बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय
संसदीय दलको विवाद

माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल

भट्ट र धामीपक्षबिच चर्काचर्की
बुधबार, १४ फागुन २०८१, १८ : १२
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रयास असफल भएको छ । संसदीय दलको नेता खगराज भट्टलाई बनाउने केन्द्रको निर्देशन र परिपत्र कार्यान्वयन नभएपछि प्रचण्डले संसदीय दललाई बुधबार निजी निवास खुमलटार बोलाएका थिए । 

फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको बिचमा विवाद मिलाउन प्रचण्ड काठमाडौँ आएका थिए । तर दुवै पक्षबिच चर्काचर्की भएपछि बैठक छलफल बिना निष्कर्ष टुंगिएको सहभागी एक सांसदले जानकारी दिए । ती सांसदका अनुसार भट्ट पक्षधरले पटकपटक केन्द्रको निर्देशन संसदीय दलका नेता मानबहादुर धामीले उल्लघंन गरेकाले विवाद केन्द्रले नै मिलाउनुपर्ने अडान राखेका थिए । धामी पक्षका सांसदहरू प्रक्रियाबाट संसदीय दलको नेता चुनिएकाले प्रक्रियाबाट नै हटाउन चुनौती दिएका थिए । 

‘अध्यक्ष प्रचण्ड र इन्चार्ज गिरिराजमणिजीको रोहबरमा संसदीय दलको नेता सहमतिमै परिवर्तन गर्ने विषयमा दुवै पक्षबिच चर्को विवाद भयो । दलका नेता मानबहादुर धामीले आफू प्रक्रियाबाट नै दलको नेता चुनिएकाले प्रक्रियाबाट हटाउन चुनौती दिनुभयो । केन्द्रको निर्णय आफूलाई मान्य नभएको अडान लिनुभयो । तर खगराजी पक्षधरले केन्द्रको निर्देशन संसदीय दलले मान्नुपर्ने र यही सहमति गर्नुपर्ने अडान लिएका थिए । दुवै पक्षले आ–आफ्ना अडान नछाडेपछि अध्यक्षले विवाद प्रदेशमै गएर मिलाउन भन्नुभयो’, रातोपाटीसँग ती नेताले भने ।

धामीको पक्षमा सांसदहरू अक्कलबहादुर रावल, ओमविक्रम भाट, लक्ष्मी विक र झपटबहादुर साउद उभिएका थिए । भट्टको पक्षमा गीतादेवी माल, रमेशसिंह धामी, शिवसिंह ओली र जानकीदेवी कुँवर उभिएका थिए । संसदीय दलमा माओवादीको ११ जनामध्ये भीमबहादुर भण्डारी सभामुख रहेका छन् ।

२०८० माघ १२ गते बसेको माओवादी संसदीय दलको बैठकले खगराज भट्टलाई हटाएर धामीलाई दलको नेता बनाएको थियो । त्यसयता विवाद चर्किँदै गएको छ । 

विवाद मिलाउनका लागि फागुनको पहिलो हप्ता पार्टीले भट्टको विषयमा अलग्गै परिपत्र पठाएको थियो । यसअघि अध्यक्ष प्रचण्डले पटकपटक दिएको निर्देशन र दुई पटक पठाएको परिपत्र समेत कार्यान्वयन हुन सकेको छैन । 

केही दिनअघि इन्चार्ज गिरिराजमणि पोखरेलले विवाद मिलाउन धामीलाई प्रचण्ड निवास खुमलटार बोलाएका थिए । उनले संसदीय दलको बैठक नमानेपछि प्रचण्डले संसदीय दललाई नै काठमाडौँ बोलाएका हुन् । सुदूरपश्चिमको डडेलधुरास्थित जोगबुढामा भएको कार्यक्रममा सहभागी हुन गएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विवाद मिलाउन गरेको प्रयास समेत असफल भएको थियो ।

के हो विवाद ?

तत्कालीन मुख्यमन्त्री कमल शाह नेतृत्व सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादन र संसदीय दलका नेताको भूमिकालाई लिएर बढेको विवाद कारबाहीसम्म पुगेको थियो । त्यतिबेला खासगरी संसदीय दलका नेता भट्टको भूमिकालाई लिएर अहिलेका संसदीय दलका नेता रहेका धामीसहित ६ जना सांसदले तीव्र असन्तुष्टि जनाएका थिए ।

गत पुस २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्री फिर्ता र संसदीय दलको नेतालाई कारबाही गर्नुपर्ने मागदाबीसहित उनीहरूले लिखित पत्र बुझाएका थिए । संसदीय मोर्चाबाट पत्र बुझाउनेमा धामीसहित गीता माल, अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक थिए ।

मन्त्रीहरूको बचाउमा भट्ट, झपटबहादुर साउद, रमेशसिंह धामी र जानकीदेवी कुँवर थिए । अहिले ओली पनि भट्ट समूहमा फर्किएका छन् । दलको नेता परिवर्तनको विषयमा अध्यक्ष प्रचण्डबाट सकारात्मक सन्देश पाएका बहुमत सदस्यले भट्टलाई दलको नेताबाट हटाएका थिए ।

सुदूरपश्चिमका पुराना अनुभवी नेता रहेका भट्ट जिम्मेवारीविहीन भएपछि विवाद केन्द्रमा आइपुग्यो ।

गत वर्षको फागुनको १६ गते माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा आफूमाथि अन्यायपूर्ण र अपमानजनक कारबाही भएको भन्दै भट्टले आक्रोश पोखेका थिए । तर बैठकले संसदीय दलको नेतामा पुनर्बहाली गर्नुको सट्टा प्रदेश सहइन्चार्जको समेत जिम्मेवारी नदिएपछि उनी बैठक छाडेर हिँडेका थिए ।

प्रदेश सभामा दोस्रो ठुलो दल रहेको माओवादीभित्रको विवाद समाधान नभएपछि इन्चार्ज पोखरेलको पहलमा जेठ ३ गते भट्टलाई दलको नेताभन्दा माथि राख्ने निर्णय संसदीय दलले गरेको थियो । वर्तमान मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारमा जाने विषयमा आफूलाई थाहै नदिइ मन्त्री पठाएको विषयले भट्ट समूह थप आक्रोशित भएको थियो । भट्टले मन्त्रीको नियुक्ति रोक्न प्रदेश प्रमुखलाई पत्रसमेत पठाएका थिए ।

संसदीय दलको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, केन्द्रीय सदस्यहरू ओमप्रकाश पुन, लक्ष्मणदत्त जोशी, तारामान स्वाँर, शरदसिंह भण्डारी लगायत नेताहरूले प्रचण्डसँग पटकपटक पहल गर्दै आएका थिए ।  

प्रदेशस्तरबाट समाधान नभएपछि प्रचण्डले दुवै पक्षलाई बालुवाटार बोलाएर सहमतिको प्रस्ताव गरेका थिए । छलफलमा प्रदेश इन्चार्ज पोखरेल, सहइन्चार्ज बिना मगर, अध्यक्ष हरिराम चौधरी, संसदीय दलका नेता मानबहादुर धामी, नेता भट्ट, उपनेता अक्कल रावल लगायत नेता सहभागी थिए ।

यद्यपि बालुवाटार बैठकमा भट्टलाई नेता बनाउन कुनै सहमति नभएको दाबी गर्दै धामी समूहले फेरबदल हुने÷नहुने भन्ने विषय भट्टमै भरपर्ने बताए थिए । उनीहरूले सबैको मन जित्ने गरी सहमतिमा दलको नेता परिवर्तन गर्ने वा बहुमतबाट हटाएर नेता बन्न चुनौती दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप