बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : दलहरूको अभियान

‘माओवादीको विकल्पमा अन्य पार्टी छैनन्’

पाखामा बसेर सुझाव दिन बढो मज्जा आउँछ : चक्रपाणि खनाल ‘बलदेव’
बिहीबार, १५ फागुन २०८१, ०९ : ३२
बिहीबार, १५ फागुन २०८१

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनदेखि लगातार धक्का खाएको नेकपा माओवादी केन्द्र चरणबद्ध रूपमा जागरण अभियानमा छ । 

पार्टी रूपान्तरणका लागि गत वर्ष भदौ–मंसिरमा चार महिने कार्यकर्ता केन्द्रित अभियान सम्पन्न गरेको माओवादीले फागुन १२ गतेबाट जनता केन्द्रित एक महिने अभियान सुरु गरेको हो । 

यो अभियानले पार्टी रूपान्तरणसहित ‘मिसन–०८४’ लाई फलदायी बनाउने माओवादी नेताहरू बताउँछन् ।

अभियानको उद्देश्य र आगामी निर्वाचनको तयारीबारे नेकपा माओवादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘बलदेव’ सँग गणेश पाण्डेले कुराकानी गरेका छन् ।

  • अन्य पार्टीजस्तै माओवादीको जागरण अभियान पनि मिसन २०८४ का लागि हो कि पार्टीलाई आन्तरिक रूपमा बलियो बनाउन ?

अरू पार्टीको थाहा भएन, तर हाम्रो हकमा जतिवेला हामीले चार महिने रूपान्तरण अभियान सञ्चालन गर्‍यौँ, त्यतिवेला फरक खालको संगठन सुदृढीकरण जस्तो थियो । त्यही वेला नै मैले पूर्वमा अभियान चलाउनुपर्ने प्रस्ताव गरेको थिएँ । खासगरी झापा, सुनसरी, मोरङमा हुलाकी सडककेन्द्रित अभियान सञ्चालन गर्नुपर्छ भनेर मैले पदाधिकारी बैठकमा पनि राखेको थिएँ । 

यो प्रस्ताव सोचनीय छ भनिसकेपछि यस्ता अभियानबारे छलफल भइराखेको थियो । अहिले भएको अभियानले के गर्छ भन्ने हो ? मुख्यगरी मधेसी समुदायकेन्द्रित अभियानजस्तो हुन्छ । विगतमा हामीले समीक्षा गर्दा के भनेका छौँ भने वैचारिक हिसाबले कम्युनिस्ट पार्टीभित्र आबद्ध भएका मधेसी समुदाय लामो समयदेखि क्रियाशील छन् । 

जस्तैः रुपन्देहीको मर्चबारमा २०१० सालमा कम्युनिस्ट पार्टीको जिल्ला सम्मेलन भएको थियो । त्यो भारतीय सिमानामा जोडिएको ठाउँ हो । रौतहटमा ठुलो किसान आन्दोलन २०१० सालमा भएको थियो । ती विद्रोह एउटा वैचारिक केन्द्रित पार्टीमा आबद्ध भयो । पछि जनयुद्धमा पनि ठुलो संलग्नता रह्यो । शान्ति प्रक्रियामा आउने वेला माओवादीविरुद्ध प्रतिकार समिति बन्यो । खासगरी त्यतिवेलाका सेना, सशस्त्र, प्रहरी लगायतको तीनवटै फोर्स संलग्न भएर प्रतिकार गर्न लगाए । त्यसले मधेसी समुदायमा माओवादीप्रति वितृष्णा जस्तो भएको थियो । २०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलन पछि माओवादीप्रति अलिकति अविश्वास जस्तो देखापरेको थियो । 

यो कुरा पछि गएर क्लियर हुँदै गयो । वास्तवमा माओवादीले नै एजेन्डा उठाएको रहेछ भनेर बुझेका छन् । अहिले माओवादी घर–घर आएन भनेर मधेसी समुदायबाट गुनासो आएपछि अभियान राखिएको हो । आम मधेसी समुदायलाई भेटघाट गर्ने, ठुल्ठुला सभाभन्दा स–साना पिँढी सभामा अध्यक्ष पुग्ने, अन्य सबै पदाधिकारी नेताहरू सबै ठाउँमा पुग्ने । बाँकी साथीहरू आ–आफ्ना ठाउँमा केन्द्रित भएर एक महिनासम्म संगठन सुदृढीकरणमा लगाउने भनिएको छ । यसले २०८४ लाई राम्रै गर्‍यो भने भइहाल्यो नि ।

  • सत्ताबाट बाहिरिएपछि लगातार माओेवादी आन्तरिक बैठकमा व्यस्त देखिन्छ । पछिल्लो केन्द्रीय समिति बैठकसम्म आइपुग्दा गम्भीर समीक्षा भएका छन् । यी अभियानले माओवादी २०६४ कै तहमा पुग्ने आत्मविश्वास कति छ ?

यही कारणले २०६४ लेबलमा पुग्ने होइन । त्यतिवेलाको नारा अर्थात् नेपाललाई कहाँ पुर्‍याउने भनेर एउटा खाका प्रस्तुत गरेका थियौँ । त्यो खाका हिजो युद्धबाट आउँदा हामीमा भएका ऊर्जालाई प्रयोग गर्‍यौँ । त्यो कति वस्तुवादी थियो ? समीक्षाको पाटो होला । आगामी दिनमा ०८४ मा के गर्नुपर्छ भन्छन् ? 

नितान्त वस्तुवादी, हाम्रो देशको अर्थतन्त्र, छिमेकी मुलुकसँग हाम्रो सम्बन्ध, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति हेरेर यतिचाहिँ माओवादीले गर्न सक्छ भनेर अर्को एउटा ठोस योजना दिनैपर्छ । तर त्यसले कुन रूपमा पुनरवलोकन गर्छ ? कसरी माओवादी नेतृत्वमा आइपुग्छ ? अहिले किटेर भन्न गाह्रो छ ।

  • यो बिचमा विचारको संश्लेषणसहित नेतृत्व टिमसँग जीवनशैली, आचरण, व्यवहारसम्बन्धी थुप्रै प्रश्न उठेका छन् नि ?

एउटा कुरा बाहिरबाट विभिन्न प्रवृत्तिसँग भिडिराखेका नेता तथा कार्यकर्ताहरूलाई पाखामा बसेर सुझाव दिन बढो मज्जा पनि आउँछ । राम्रो सुझाव पनि आउँछ । र, त्यसलाई ग्रहण पनि गर्नुपर्छ । हिजो युद्ध लड्दा जस्तो त्याग तपस्या भनेर अहिले शान्ति प्रक्रियामा बलिदान कसैले गर्न पनि सक्दैन । कसैले माग गर्ने कुरा पनि खोक्रो आदर्श मात्रै हो । तर सापेक्षिक ढंगले देशमा अहिले ठुल्ठुला भ्रष्टाचारका काण्ड नियन्त्रण गर्ने हो भने आफू पनि सच्चिनुपर्‍यो । हाम्रा पंक्ति कतै न कतै खेलो फड्कोमा जोडिने फेरि उपदेश ठुल्ठुला दिन मिल्दैन । सापेक्षिक आधारमा देशको नेतृत्व गर्नुपर्छ भन्ने नै हाम्रो बहस हो । यसलाई बाहिरबाट हेर्दा शुद्धतामा खोज्छन् । त्यो शुद्धतामा कुनै पार्टी पाइँदैन । त्यो भनाइ मात्र हो । भन्न त साथीहरूलाई मज्जा आउँछ ।

  • अध्यक्ष प्रचण्डले २०६४ मा एक्लै चुनाव लड्छौँ । कांग्रेस–एमाले मिलेर जाऊ भनेर चुनौती दिइरहनुभएको छ । त्यो तागत माओवादीमा आएको हो ?

एक्लै चुनाव लड्न सकिन्छ, सक्नुपर्छ । हाम्रो एजेन्डाले सक्ने हो । एमाले र कांग्रेसलाई धम्क्याएर वा गाली गरेर होइन । ठिक एजेन्डा अगाडि सार्ने हो । त्यसपछि सत्ता गठबन्धनले जुन बदमासी गरिराखेका छन्, त्यसको भण्डाफोर राजनीतिक र वैचारिक ढंगले गरेर गयौँ भने माओवादी नयाँ शिराबाट आउन सक्छ । अवश्य आउँछ नै । 

किनभने माओवादीको विकल्प नभएको कारण सम्भव छ । माओवादीभन्दा राम्रो विकल्प अहिलेलाई अन्य पार्टी छैन । योचाहिँ ढुक्कका साथ भन्न सकिन्छ । वैकल्पिक भनिएका पार्टी पनि ऐतिहासिक, परिपक्वता तथा अन्य एजेन्डाका हिसाबले अत्यन्तै सतही हुनुहुन्छ । पुराना पार्टी यथास्थितिबाट एक इन्च पनि माथि उठ्न सकेनन् । अहिलेको सरकारले पनि पुष्टि गरिसक्यो । त्यसकारण माओवादी विकल्प रहेछ भन्ने सबैले बुझेका छन् ।

  • मिसन २०८४ का लागि मुख्य कार्यभार के–के छन् ?

हामीले ६ महिना अभियान ६ महिना महाधिवेशन भनेका छौँ । यसको अर्थ के थियो भन्नुहुन्छ भने–एउटा जनतामा जाने भन्ने हो । हामीले राजमार्गकेन्द्रित भनेनौँ, किनभने राजमार्ग वरिपरि आर्थिक र अन्य क्रियाकलापमा हामी ठिकै छौँ भन्ने एउटा टाइपको ठुलो जमात छ । तर हुलाकी र मध्यपहाडीमा अलि नयाँ शिराबाट सोच्ने वर्ग भएका हुनाले अलि बढी जोड गर्ने कुरा स्वतः भएको हो । 

यो अभियानले जागरण पैदा भएपछि जनताबाट आएका सुझावसहित आधारमा महाधिवेशन गर्नुपर्छ भनिएको हो । महाधिवेशन गर्दा केही कुरा माओवादीले सच्याउनुपर्छ । 

हामीले संगठनात्मक कुरा सच्याउनुपर्छ । कम्युनिस्टहरूले हमेसा एउटै प्याट्रनमा संगठनका कुरा गर्छन्, त्यो सही छैन । हिजोका मार्क्सवादीहरूले पनि त्यो गरेका होइनन् । मार्क्सले संगठन नै गरेनन् । लेनिनले संगठनको नयाँ आयाम थपे । यसलाई थप विकास गरेर माओले आफ्नै ढंगले नयाँ जनवादी क्रान्ति गरे । 

हामीले पनि संगठनका अन्य प्रारूप तयार गर्नुपर्छ भनेर भनिराखेका छौँ । तर एउटा पुरातन शैली छ हामीभित्र पनि । अर्को कतै न कतै बाबुराम प्रवृत्ति संगठनका फन्डामेन्टल कुरामा पनि त्यति धेरै पर्दैन खालको छ । यी दुवै गलत छन् । 

सापेक्षमा संगठनको विकास गर्ने एक, वैचारिक विकास गर्ने दुई, तेस्रो त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने सही एजेन्डा तय गर्ने र इमानदारीपूर्वक जनतामा प्रस्तुत भएर जाने भन्नेमै हाम्रो बहस हुन्छ । 

यसो भन्दै गर्दा आन्तरिक गुट उपगुट देखापर्ने केही प्रवृत्ति छन् । तर अब ती प्रवृत्ति पनि हुँदैन । पार्टी एकताबद्ध भएर जानुको अर्को विकल्प छैन । यो अभियानबाट उपलब्धि गर्ने कुरा यी नै हुन् ।

  • त्यसोभए यी अभियान चुनाव केन्द्रितभन्दा पनि आफैलाई रूपान्तरित हुने र जनतामा केन्द्रित हुने अर्थमा बुझ्न सकिन्छ हैन ?

एकदम मिहिन कुरा त्यही हो । तर यसले २०८४ को मिसनलाई राम्रो फाइदा हुन्छ भन्ने मलाई लाग्छ ।

  • महाधिवेशन २०८४ अघि नै गर्ने भनिएता पनि केहीले निर्वाचनपछि गर्दा राम्रो हुन्छ भनेका छन् नि ?

हो, केही साथीले कुरा राख्नुभएको छ । अब नियमित महाधिवेशन गर्नुपर्छ, विशेष महाधिवेशन पनि हुँदैन । नियमित महाधिवेशन आउन एक–डेढ वर्ष बाँकी छ । यसले गर्दा २०८४ पछि गरौँ भन्ने मत आएको छ । निर्वाचनअघि महाधिवेशन गर्दा चुनावलाई प्रभाव पार्छ भन्ने तर्क आएको छ । तर महाधिवेशनले चुनावलाई प्रभाव पार्दैन भन्ने हाम्रो मत छ । नीतिगत कुरामा धेरै विमति देखा पर्दैन । अन्ततः संगठनमा समस्या पर्ने हो यो सबै । पदीय हिसाबले चुनाव आदि–इत्यादिमा पर्ने हुन् । यी कुरा पार्टी व्यवस्थापन गरेर जानुपर्छ । पुरानै ढंगले गयो भने राम्रो हुँदैन । व्यवस्थापन गर्ने ढंगले गयो भने ठुलो कुरा होइन ।

  • तर समस्या बाहिरभन्दा पनि आन्तरिक रूपमा छ भन्ने कांग्रेस, एमालेलगायत पार्टीभित्र पनि देखियो नि ?

अरू पार्टीमा समस्या आए पनि त्यसलाई नजरअन्दाज गर्ने र गम्भीरतापूर्वक नलिने देखिएको छ । तर केही जडसूत्रीय कम्युनिस्टहरू अर्कै रोगका रूपमा देखापरेका छन् । फुट, इगो, वैचारिक रूपमा अस्पष्टता हुँदा पार्टी दुर्घटनातर्फ जान्छ । त्यसकारण हामीले अलि बढी विचार गर्नुपर्छ ।

  • यस्ता अभियानले माओवादी फेरि वर्गतिर फर्किएको सकारात्मक सन्देश गएको छ भन्ने तपाईंको बुझाइ हो ?

एकदम हो । एक शब्दमा भन्दा उस्तै उस्तै पार्टी धेरै जरुरत हुँदैन । उही तहका, उस्तैउस्तै एजेन्डा बोकेका, आफ्नो संगठन र आफ्ना आसेपासेलाई पाल्न त्यस्ता पार्टी चाहिँदैन । त्यसकारण माओवादी रूपान्तरण भएर वर्गकेन्द्रित भएन भने उस्तै पार्टी हुन्छ । त्यस्तो पार्टीको कुनै अर्थ छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप