नेताको टाउको होइन, कार्यकर्ताको मन जोड्नुपर्छ

नेपाली जनताको विकास र समृद्धिप्रतिको चाहना निर्वाचनमा बाँडिने घोषणापत्र र मन्तव्यमा मात्र सीमित होइन, त्यो वास्तविकतामा परिणत हुनुपर्दछ र हुन्छ भन्ने मत बोक्ने पार्टी एमाले नै हो ।
यसका केही ऐतिहासिक नजिर, वर्तमानका योजना र भविष्यका नीतिलाई केलाएर हेर्दा पनि पुष्टि हुन्छ । नेपाल अहिले राजनीतिक होइन, विकासको ट्रान्जिटमा छ । त्यसबाट भरपर्दो उडान तय गर्न एमालेले आफूलाई पुनर्ताजगीका साथ जनतामाझ लैजानुपर्दछ । यही मान्यतासाथ वडाकेन्द्रित अभियानमा जुटेको हो ।
गत वैशाख ८ र ९ मा ललितपुरको गोदावरीमा सम्पन्न प्रथम राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले राजनीतिक अस्थिरताको अन्त्य गर्न र सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न राजनीतिक स्थायित्वको बोधसहित एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्नुपर्दछ भन्ने निष्कर्ष निकाल्यो ।
पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने पार्टीको विचार र एजेन्डाले हो । पार्टीले अवलम्बन गरेका विचार र एजेन्डालाई बोक्ने अनुशासित, गतिशील र बलियो संगठन आवश्यक पर्छ । यसको महसुस गर्दै २०७९ मा सम्पन्न ‘मिसन ग्रासरुट’ अभियानले स्थानीयस्तरमा देखिएका समस्या सही तरिकाले पहिचान गर्यो । त्यसपछि २०८० मंसिरमा झुलाघाट—चिवाभञ्ज्याङ संकल्प अभियान सञ्चालन गर्यौँ ।
२०८१ लाई एमालेले पार्टी शुद्धीकरण सुदृढीकरण अभियानका वर्षका रूपमा लियो । राष्ट्रिय महाधिवेशन प्रतिनिधिपरिषद्को बैठकले १८ बुँदे वार्षिक कार्ययोजनासमेत पारित गरेर त्यसअन्र्तगत काम बढायो ।
पार्टी केन्द्रीय संगठन विभागको आयोजनामा २०८१ मंसिर २९, ३० मा सम्पन्न राष्ट्रिय कार्यशालाको निष्कर्ष समेतका आधारमा पार्टीको केन्द्रीय सचिवालयको ४४ औँ बैठकले २०८१ को माघ, फागुन र चैतमा तीन महिने वडाकेन्द्रित अभियान प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेर उक्त अभियान जारी छ । निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजनाको अंगका रूपमा सञ्चालन गरिने तीन महिने अभियानमा आ–आफ्नो प्रदेशका केन्द्रीय तहदेखि सम्पूर्ण नेता र कार्यकर्ता परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाएर बढाइरहेका छन् ।
- अभियानका सात मार्गचित्र
–पार्टी सदस्यता विस्तार, नवीकरण तथा अभिलेख व्यवस्थापन,
–प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन,
–कमिटीको चेन अफ कमान्ड कायम गर्ने र कार्यकर्ताको मूल्यांकन परिपाटी व्यवस्थित गर्ने,
–कमिटी सञ्चालनमा गुटबन्दी अन्त्य,
–कार्ययशैली, जीवनशैली र कार्यकर्ताको आचरणमा सुधार,
–आर्थिक–सामाजिक रूपान्तरण र जनचासोका विषय सम्बोधन,
–निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि निर्वाचनको व्यवस्थित तयारी ।
- अभियानको औचित्य
वडाकेन्द्रित पार्टी निर्माण अभियान २०८१ स्थानीयस्तरमा पार्टीको सबलीकरण, जनतासँग पार्टीको घनिष्ठता र ‘मिसन ८४’ लक्षित राष्ट्रिय अभियान हो । पार्टी सदस्य विस्तार गर्न, फागुन–चैतभित्रै सदस्यता नवीकरण गर्न पार्टी टोलसम्म संंगठनात्मक रूपमा गतिशील बनाउन, पार्टी जीवनको शुद्धीकरण गर्न, भ्रामक प्रचारको प्रतिवाद गर्न, पार्टीको नीति र नेतृत्व स्थापित गर्न, कार्यकर्तामा आत्मविश्वास र जनतामा आशा जगाउन, जनताका माग–मुद्दा र समस्यामा अग्रसरता लिन मात्रै होइन ।
घर–घर पार्टीलाई पुर्याउन, महिला सदस्यता कम्तीमा ३३ प्रतिशत पुर्याउन, युवा नेतृत्व विकास गर्न, पार्टीलाई पूर्णतया प्रविधिमैत्री बनाउन, वडासम्म जनसंगठनका कमिटी र सदस्य विस्तार गर्न अर्थात् जगैदेखि पार्टीलाई मजबुत जनाधारित पार्टी बनाउन तीन महिने विशेष अभियानको आवश्यकता परेको हो । यो अभियान वडा तहमा केन्द्रित छ र अभियानबाट वडामार्फत टोलस्तरका कमिटी सुरु गर्ने, नयाँ निर्माण गर्ने र नियमित रूपमा जनताको घर–घरसम्म पुग्ने परिपाटी बसाइनेछ ।
- अभियानको उद्देश्य र अपेक्षित उपलब्धि
अभियानको लक्ष्य समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न मजबुत जगमा खडा भएको बलियो एमाले बनाउनु नै हो ।
अभियानअन्तर्गत टोलसम्म पार्टी सदस्यता नवीकरण, विस्तार, संंगठन निर्माण र सबलीकरण, आधारभूत तहमा जनसंगठनका कमिटी निर्माण तथा सदस्यता विस्तार हुनेछन् । पार्टी नीति तथा नेतृत्वविरुद्ध फैलाइने सबै प्रकारका भ्रम र राष्ट्रिय निराशा फैलाउने सबै खाले प्रयत्नको सबै तहमा तत्काल प्रभावकारी प्रतिवाद हुनेछ । पार्टी जीवनको शुद्धीकरण, स्थानीय तहको पार्टी नेतृत्वको क्षमता विकास र जनतामाझ नेतृत्व स्थापित गरिनेछ ।
अभियानबाट भौगोलिक र गैर भौगोलिक करिब ८ हजार वडा/शाखा तहका कमिटी, टोल तथा प्रारम्भिक कमिटीस्तरका १० हजारभन्दा बढी कमिटीको क्रियाशीलता बढाई राष्ट्रिय रूपमा ३ लाखभन्दा बढी नेता कार्यकर्ता, पार्टी तथा जनसंगठन निर्माण, जनपरिचालन र पार्टी र नेतृत्वविरुद्ध भ्रामक प्रचारको प्रतिवाद हुुने अपेक्षा छ ।
यस अभियानले प्राप्त गर्ने अपेक्षित उपलब्धि भनेका जग तहमा पार्टी सदस्यता नवीकरण तथा विस्तार, संंगठन निर्माण र सबलीकरण गर्ने, पार्टी जिल्ला कमिटीको निर्णयले २०८२ का लागि योग्य ठहरिएका सबै पार्टी सदस्यले २०८१ चैतभित्रै नवीकरण गर्नेछन् । ९० प्रतिशत पार्टी सदस्य अनलाइन प्रणालीमा आउनेछन् । पार्टी सदस्यतामा दुई लाख नयाँ सदस्यहरू थप हुनेछन् । हाल रहेको ७ हजार ५ सय ९ वडास्तरको कमिटीमा थप ५ सय शाखा तथा वडास्तरका कमिटीहरू गठन हुनेछन् ।
बाँँकी सबै वडास्तरका कमिटीहरूको अधिवेशन चैत मसान्तभित्र सम्पन्न हुनेछन् । हाल रहेको टोलस्तरका कमिटीमा ५ हजार कमिटीहरू थप निर्माण हुनेछन् । जनसंगठनका स्थानीय अधिवेशन सबै सम्पन्न हुनेछन् । सम्बन्धित जनसंगठनको विधानबमोजिम वडा तहमा कमिटीहरू बन्नेछन् ।
सबै जनसंंगठनको सदस्यताको अभिलेख व्यवस्थित भएपछि हालको संंख्यामा कम्तीमा ७ लाख सदस्य थपिने छन् । पार्टीको नीति र नेतृत्वविरुद्ध फैलाइने सबै प्रकारका भ्रम र राष्ट्रिय निराशा फैलाउने प्रयत्नको तत्काल प्रभावकारी प्रतिवाद गरिने छ । लक्षित ३ महिनाको अवधिमा सामाजिक सञ्जालमा राष्ट्रिय समृद्धि आशा र जनताप्रति विश्वास जगाउने न्यूनतम एक लाख सन्देश प्रवाह हुने अपेक्षा छ ।
राष्ट्रिय निराशा फैलाउने, पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने सबै खालका प्रचार र षड्यन्त्रविरुद्ध तथ्यमा आधारित प्रभावकारी प्रतिकारमा डेडिकेटेड नेता कार्यकर्ता परिचालन हुनेछन् ।
एमाले निर्णायक र बलियो राष्ट्रिय शक्ति नबनी सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा हुन सक्दैन । नेपालमा कम्युनिस्ट आन्दोलनको रक्षा हुन सक्दैन र समाजवादको यात्रा पनि बढ्न सक्दैन ।
विगतमा हामीले दुई ठुला कम्युनिस्ट पार्टीलाई जोडेर बलियो वामपन्थी सरकार बनाउने अभ्यास गर्यौँ, झण्डै दुई तिहाइ सिट पनि प्राप्त भयो । तर दुर्भाग्य दुई तिहाइको सरकार पार्टी पनि टिक्न सकेन ।
यो नेपालको कम्युनिस्ट आन्दोलनका लागि मात्र होइन नेपाली समाजकै लागि दुर्भाग्य बन्यो । यसबाट राष्ट्रले ठुलो धक्का बेहोरेको छ । हामीले निकै ठुलो मूल्य चुकाएर शिक्षा लिएका छौँ । अब नेताहरूका टाउका जोडेर वाम आन्दोलनको रक्षा हुन सक्दैन, कार्यकर्ताका मन जोड्नुपर्दछ । जनताको मन जित्नुपर्दछ भन्ने निष्कर्षका साथ एमाले आफ्ना गतिविधिमा केन्द्रित छ ।
(निरज आचार्य एमालेका केन्द्रीय सदस्य हुन् )