बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र निष्कासन

बुधबार, १४ फागुन २०८१, १५ : ५८
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु तीन अर्बको नागरिक बचतपत्र र रु ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै ‘नागरिक बचतपत्र–२०८६’ र ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ निष्कासनसम्बन्धी जानकारी दिएको हो । पाँच वर्ष अवधिका नागरिक बचतपत्रमा सात प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा साढे आठ प्रतिशत ब्याज उपलब्ध गराइने कार्यालयले जनाएको छ । यहि फागुन १५ गतेदेखि आगामी चैत १५ गतेसम्म बचतपत्रका बिक्री खुला रहने र उक्त अवधि अगावै निष्कासित रकम बराबरको आवदेन परेमा बन्द गरिने जनाइएको छ ।

यी बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुनेछ । घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई रु १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने कार्यालयले जनाएको छ । पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउनेछन् ।

बचतपत्रमा गरिने लगानीबारे सर्वसाधारणलाई जानकारी रहुँदा निष्कासन गरिएको रकमभन्दा न्यून आवेदन पर्ने गरेका छन् । यसअघि कार्यालयले गत मङ्सिर १२ गतेदेखि निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्र, २०८६ (क) मा करिब १२ प्रतिशत बराबर मात्रै बचतपत्र खरिदका लागि आवेदन परेको थियो । 

सहज र सुरक्षित तबरले आकर्षक प्रतिफल दिने सरकारी उपकरण बचतपत्रको ब्याजदर अहिले बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिइरहेको ब्याजदरभन्दा दुईदेखि साढे दुई प्रतिशत बिन्दुले बढी हो । यसमा सरकारले मूलधनको सुनिश्चत गरेको हुँदा सुरक्षित लगानी मानिन्छ । 

साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा सिधैँ जम्मा हुन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत यी बचतपत्रको सहजै कारोबार गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप