बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स ट्रफीमा खटन नमानेपछि लाहोरका एक सयभन्दा बढी सुरक्षाकर्मी पदबाट बर्खास्त

बुधबार, १४ फागुन २०८१, १३ : ५३
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पाकिस्तान र संयुक्त अरब इमिरेट्समा जारी छ । आयोजक राष्ट्र पाकिस्तान यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।  २९ वर्षपछि आईसीसीको ठुलो प्रतियोगिता आयोजना गरिरहेको पाकिस्तानले च्याम्पियन्स ट्रफीका क्रममा एकपछि अर्को समस्याको सामना गर्नु परिरहेको छ । 

यसैक्रममा, पाकिस्तानको पञ्जाब प्राप्तका एक सयभन्दा बढी सुरक्षाकर्मीलाई पदबाट बर्खास्त गरिएको समाचारमा सार्वजनिक भएको छ । च्याम्पियन्स ट्रफीकै कारण ती सुरक्षाकर्मीलाई पदबाट बर्खास्त गरिएको समाचारमा जनाइएको छ ।  च्याम्पियन्स ट्रफीको सुरक्षामा खट्न अस्वीकार गरेका कारण उनीहरुलाई पदबाट बर्खास्त गरिएको बताइएको छ । केही सुरक्षाकर्मी भने च्याम्पियन्स ट्रफीमा आफूलाई दिइएको जिम्मेबारी छाडेर अन्यत्रै गएका थिए । 

पञ्जाब प्राप्तको प्रहरीका एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै प्रकाशित समाचारमा जनाइए अनुसार, अधिकांश सुरक्षाकर्मीले च्याम्पियन्स ट्रफीको सुरक्षामा खट्न अस्वीकार गरेका थिए । समाचारमा ती बरिष्ठ अधिकारीको नाम भने सार्वजनिक गरिएको छैन ।

‘अधिकांश सुरक्षाकर्मीलाई लाहोरस्थित गद्दाफी स्टेडियम र खेलाडीहरु बसेको होटलमा सुरक्षाका लागि खटाइएको थियो । तर, उनीहरुले आफ्नो जिम्मेबारी पालन गर्न अस्वीकार गरेका थिए,’ ती अधिकारीले भनेका छन् ।

पञ्जाब प्रहरीका आईजीपी उस्मान अनवरले पनि आफ्नो जिम्मेबारी पालन नगर्ने सुरक्षाकर्मीमाथि कडा कारवाही गरिने जनाएका छन् । ‘देशको प्रतिष्ठासँग जोडिएको यति ठुलो प्रतियोगितामा कसैले हेलचेक्राई गर्छ भने त्यसले सजायको भागिदान पनि बन्नै पर्छ,’ अनवरले भनेका छन् ।

 सुरक्षाकर्मीले च्याम्पियन्स ट्रफीमा खट्न किन अस्वीकार गरे भन्ने विषयमा केही खुलाइएको छैन । एक अपुष्ट समाचार अनुसार, च्याम्पियन्स ट्रफीका क्रममा निरन्तर रुपमा क्षमताभन्दा बढी काम गर्नु परेकाले उनीहरुले यस्तो अप्रिय निर्णय लिएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप