बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : दलहरूको अभियान

‘जनतालाई समाजवाद बुझाउने गरी कोही पनि हिँड्न सकेनौँ’

एउटा कमिटमेन्टका साथ काम गरिरह्यौँ भने जनताले माया र विश्वास गर्नेछन् : जगन्नाथ खतिवडा
बिहीबार, १५ फागुन २०८१, ०९ : ३८
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी जनसरोकारका मुद्दा उठाएर संघर्षको तयारीमा छ । फागुन ९ र १० गते बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले जनसंघर्षका कार्ययोजना पारित गरिसकेको छ ।

पार्टीलाई सशक्त बनाउने भनिएको यो योजना कसरी पूरा गर्दैछ भनेर उपाध्यक्ष जगन्नाथ खतिवडासँग सोधेका छौँ ।   

  • केन्द्रीय समितिको दोस्रो बैठकले निकालेका निष्कर्ष के हुन् ?

केन्द्रीय समिति बैठकले मुख्यगरी चार–पाँच वटा विषयमा छलफल गरेर निष्कर्षसहित निर्णय गरेका छौँ । त्यसमध्ये पहिलो विषय हो, नेकपा एकीकृत समाजवादी आजको परिस्थितिमा कम्युनिस्ट आन्दोलनको मूलधार बन्ने क्षमता राख्छ । विचार, नैतिकता र इमानदारीताका हिसाबले, दृष्टिकोण र समाजवाद निर्माण गर्ने कुरामा प्रस्तावसहित अगाडि सारेको हिसाबले हाम्रो पार्टी नै मूलधार बन्न सक्छ भन्ने निष्कर्षका साथ पार्टीलाई सबल र सुदृढ बनाउने दिशामा लाग्नुपर्छ भनेका छौँ ।

अर्को मूल विषय, यसपटक हामीले के निष्कर्ष निकालेका छौँ भने एकीकृत समाजवादी बलियो बनाउन हाम्रो प्राथमिक प्रिन्सिपल अब्जेक्टिभ हो । अरू मोर्चासोर्चा सहयोगी मात्र हुन् । पार्टीलाई बलियो बनाउन सबै कुरामा छलफल गर्न सकिन्छ, हामीलाई मित्रहरू पनि चाहिन्छ र मित्रको घेरा बढाउन विभिन्न प्लेटफर्महरू निर्माण गर्दै जानुपर्छ । तर त्यसरी गरिने काम र क्रियाकलाप अनि हाम्रो व्यवहारले पार्टी बलियो बन्छ या बन्दैन भन्ने कुरालाई केन्द्रमा राख्ने भन्ने हो ।

त्यसैगरी जनताका सरोकार र जनजीविकाका प्रश्न तथा मुद्दा उठाउने रूपमा पार्टीलाई अघि सार्न लोकतन्त्र र भोलि ल्याउने समाजवादमा केन्द्रीकृत गर्न जरुरी छ । त्यसका लागि जनताबिच पुग्नुपर्छ । जनसंघर्षबाटै पार्टीको आधार विस्तार गर्नुपर्छ भन्ने तेस्रो निष्कर्ष पार्टीले निकालेको छ । 

चौथो निष्कर्षका रूपमा पार्टीभित्रको सबल एकताले मात्रै अरूलाई नमुना दिन सक्छौँ । त्यसका आधारमा पार्टीलाई एकताबद्ध बनाउन साना मसिना कुरालाई पन्छाएर अघि सारेको मूल उद्देश्यमा केन्द्रित हुन जरुरी छ । त्यो भनेको आगामी निर्वाचनमा हाम्रो पार्टीलाई सशक्त प्रतिस्पर्धी पार्टीका रूपमा उभ्याउने हो । त्यो शक्तिका रूपमा उभ्याउन आजैबाट हामी आफ्नो शक्ति परिचालन गर्न लागेका छौँ ।

  • जनसंघर्षका कार्यक्रम कहिलेबाट सुरु गर्दै हुनुहुन्छ ? त्यसको मोडालिटी कस्तो हुनेछ ?

जनसंघर्षको सामान्य खाका हाम्रो केन्द्रीय कमिटी बैठकमा प्रस्ताव भएर पारित भइसकेको छ । त्यसका आधारमा हामी फागुनभित्रै हाम्रो कार्यक्रमको मोडालिटी सार्वजनिक गर्छौँ । चैतबाट अभियान सुरु हुन्छ । आन्दोलन कति लामो हुन्छ भन्ने कुरा अघि बढ्दै जाँदा निर्धारण हुने कुरा हो ।

  • एकीकृत समाजवादीको जन्म नै गठबन्धनको बलमा भएको भन्ने आम बुझाइ छ । अबको निर्वाचनमा गठबन्धनबिनै निर्वाचन लड्ने तयारीमा लागेको हो ?

‘एक्लै’ भन्ने शब्द निरपेक्ष बन्न सक्दैन, यो सापेक्ष हुन्छ । कांग्रेस र एमालेजस्ता पार्टीहरू त चुनाव चिह्न साटीसाटी उपचुनाव लडेको भर्खर सबैले देखेको हो । त्यसरी दुई पार्टी मिल्दा पनि अरू प्रतिस्पर्धीले चुनाव जितेको अवस्था छ । 

बलिया हौँ भन्नेहरू समेत त्यसरी सहकार्य गरिरहेको परिस्थितिमा एक्लै चुनाव लड्छु भन्ने कुरा निरपेक्ष हुँदैन, तर फुल स्पिरिटमा आफ्नो पार्टी सबल र सुदृढ बनाउन जहाँ, जति र जेजे सम्भावना आइपर्छ, त्यो प्रयोग गर्नुपर्ने हुन्छ । 

मुख्य कुरा पार्टी बलियो बन्नुपर्छ, बलियो बनाउने आधार तयार गर्नुपर्छ । एकछिनलाई मानौँ, जहाँ हाम्रो कोही पनि व्यक्ति उम्मेदवार बन्ने परिस्थिति छैन, त्यो वेलामा अरूसँग मिल्नु हाम्रो परिस्थितिजन्य बाध्यता हुन सक्ला । यसको अर्थ केन्द्रदेखि नै गठबन्धन बनाएर निर्वाचनमा जाने नीति हाम्रो हुँदैन र त्यसप्रकारको गठबन्धनको पक्षमा उभिँदैन । यसअर्थ हामी एक्लै चुनाव लड्छौँ, पार्टी बलियो बनाउँछौँ भनिएको हो ।

  • विगतका चुनावमा गठबन्धन गर्दा अपेक्षाकृत सफलता नपाएपछि यो निर्णयमा पुग्नुभएको हो ?

निश्चय नै, हामीले विगतमा दुई वटा निर्वाचन गठबन्धन गरेर लड्यौँ । दुवै निर्वाचनका गठबन्धन उपलब्धि कम र क्षति बढी हुन पुग्यो । क्षति ज्यादा भएकाले पूर्ति गर्नुपर्छ भन्ने हाम्रा कार्यकर्ताको पूर्ण दबाब र सुझाव छ । 

जुनसुकै दलले पनि आफूलाई बलियो बनाउन अनुकूल हुने निर्णय मात्र गर्छन् । कांग्रेसले पनि गएका निर्वाचनमा आफूलाई बलियो बनाउन निकै मिहिनेत गर्‍यो । माओवादीले पनि त्यसै गर्‍यो । परिस्थितिजन्य अवस्थाले जस्तो अवस्थामा हामी विद्रोह गरेर आएका थियौँ, त्यस्तो अवस्थामा सहकार्य गर्नु बाध्यकारीजस्तै अवस्था भयो । 

त्यो वेला जेजस्तो भयो, त्यसको समीक्षा गर्दै र शिक्षा लिँदै अब पार्टीलाई सबल बनाउनेगरी नै हामी हिँड्छौँ । यसले जति धेरै जनमत वृद्धि हुँदै जान्छ, त्यति कम्युनिस्ट आन्दोलनको मूलधार र राष्ट्रिय शक्तिका रूपमा एकीकृत समाजवादी आउँछ भन्ने दृष्टिकोण हो । 

  • कम्युनिस्ट आन्दोलनको मूलधार बन्ने र समाजवादको आधार तयार गर्ने तपाईंहरूको लक्ष्य देखिन्छ, त्यसका लागि आधार के–के बनाउनुभएको छ ?

अहिले हाम्रो देशको परिस्थिति जुन ठाउँमा छ, यसभित्र जनमुखी सुधार गर्नु पनि समाजवादको प्रारम्भिक जग निर्माण गर्नु हुन सक्छ । अहिलेको परिस्थितिमा अर्थतन्त्रलाई जनउत्तरदायी बनाउँदै देशको राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने कुरामा जति धेरै विकास गर्न सक्छौँ त्यसले समाजवादकै भोलिको आधारलाई सुनिश्चित गर्छ । 

सुशासन दिएर जनतालाई राज्यसत्ता र सरकारप्रति सन्तुष्ट बनाउने कुरा पनि भोलि समाजवादका लागि लड्ने लडाइँमा जनमत बढ्ने हुन सक्छ । त्यसकारण आधारभूत रूपमा समाजवादको ओरेन्टेसनमा जान पनि बिग्रेका धेरै चिज चुँडाएर र सपारेर अर्को ठाउँमा लानुपर्ने हुन्छ । यसमा हामीले समाजवादी कार्यक्रमका रूपमा जे अगाडि सारेका छौँ, सबै विषय समेटेका छौँ । त्यसैले नेपालको आजको वस्तुस्थितिअनुसार समाजवादको परिकल्पना गर्ने हो, भोलिको मात्र सोच्ने होइन । यसअर्थमा भ्रष्टाचारको अन्त्य, सुशासनको अनुभूत हुने शासन प्रणाली र राज्यसत्तामा जानेहरूले गर्नुपर्ने कामलगायत भौतिक पूर्वाधारका कुरासहित अहिलेको संविधानप्रति जनताको विश्वास र जनताको सकारात्मक मनोभाव विकास गर्नु पनि समाजवादको आधार बन्न सक्छ । यसबाहेक समाजवादी ढाँचाको अर्थतन्त्र निर्माण गर्नेसम्म हाम्रा योजना छन्,जुन हाम्रा कार्यक्रममा समेटेका छौँ । 

  • पारदर्शिताबिना समाजवाद कल्पनासमेत गर्न सकिँदैन । तपाईंकै पार्टीका नेताहरू पारदर्शी हुन नसकेको गुनासो व्याप्त छ नि ?  

हाम्रो पार्टीको बैठकमा बोल्ने केन्द्रीय सदस्यले सबैको सबै नेताको सम्पत्ति सार्वजनिक गरौँ भनेर प्रस्ताव गर्नुभएको हो । तर त्यो नै मूल कुरा होइन । हामी त्यसलाई व्यवस्थापन गर्न सक्छौँ । केन्द्रीय अनुशासन आयोगले हामी सबैको सम्पत्ति विवरण मागिरहेको छ । 

आन्तरिक रूपमा आयोगले अब्जरभेसन पनि गरिरहेकाले एउटा समय आएपछि हामी सबै विषयको व्यवस्थापन गर्छौँ । व्यवस्थापनको पक्षमा हामी ढिलो भएको पनि हुन सक्छ, फरक यति मात्रै हो ।

दोस्रो कुरा, समाजवादी अर्थतन्त्र निर्माण गर्ने भनेको सबैभन्दा पहिले सामुदायिक ढंगले अर्थतन्त्र प्रणाली विकास गर्ने हो । व्यक्तिगत, पुँजीवादी, उदारवादी अर्थतन्त्रका संरचना भत्काउने हो । त्यसलाई कमजोर बनाउँदै जाने हो । जनताको सामाजिक सुरक्षाका एजेन्डालाई तीव्र बनाउँदै जाने हो । स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता विषयमा रूपान्तरणकारी परिवर्तन गर्न सक्ने अर्थतन्त्रलाई बिस्तारै जनमुखी बनाउने कुरालाई ध्यान दिने हो । यी सबै कुरामा सावधान हुँदै कदम कदममा अघि बढाउन जरुरी हुन्छ भनेर लागिरहेका छौँ ।

  • समाजवादी कार्यक्रम कार्यान्वयन गर्न आफ्नै नेतृत्वको सरकार बन्नुपर्ने होला । कहिले सरकार बन्ने अनि जनताले कसरी तपाईँहरूका कुरा विश्वास गर्ने ?

यसका दुईवटा पक्ष छन् । हामी सरकार बाहिर रहँदा सरकारलाई दबाब दिन सक्ने क्षमता विकास गर्नु पहिलो प्रश्न हो । हाम्रा एजेन्डा सरकारको कानसम्म पुर्‍याउने र उनीहरूलाई काम गर्न बाध्य बनाउनेमा लाग्नेछौँ । त्यसपछि आफू सरकारमा जाँदा वा सरकारको नेतृत्व गर्न पाउँदा ती कार्यक्रम कार्यान्वयन गर्न मिहिनेत गर्नेछौँ । अरूहरूले गर्ने पनि त्यही हो । हामीले सोचेको के हो भने, समाजवादको कुरा गर्‍यौँ, तर व्यवहारतः समाजवादी अर्थनीतिको पक्षपोषण गर्ने र समाजवाद के हो भन्ने कुरा आम जनतालाई बुझाउने गरी कोही पनि हिँड्न सकेनौँ ।

पोहोर साल पार्टीले समाजवादी जागरण अभियान भनेर देशव्यापी सञ्चालन गर्‍यौँ । त्यो कार्यक्रमले धेरैमा सचेतता र जागृति सुधार गर्न सक्यौँ भन्ने हामीले बुझेका छौ । तर त्यतिले मात्रै पुग्दैन । पटक–पटक जनताको बिचमा पुगिरहनुपर्छ । त्यसैले यसपटक हामीले जनसंघर्षमार्फत चेतना जगाउनुपर्छ भनेर गाउँगाउँमा पुग्न लाग्दैछौँ । अभियानमार्फत जनतालाई सचेत गराउँदै र राज्यलाई दबाब दिएर अघि बढ्दा कहीँ न कहीँ सफलता प्राप्त गर्न सकिन्छ । 

त्यसैले सत्तामा पुग्नु एउटा कुरा भयो, त्यहाँ नपुग्दा पनि एउटा कमिटमेन्टका साथ काम गरिरह्यौँ भने जनताले माया र विश्वास गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप