बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

अनुशासन समितिले निर्णय नगर्दा कांग्रेसको क्रियाशील सदस्यता नवीकरण प्रभावित

बिहीबार, १५ फागुन २०८१, ०९ : १७
बिहीबार, १५ फागुन २०८१

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण प्रभावित भएको छ ।  पार्टीको अनुशासन समितिले पार्टीका विभिन्न इकाइले कारबाही सिफारिस भएकाहरूबारे निर्णय नगर्दा नवीकरण प्रभावित भएको हो । 

मुख्यगरी गत निर्वाचन र उपनिर्वाचनमा बागी उठेका र उनीहरूको प्रस्तावक, समर्थक बसेका तथा सहयोग गरेकाहरू विरुद्ध परेको उजुरी अनुशासन समितिले फच्र्यौट नगरिदिँदा क्रियाशील सदस्यता नवीकरण प्रभावित बनेको बताइएको छ । 

कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बनाएको छ । समितिको तर्फबाट संयोजक थापाले ३ माघमा ७७ वटै जिल्ला समितिका सभापतिलाई परिपत्र गर्दै पार्टी केन्द्रीय समितिको १९ पुसमा बसेको निर्णय अनुसार चैत २९ गते शुक्रबार दिउँसो ३ बजेसम्म  क्रियाशील सदस्यता नवीकरण गरी सम्पूर्ण कागजात केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएका थिए । 

त्यो परिपत्रमा माथिल्लो तहले तल्लो तहलाई फाराम वितरण गर्ने र तल्लो तहले क्रियाशील सदस्यता नवीकरण गरी माथिल्लो तहमा पठाउने समय तालिका पनि तोकिएको छ । 

त्यो काम समयमा भएको छ कि छैन ? नभएको भए के कारणले भएको छैन भन्ने बुझ्न क्रियाशील सदस्यता व्यवस्थापन समिति आफ्ना सदस्यहरूले प्रदेश तोकेर अनुगमनका लागि पठाएको पनि थियो । मधेस र लुम्बिनी प्रदेशमा प्रकाश रसाइली (स्नेही), बागमती र गण्डकी सीता गुरुङ र कोशी, कर्णाली र सुदूरपश्चिम योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको थियो । 

उनीहरूले २४ फागुनमासम्म प्रतिवेदन बुझाउने र बैठक बसेर थप क्रियाशील भइ अगाडि बढ्ने तयारी समितिको छ । 

क्रियाशील सदस्यता नवीकरणको काम तीव्र गतिमा अगाडि बढे पनि केही–केही स्थानमा अनुशासन समितिले कारबाहीबारे निर्णय नगर्दा ढिलाइ काम प्रभावित भइरहेको पार्टी केन्द्रीय सदस्यसमेत रहेका समिति सदस्य प्रकाश स्नेहीले जानकारी दिए । 

‘क्रियाशील सदस्यता नवीकरणमा नीतिगत र सैद्धान्तिक विवाद देखिएको छैन । पार्टीको अनुशासन समितिमा परेका उजुरी फच्र्यौट नगरिदिँदा केही स्थानमा समस्या देखिएको छ,’ सदस्य स्नेहीले रातोपाटीसँग भने, ‘गल्ती गरेकोमा कस्तो खालको कारबाही गर्ने हो अनुशासन समितिले छिटो टुङ्ग्याएमा समितिलाई सहज हुने थियो । त्यो जानकारी हामीले पार्टीलाई दिएका छौँ ।’ 

अहिलेसम्म मौखिक रूपमा समितिसम्म आएको जानकारी अनुसार सबैभन्दा बढी विवाद लुम्बिनी र मधेस प्रदेशमा देखिएको स्नेहीले जानकारी दिए । त्यो बाहेक अन्य के विषयले सदस्यता नवीकरण रोकिएको छ, त्यो समितिले निगरानी गरिरहेको पनि उनको भनाइ छ । 

कांग्रेसको अनुशासन समिति संयोजकमा आनन्दप्रसाद ढुङ्गाना छन् भने सदस्यहरूमा केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम, र राजीव कोइराला सदस्य छन् । गुटगत रूपमा बनाइएको समितिले आफ्नो गुटका नेता कारबाही गर्न लागेमा नगर्न वकालत गर्दा समिति अनिर्णीत बनिरहेको छ । अनुशासन समितिका एक सदस्यले उजुरी फच्र्यौट गर्ने विषयमा शीर्ष तहमा सहमति नभइ केही गर्न सक्ने अवस्था नरहेको बताए । 

‘हामी पटक–पटक बैठक बस्दा पनि सहमति हुन सकेको छैन । शीर्ष तहमा सहमति नभइ उजुरी फच्र्यौट हुने सम्भावना देखिन्न,’ ती सदस्यले रातोपाटीसँग भने । 

अहिलेसम्म मौखिक रूपमा समितिसम्म आएको जानकारी अनुसार सबैभन्दा बढी विवाद लुम्बिनी र मधेस प्रदेशमा देखिएको स्नेहीले जानकारी दिए । त्यो बाहेक अन्य के विषयले सदस्यता नवीकरण रोकिएको छ, त्यो समितिले निगरानी गरिरहेको पनि उनको भनाइ छ । 

कुन–कुन जिल्लामा क्रियाशील सदस्यता नवीकरणबारे के के भइरहेको छ भन्ने यकिन २४ फागुनमा बस्ने बैठकपछि यकिन हुने समितिले जनाएको छ । 

कांग्रेसमा वडा, गाउँपालिका, प्रदेशसभा, प्रतिनिधिसभा, जिल्ला, प्रदेश हुँदै केन्द्रीय समितिमा सदस्यताको विवरण आइपुग्छ । 

१४ औं महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप