मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’

काठमाडौँ । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापा फागुन १२ मा काठमाडौँको कलंकीमा अचेत अवस्थामा भेटिए । धादिङको धुनिवेशी नगरपालिका–९ घर भएका ३६ वर्षीय थापा साथीको डेरामा अचेत अवस्थामा फेला परेका हुन् ।
उपचारको क्रममा त्यसै दिन साँझ कलंकी स्थित सहिद मेमोरियल अस्पतालमा उनको मृत्यु भयो । जहाँ उनी अचेत भेटिएका थिए, सो डेरा धुनिवेशी–८ घर भएका शिव कुँवरको हो ।
घटनास्थलमा गहुँलाई किराबाट जोगाउन प्रयोग गरिने चक्की (विषादी)को प्याकेट र सुसाइड नोट भेटिएको छ । एक पेज लामो सुसाइड नोटबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
सुसाइड नोटमा थापाले एउटा साप्ताहिक पत्रिकामा आफ्नो अडियो प्रसारण गरिएको र त्यसबाट आफूलाई टर्चर भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘मेरो प्रतिष्ठा खराब भयो, मानहानि भएको छ ।’
अडियो प्रसारण गर्ने पत्रिकाको सम्पादकलाई प्रहरीले ‘सोधपुछ’को लागि बोलाउने भएको छ । सो पत्रिकाले चरित्रहत्या गरेको रविले नोटमा लेखेका छन् ।
थापाको सुमेरु बचत तथा ऋण सहकारीका पूर्व सचिव विनोद आचार्यसँगको अडियो बाहिरिएको थियो । सुमेरुलाई पुस २८ मा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको छ ।
गिरोहले आफ्नो स्वर ‘बनाएर’ अफवाह फैलाएको उनले आफ्नो नोटमा जिकिर गरेका छन् । नोटमा भनिएको छ,‘मेरो स्वर बनाएर अफवाह फैलाए, मन्त्री (मदुकुमार श्रेष्ठ)लाई पनि बदनाम गराए ।’
मृतक थापाले आफू र मन्त्री समेतलाई फसाउने खेल भएको जिकिर गर्दै सत्य नलुक्ने उल्लेख गरेका छन् । नोटमा लेखिएको छ, ‘सत्य लुक्दैन ।
उनले परिवारका सदस्यहरूलाई राम्रोसँग बस्न आग्रह गरेका छन् । नोटमा उल्लेख छ, ‘बुवाको ख्याल गर्नु, सबै मिलेर बस्नु ।’
नोटमा थप भनिएको छ, ‘एक्कासि नभएको कामलाई फैलाएर मैले गरेको जस्तो बनाएका छन् ।’