बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय
सकसमा विद्यार्थी

बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी समस्यामा, कस्ता छन् चुनौती ?

बिहीबार, १५ फागुन २०८१, ०७ : ३०
बिहीबार, १५ फागुन २०८१

लन्डन । बेलायत सरकारले गैरकानुनी रूपमा बस्दै आएका आप्रवासीमाथि कडाइ गर्न थालेको छ । योसँगै बेलायतमा रहेका हजारौँ नेपाली विद्यार्थीसमेत प्रभावित हुने देखिएको छ ।

विद्यार्थी भिसा लिएर अध्ययनका लागि बेलायत आएका कयौँ नेपाली विद्यार्थीको इमिग्रेसन हैसियत गैरकानुनी रहेको एक अध्ययनले देखाएको छ । हालै सार्वजनिक तथ्याङ्क अनुसार लन्डनमा १२ मध्ये एक जना गैरकानुनी रहेको उल्लेख छ ।

बेलायतमा हजारौँको संख्यामा नेपालीहरू गैरकानुनी रूपमा रहेको अनुमान गरिए पनि यसको यकिन तथ्याङ्क भने सार्वजनिक भएको छैन ।

अर्कोतिर विदेशी विद्यार्थीका लागि काम गर्ने अवधिको मापदण्ड, महँगी, कोठाभाडामा चर्को वृद्धिजस्ता विविध कारणले कलेजको शुल्क बुझाउन नसक्दा कयौँ मानसिक रूपमा विक्षिप्त बनेको बताइएको छ ।

अढाइ वर्ष अघि अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी कमल अधिकारी तीन सातादेखि सम्पर्कविहीन भएका छन् । लन्डनस्थित नेपाली दूतावासले अधिकारीको खोजीका लागि पहल भइरहेको जनाएको छ ।

युनिभर्सिटी अफ क्रियटिभ आर्टसमा अध्ययनका लागि गत १७ सेप्टेम्बर २०२२ मा बेलायत आएका धनुषा, हंसपुर–६ का २३ वर्षीय अधिकारी २ फेब्रुअरीदेखि सम्पर्कविहीन छन् ।

केही विद्यार्थीले विभिन्न समस्याका कारण आत्महत्या गरेको खबर पनि प्रकाशमा आइरहेको छ । सरोकारवालाहरू बेलायतमा अध्ययन गर्न आउनुअघि यहाँको सम्पूर्ण वस्तुस्थितिबारे अध्ययन र आफन्त तथा साथीभाइसँग विस्तृत बुझेरमात्र आउन सुझाव दिन्छन् ।

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायतमा अध्ययनरत विद्यार्थीका समस्या उजागर गर्दै सचेतना फैलाउन सञ्चारकर्मीहरूलाई सुझाव दिएका छन् । लन्डनस्थित नेपाली दूतावासमा गएका नेपाल पत्रकार महासंघ बेलायतका पदाधिकारीसँग राजदूतले यस्तो सुझाव दिएका हुन् ।

पछिल्लो समय बेलायत अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरू निकै समस्यामा परेको भन्ने सुन्नमा आएकाले त्यसको समाधानका लागि दूतावासले आन्तरिक पहल गरिरहेको उनले बताए । धेरै विद्यार्थीहरू आफू अध्ययन गर्ने ठाउँको बारेमा राम्रोसँग नबुझी आउँदा अझ जटिल समस्या भोग्नुपरेको उनको भनाइ थियो ।

यहाँ बस्ने नेपालीहरू अन्य देशको तुलनामा अलि फरक अवस्थामा रहेको जानकारी आफूले बेलायत आउनु अघि नै पाएको राजदूत घिमिरेले बताए । बेलायतमा नेपालीको जनसंख्या बढेसँगै समस्या र समाधानमा पनि उत्तिकै चुनौती थपिएको उनले प्रस्ट पारे ।

यद्यपि दूतावास भने वर्षौं अघिको संरचनामा चलिरहेकाले कतिपय अवस्थामा दूतावासले गर्ने सहयोगको दायरा साँघुरो हुन जाने राजदूत घिमिरेले बताए । दूतावासमा अहिले डिप्लोम्याट्सहरूको सम्पूर्ण टिम नै नयाँ भएको र पुरानोसँग सहकार्य गर्ने अवसर नमिलेकाले कतिपय कुरामा नियमितता दिन अप्ठ्यारो परेको उनको भनाइ थियो ।

Chandra Kumar Ghimire

विद्यार्थीमा चुनौती बढ्दो

बेलायतमा अध्ययन गर्न आउने नेपाली विद्यार्थीलाई नयाँ संस्कृति र जीवनशैलीसँग घुलमिल हुन निकै चुनौतीपूर्ण हुन्छ । त्यस्तै भाषासम्बन्धी अवरोध, आर्थिक समस्या, शैक्षिक दबाब, होम सिक र भिसा तथा अध्यागमन सम्बन्धी समस्याले थप तनावपूर्ण जीवन बिताउन बाध्य छन् बेलायत आएका नेपाली विद्यार्थी । अध्ययन गर्न भन्दा सेटलमेन्ट पाउने आशामा लाखौँ रुपैयाँ खर्च गरेर विद्यार्थीहरू बेलायत आउने गरेको पाइएको छ ।

सोही सपना साकार पार्ने उद्देश्यले विभिन्न एजेन्टको पछि लागेर शरणार्थीका रूपमा आवेदन दिनेहरूको संख्या पनि बढ्दो छ ।

बेलायतमा विश्वस्तरीय शिक्षा प्रणाली भएकाले नेपालीमात्र नभइ अन्य मुलुकका विद्यार्थीका लागि बेलायत आकर्षक गन्तव्य बनेको छ । यहाँका प्रतिष्ठित विश्वविद्यालयहरू युनिभर्सिटी अफ अक्सफोर्ड, युनिभर्सिटी अफ क्याम्ब्रिज, इम्पेरियल कलेज लन्डन, युनिभर्सिटी कलेज लन्डन आदि शैक्षिक संस्थानले ब्याचलर, मास्टर्स र पीएचडीस्तरका विभिन्न कोर्स प्रदान गर्छन् । यद्यपि, यिनको शुल्क नेपालको तुलनामा निकै महँगो पर्छ ।

कतिपय विश्वविद्यालयहरूले छात्रवृत्ति र अन्य वित्तीय सहायता प्रदान गर्छन् तर धेरैजसो नेपाली विद्यार्थी विभिन्न कन्सल्टेन्सीको भरमा पूर्वतयारी नगरी आउने गरेको पाइन्छ । जसले गर्दा उनीहरू समस्यामा पर्ने गरेका छन् ।

उच्च शिक्षा शुल्क, जागिर पाउन मुस्किल, महँगो कोठा भाडा, पार्टटाइम जागिरको सीमित अवसर, भाषा चुनौती, विद्यार्थी भिसाको प्रतिबन्ध, महँगो भिसा शुल्क, भिसा नियमहरूको जटिलता, भिसा समाप्तिपछिको चुनौती जस्ता विभिन्न कारणले यहाँ अध्ययनका लागि आउने विद्यार्थीहरूको जीवनयापन निकै कष्टकर बनेको छ ।

बेलायतको जीवनयापन खर्च (विशेष गरी लन्डनजस्ता ठाउँहरूमा) धेरै उच्च छ । आवास, खाना, यातायात र अन्य खर्चहरूले विद्यार्थीलाई आर्थिक रूपमा सन्तुलन कायम गर्न गाह्रो हुन्छ । तसर्थ बेलायतमा अध्ययन गर्ने नेपाली विद्यार्थीले यी समस्यालाई सम्झेर राम्रो तयारी गरेमा मात्र यावत् चुनौती सामना गर्न सक्ने सरोकारवालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप