बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

दुबईबाट उपेन्द्र यादव फर्किए नेपाल, प्रकाश शरण महत पुगे दिल्ली

राजकिशोर लगायतका नेताहरू पनि दिल्लीमा
बुधबार, १४ फागुन २०८१, १४ : ५९
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट फर्किए लगत्तै सोही पार्टीका उपाध्यक्ष राजकिशोर यादव भारतको दिल्ली उडेका छन् । 

यादव फागुन १२ गते दुबईबाट फर्किएसँगै उपाध्यक्ष यादव फागुन १३ गते दिल्ली गएका हुन् । मधेसी एकता समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन यादव दुबई गएका थिए । 

यसैगरी दुबईबाटै कांग्रेस नेता प्रकाश शरण महत पनि दिल्ली पुगेका छन् । महत प्रयागराजको महाकुम्भ स्नान गरेपछि त्यतैबाट साउदी हुँदै दुबई पुगेका थिए ।  दुबईबाट उनी फेरि कतार हुँदै मंगलबार भारत पुगेका हुन् ।  दिल्लीमा आयोजित एक कार्यक्रममा सहभागी भएर उनी बिहीबार नेपाल फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । 

महत र यादव मात्रै होइन कांग्रेसकै नेता अर्जुन नरसिंह केसी, एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले पनि दिल्ली पुगेका छन् । 

भारतीय विदेश मन्त्रालयको भारतीय विश्व मामिला परिषद्, बिपी कोइराला फाउन्डेसन, लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी, बनारस हिन्दु विश्वविद्यालय, साउथ एसिया सेन्टर फर पिस रिसर्च एन्ड सस्टनेबल डेभलपमेन्ट र साउथ एसिया फाउन्डेसन नेपालले संयुक्त रूपमा आयोजना गरेको नेपाल–भारत सम्बन्ध र छिमेकी नीति विषयक अन्तरक्रिया कार्यक्रममा भाग लिनका लागि उनीहरू त्यहाँ पुगेका हुन् । सो कार्यक्रम बुधवार र बिहीबार चल्ने सहभागीमध्येका एक नेताले बताए । 

सो कार्यक्रममा नेपालबाट केही बौद्धिक र प्राज्ञिक व्यक्तित्वहरू पनि गएका छन् । भारतबाट समेत केही बौद्धिक तथा प्राज्ञिक व्यक्तिहरू सहभागी भए पनि नेपालबाट जस्तो कुनै राजनीतिक दलका नेताहरू भने सहभागी छैनन् । 

नेताहरूबाट नेपालको तर्फबाट भारतका लागि नेपाली राजदूत डा.शङ्कर प्रसाद शर्मा, लुम्बिनी विश्वविद्यालयका उपकुलपति, डिन डा.मनिकरत्न शाक्य, रजिस्टार डा.तिलक राम आचार्य, प्रकाश सिंह कार्की, राजेन्द्र घिमिरे, शौरभ ज्योति सहभागी छन् । 

भारतको तर्फबाट भारतीय विदेश मन्त्रालयको भारतीय विश्व मामिला परिषद्का नूतन कपुर महावर, टिसिए राघवन, डा.एस.वाइ क्वीरेसी, अशोक कुमार कण्ठ, अभिजित हल्दरलगायतको उपस्थिति रहने बताइएको छ । 

नेपालबाट गएका नेताहरूले त्यहाँ नेपालको बारेमा साइडलाइन वार्ताहरू पनि गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप