बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

राजेन्द्रको पार्टीमा लेबीको व्यवस्था : प्रधानमन्त्री भए २० हजार, वडाध्यक्ष भए ४ हजार

बुधबार, १४ फागुन २०८१, १३ : ०३
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले पार्टी सञ्चालनका लागि चन्दा सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रीय कोष स्थापना तथा अर्थ सङ्कलन अभियान र आर्थिक सहयोगको लागि सो पार्टीले आह्वान पनि गरेको छ । त्यसका लागि अध्यक्ष महतोले आफ्नो पार्टीमा पनि चन्दा उठाउने भएका छन् ।  हरेक सदस्यलाई चन्दा बुझाउन सो पार्टीले अनिवार्य गरेको छ । 

उक्त पार्टीका एक केन्द्रीय सदस्यले भने– ‘पार्टीको सिडमनिका लागि एक पटक पार्टीका सबै नेता तथा कार्यकर्ताले चन्दा दिनुपर्ने अनिवार्य गरेको छ, रकम यति वा त्यति तोकिएको छैन आफ्नो स्वेच्छाले दिनुपर्ने भनेको छ ।’ 

त्यसबाहेक पार्टीमा लेबीको पनि व्यवस्था गरिएको छ । पार्टीका हरेक सदस्यले अनिवार्य लेबी बुझाउनुपर्ने निर्णय गरिएको छ ।  पार्टीका पदाधिकारीले मासिक एक हजार लेबी बुझाउनुपर्छ भने केन्द्रीय सदस्यले ५०० बुझाउनुपर्ने हुन्छ । राजनीतिक समिति सदस्यले ७००, विभागका सदस्यहरूले २५० रुपैयाँ मासिक लेबी बुझाउनुपर्ने सो पार्टीले निर्णय गरेको छ । 

त्यस्तै सक्रिय सदस्यले वार्षिक १०० रुपैयाँ लेबी बुझाउनुपर्ने भएको छ भने प्रदेश समितिका सचिवालय सदस्य तथा कार्यकारिणी सदस्यहरूले ५०० रुपैयाँ, प्रदेश सदस्यले ३००, जिल्ला कमिटीका पदाधिकारीले ३०० र जिल्ला सदस्यले २०० रुपैयाँ मासिक लेबी बुझाउनुपर्ने नियम बनाइएको छ ।  

त्यस्तै, पार्टीबाट कोही प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री बनेमा प्रत्येकले मासिक रूपमा २० हजार रुपैयाँ बुझाउनुपर्ने नियम बनाइएको छ । त्यस्तै सांसद हुनेले मासिक १५ हजार रुपैयाँ लेबीको रूपमा बुझाउनुपर्छ । 

पार्टीबाट मुख्यमन्त्री भएमा उसले मासिक १५ हजार रुपैयाँ लेबीको रूपमा बुझाउनुपर्छ भने प्रदेश सांसदले १० हजार, समितिका सभापतिहरूले १२ हजार, जिल्ला समन्वय समितिका सदस्यले आठ हजार रुपैयाँ बुझाउनुपर्ने पार्टीले निर्णय गरेको छ । त्यसैगरी स्थानीय तहमा महानगरपालिकाका मेयरले १२ हजार, उपमेयर १० हजार, नगरपालिकाका मेयर १० हजार, उपमेयर पाँच हजार, गाउँपालिका अध्यक्ष आठ हजार, उपाध्यक्ष र वडाध्यक्षले चार–चार हजार रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने नियम बनाइएको छ । 

त्यस्तै पार्टीबाट कुनै राजनीतिक नियुक्ति भएमा तलबको १० प्रतिशत बुझाउनुपर्ने प्रावधान सो पार्टीले राखेको छ । दोहोरो पदमा भएकाले पनि रकम बुझाउनुपर्ने नियम बनाइएको छ ।

हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले ताप्लेजुङको मुकुमलुङ घटनाको भर्त्सना गर्दै त्यहाँको विवादलाई वार्तामार्फत समाधान गर्न आग्रह गरेको  छ । साथै सो घटनामा दमन गरेका प्रहरीलाई कारबाही गर्न समेत सो पार्टीले माग गरेको छ । 

केन्द्रीय समिति गठन भएपछिको यो पहिलो विस्तारित बैठक हो  । बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न १८ भाषामा शपथग्रहण गरेका छन् भने पार्टीका अध्यक्ष महतोले मैथिली भाषामा शपथ लिएका थिए । पार्टीको पदाधिकारी चयनको जिम्मेवारी पार्टीका अध्यक्ष महतोलाई दिइएको छ । सो पार्टीमा विभिन्न ५२ वटा विभाग बनाएको छ । त्यसमध्ये कुन विभागमा को जान इच्छुक छन् सबैको राय माग गरिएको छ । उक्त पार्टीमा हाल केन्द्रीय सदस्यको सङ्ख्या २१९ रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप