्रो ठूलो कम्युनिस्ट पार्टी हो । 

तर यो पार्टीलाई आफ्ना नेता, कार्यकर्ता र सांसदहरू जोगाउनै सकस परिरहेको छ । प्रतिनिधि सभामा १० र राष्ट्रिय सभामा ८ सांसद रहेको यो पार्टीमा गत असारमा सम्पन्न राष्ट्रिय महाधिवेशनपश्चात् असन्तुष्टि बढ्न पुगेको छ । 

पार्टी गठन भएपछिको संसदीय र स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीसँग गठबन्धन गरेर निर्वाचन लडेको यो पार्टी कहिले एमाले त कहिले माओवादीसँग एकता गर्ने चर्चा चले पनि तत्काल कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णयमा पुगेको छ ।

फागुन ९ र १० गते सम्पन्न एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा तत्काल कुनै पनि पार्टीसँग एकता नगर्ने प्रस्ताव नै पारित गरेको छ । उसले पार्टी एकताको साटो आफ्नै खुट्टामा उभिन सक्ने पार्टी बनाउन ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने घोषणा गर्दै तीनमहिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । आन्दोलनका कार्यक्रम थप्दै उसले एक वर्षको अवधिमा हुने आन्दोलनका अगुवालाई निर्वाचनमा पठाउने योजनाका साथ आन्दोलन र निर्वाचनको तयारी सँगसँगै अघि बढाउने कार्ययोजना अघि सारेको छ ।

‘हामी आन्दोलनद्वारा पार्टी निर्माणको कार्ययोजना कसरी अगाडि बढ्छ भन्ने कुरामा स्पस्ट हुनुपर्छ । अहिले नै राष्ट्रव्यापी आन्दोलनको हावाहुरी ल्याउन सक्ने अवस्थामा छैनौँ’, महासचिव घनश्याम भुसाल भन्छन्, ‘तर फेरि राष्ट्रव्यापी आन्दोलन नगरी राष्ट्रव्यापी पार्टी बनाउन सकिँदैन ।’   

एकीकृत समाजवादीले अघि सारेको कार्ययोजनाअन्तर्गत चैत १५ गतेभित्र केन्द्रीय तहमा सुझाव संकलनका विभिन्न कार्यक्रम गर्ने र चैत २० गते सरकारलाई आफ्ना माग पेस गर्ने तयारी गरेको छ । त्यसपछि ८२ वैशाख १५ सम्म प्रदेश र स्थानीय तहमा सुझाव संकलन, त्यही बिचमा जिल्ला अधिवेशन र वैशाख २० गते प्रदेश सरकार र पालिका सरकारलाई माग पेस गर्ने एकीकृत समाजवादीको तयारी छ । 

२०८२ जेठ १० गते काठमाडौँमा प्रदर्शन गर्ने र जेठ तेस्रो साताबाट बजेट र पार्टीले अघि सारेका मागबारे पत्रकार सम्मेलन गरी थप कार्यक्रम घोषणा गर्ने पार्टीको कार्ययोजना  छ ।

‘अहिले हाम्रो पार्टीमा एकसाथ अनेक समस्या छन् । वैचारिक, सैद्धान्तिक, राजनीतिक तथा सांगठानिक समस्याको लामो फेहरिस्त बनाउन सकिन्छ’, आन्दोलनका कमान्डरसमेत रहेका भुसाल भन्छन्, ‘त्यसबाट विभिन्न रूपमा हामी प्रभावित भएका छौँ । ती समस्याबाट तर्सिनु वा निराश हुनु वा भाग्नु समाधान होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप