बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई

बुधबार, १४ फागुन २०८१, १६ : ४६
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार रम्तेलकी आमालाई हस्तान्तरण गरिएको छ । बुधवार काठमाडौँको संवाद डबलीमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा सो पुरस्कार रम्तेलकी आमा किर्कौली (सरिमाया) रम्तेललाई हस्तान्तरण गरिएको हो ।   

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालले नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सचिव देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सहिद रम्तेलकी आमा सरिमायालाई नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरेको हो । सो कार्यक्रममा सचिव पौडेलले रम्तेल जस्तै: हजारौँ सहिदको बलिदानबाट आएको परिवर्तनको मूलआधार जनयुद्धको विद्रुपीकरण हुनु दुर्भाग्य भएको बताए ।

जनयुद्धकालमै रम्तेललगायतका सहिदहरूको स्मृतिमा फागुन १४ देखि २१ सम्म साताव्यापी सहिद सप्ताह अभियानको सुरुवात गरेको र आज पनि त्यसैको निरन्तरता स्वरुप देशभर अभियान चलिरहेको बताए । पौडेलले एमाले–कांग्रेसले पूर्वाग्रही ढङ्गबाट त्यसको अपमान गरे पनि जनयुद्धकै सहयात्री रामबहादुर थापा ‘बादल’ ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्धबारे दृष्टिकोण बनाउनु स्वाभाविक नभएको बताए । ‘न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्त भावले लडिएको जनयुद्धकै कमान्डरको मति भ्रष्ट भएकै हो ?’ पौडेलले प्रश्न गरे ।

अखिल (क्रान्तिकारी) का सह–फ्याक्सन ईन्चार्ज पञ्चा सिंहले दिलबहादुर रम्तेल जस्तै: हजारौँ सहिदको बलिदानबाट स्थापित वर्तमान गणतन्त्रात्मक व्यवस्थामा आसीन प्रधानमन्त्रीले समेत जनयुद्धको अपमान गरेको भन्दै आक्रोश व्यक्त गरिन् । माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी सिंहले जनयुद्धको विद्रुपीकरण नगर्न चेतावनी दिँदै भनिन्, ‘सङ्घर्ष नगरी फल खाइरहेका केपी ओलीहरूले विरोध गरे पनि जनयुद्धमा बलिदान गर्न सिकाउने बादल कमरेडहरूलाई यो हदसम्म गिर्न कुन नैतिकताले दियो ?’ केपी ओलीको चाकडी गर्नकै निम्ति तल गिर्नु गलत भएको धारणा राख्दै भनिन्, ‘रामबहादुरहरूका मजाक र रगतको होली खेल्न जनयुद्ध भएको थिएन, खबरदार अति भयो, अब सहन सकिन्न ।’

संविधानसभा सदस्य विनोद पहाडीले दिलबहादुर रम्तेल प्रतिष्ठानको स्थापना गरेर सहिद रम्तेललाई सम्मान गरेकोमा प्रतिष्ठानका अध्यक्ष डा.बुद्धि नेपालीसहित कार्यसमितिलाई धन्यवाद दिए । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका पहाडीले प्रतिष्ठानलाई खुल्ला विश्वविद्यालयमा विकसित गराउन पार्टी र राज्य पक्षले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रतिष्ठानका अध्यक्ष डा.बुद्धि नेपालीले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्मान र सम्झनाको लागि आफूहरूले स्मृति प्रतिष्ठानको स्थापना गरेको बताए । नेपालीले स्थापनाको पहिलो वर्ष रम्तेलको नाममा २५ लाख छात्रवृत्ति अक्षय कोष स्थापना घोषणा गरी कोष सङ्कलनको कार्य योजना तीव्र गतिमा अघि बढाइएको जनाए ।

‘जनयुद्ध र जनआन्दोलनका क्रममा १३ हजार ३ सय ३६ जनाले सहादत प्राप्त गर्नु भएकोमा दलित समुदायबाट १६ सय ८७ जनाले बलिदान गर्नुभएकोमा जुन प्रतिशतमा हेर्दा १२.६ प्रतिशत हुन आउँछ, यत्रो बलिदान हुँदा पनि उत्पीडित समुदाय र लिङ्गले अझै पनि पूर्ण अधिकार नपाउनु दुःखद विषय हो ।’ माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका डा.नेपालीले थपे ।

प्रतिष्ठानका महासचिव पम्फा बसेलले प्रतिष्ठान स्थापनाको दोस्रो वर्ष गाँठको अवसरमा आफूहरूले पुरस्कार स्थापना गरी हस्तान्तरण समेत गरेको बताउँदै यसलाई थप प्रभावकारी बनाउँदै जाने बताइन् ।

सो कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्व–उपाध्यक्ष मदन भूल, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय कोषाध्यक्ष सानुभाई मालबुल, अखिल क्रान्तिकारीका पूर्व–उपमहासचिव बाबुराम नेपाली, लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोका, सहिद रिना अर्पण उत्थान मञ्चका अध्यक्ष गीता रसाइलीले गौरवशाली इतिहास बोकेको जनयुद्धको रक्षा गर्न दिलबहादुर जस्तै: हजारौँ सहिदको सम्मान गर्नुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप