बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ

बुधबार, १४ फागुन २०८१, ११ : ०५
बुधबार, १४ फागुन २०८१

पोखराका ५२ हजार घरधुरीमा खानेपानी संस्थानले धारा जडान गरेको छ । एक वर्षमा सरदर १५ सय देखि २ हजार नयाँ धारा थपिन्छ । १ देखि १९ नम्बर वडासम्म संस्थानले पानी वितरण गर्छ । २५ नम्बर वडालाई संस्थानको अर्को कार्यालयले हेर्छ ।

वार्षिक रूपमा ४० किलोमिटर पाइपलाइन विस्तार गरिरहेका छौँ । हाल लगभग २ हजार किलोमिटर पाइपलाइन विस्तार भइसकेको छ । वर्षमा पोखरा शाखाले मात्रै ४० करोड राजस्व उठाउन सक्छ । खानेपानीको चोरी उस्तै छ, बक्यौता पनि बढी छ ।

वर्षमा हाल ३० करोडजति आम्दानी संस्थानले गरेको छ । नेपाल खानेपानी संस्थानमा पोखरा शाखाको मात्रै ७० प्रतिशतभन्दा बढी योगदान छ । पोखरामा जुन अनुपातमा धारा थपिन्छ, बन्द हुने अनुपात भने निकै न्यून छ । वर्षमा मुस्किलले १० वटा जति धाराको लाइन बन्द गरिएको छ ।

उपभोक्तालाई शुद्ध पानी वितरण गर्न संस्थानलाई सबैभन्दा बढी चुनौती छ । भोटेखोला र कालीमुडामा ट्रिटमेण्ट प्लाण्ट बनाउनुपर्छ । भोटेखोलामा लगभग ८० प्रतिशत काम भइसकेको छ । कालीमुडामा जग्गा नपाएर काम गर्न सकिएन । पोखराको पानी शुद्ध हुन कम्तीमा यी दुई वटा मूलको पानी शुद्ध हुनुपर्छ । कालीमुडाको जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढेको छ ।

मर्दीखोलाको पानीचाहिँ अहिले पूर्ण शुद्ध छ । शुद्धीकरणको लागि पुरुञ्चौरमा रहेको फिल्टरमा ब्लिचिङ पाउडर हाल्छौँ । त्यो पानी अमला बिसौनी र विन्ध्यावासिनीमा जान्छ । त्यहाँ पनि पाउडर हालिन्छ । हामीले दैनिक २५ किलोका १० बोरा पाउडर हालेका छौँ ।

अहिले दैनिक पानी परीक्षण गरेर रिपोर्ट निकाल्छौँ । रिपोर्ट हेर्दा चित्तबुझ्दो छ । यसको अर्थ मर्दीको पानी पिउन योग्य छ । स्वास्थ्यका हिसाबले ब्लिचिङ पाउडर राम्रो हो । किटाणु मार्ने हो, स्वास्थ्यमा असर पर्दैन । बर्सातको समय नहुँदा पानीमा कम फोहोर हुने भएकाले एउटा लाइन प्लाण्टमा हालेका छौँ, अर्को लाइन सिधै हालेका छौँ । औषधि हालेपछि पानी सफा हुन्छ । धमिलोपना र किटाणु हटाउने हो । फिल्ट्रेसन प्लाण्ट बनेपछि पानी धमिलो छैन । अलिअलि त हुन्छ । ५ पीपीएमभन्दा तल देखिएको छ ।

पोखराका ३–४ ठाउँबाट हामीले वितरण गरेको पानी दैनिक जाँच्नुपर्छ । टर्मिनिटी, पीएच, कोलिर्फम जस्ता ५–६ वटा प्यारामिटर दैनिक जाँचिरहेका छौँ । हामीसँग आफ्नै ल्याब छ । जाइकाले उपकरण सहयोग गरेको छ । जाँच गर्दा कतै शंका लागे पाउडर बढाएर पनि शुद्ध बनाउँछौँ । कहिलेकाहीँ मासु काट्ने ठाउँबाट पानी हाम्रो लाइनमा छिरेको छ । पत्ता लगाएर समाधान गरेका छौँ । उहाँहरूले रगत फाल्दा हाम्रो लिकेज भएको ठाउँबाट छिर्छ । यो लगभग समाधान भइसकेको छ ।

अहिले अर्को समस्या भनेको ट्रिटमेण्ट प्लाण्ट बनेपछि आपूर्तिमा केही कम भएको छ । जापान सरकारले अनुदानमा दिएको परियोजनाको डिजाइन नै ४१ एमएलडी थियो । त्यो भनेको ४ करोड १० लाख लिटर हो । यो डिजाइन गरेको सन् २००४ मा हो । यसमा कसैको गल्ती भन्दा पनि उहाँहरूले डिजाइन अनुसार पानी दिनुभएको छ तर हामीलाई त्यसले पुग्दैन । मर्दीखोलाबाट मात्रै अहिले दैनिक ४ करोड ६० लाख लिटर ल्याइरहेका छौँ । ट्रिटमेण्ट प्लाण्टमात्र चलाउने हो भने ४ करोड १० लाख लिटरमात्रै आउने हो ।

पानी अभाव घटाउन भत्केको पुलदेखि पुरुन्चौरसम्म ५ सय एमएमको ६६० मिटर पाइप विस्तार गर्न ठेकदार छनोट भएर काम अघि बढिसकेको छ । नेपालगञ्जबाट पाइप ल्याइन्छ । त्यसपछि ५० लाख लिटर पानी थप हुन्छ । हाम्रो लक्ष्य भनेको त्यहाँबाट ५ करोड लिटर पानी ल्याउने हो । भोटेखोलाबाट ३० लाख लिटर, कालीमुडाबाट पनि ३० लाख लिटर आइरहेको छ । अहिले २० ठाउँमा बोरिङ चलाएका छौँ । त्यहाँबाट दैनिक १ करोड लिटर उत्पादन हुन्छ ।

अहिले पोखरामा पानीको माग दैनिक ८ करोड लिटर छ । ७ करोड लिटर त संस्थानले उपलब्ध गराइरहेको छ । हाम्रो लागि मुख्य समस्या भनेको पानी चोरी हो । ३६ प्रतिशत पानी चोरी र लिकेज भएको छ । पाइप फुट्ने र मिटर नराखी पानी चलाउनेहरू समस्या हो । त्यसको रेखदेख गर्न कर्मचारी अभाव छ । १७५ कर्मचारीको दरबन्दी भएको पोखरा शाखामा १ सय जनाले मात्रै काम चलाउनुपरेको छ ।

संस्थानलाई उपभोक्ताको माग धान्न पानी उत्पादन बढाउनैपर्ने बाध्यता छ । सार्दीखोलाबाट थप पानी ल्याउन योजना बनाएका छौँ । यो वर्ष डीपीआरका लागि बजेट परेको छ । डीपीआरपछि अर्को वर्षबाट परियोजना थाल्नुपर्छ । त्यहाँबाट दैनिक १ करोड लिटर पानी ल्याउने लक्ष्य लिएका छौँ ।

पानी उत्पादन बढाउनका लागि डीप बोरिङ गर्नुपर्छ । यसका लागि जग्गा पाइएको छैन । अहिले पनि १ नम्बर वडा र १७ नम्बर वडामा बोरिङ योजना थियो । जग्गा नै पाइएन, काम अघि बढेन । त्यसबाहेक मर्दी तेस्रो परियोजना पनि चलाउने योजना छ । १६ इन्चको पाइप त्यहाँबाट थप्ने सोचेका छौँ । यसको लागि माछापुच्छ्रे गाउँपालिकासँग छलफल गरिरहेका छौँ । पालिकाले उठाएको रोयल्टीहरूको समस्या हामीले समाधान गर्न सक्दैनौँ, संस्थानमै जानुपर्छ । सामान्य तटबन्ध, ग्याबिन लगाउने काम हामीले नै गरिरहेका छौँ । यसमा पोहोर सालमात्रै ३०–४० लाख खर्च भयो । शुद्ध र चौबिसै घण्टा पानी खुवाउन ३ देखि ४ वर्षपछि सम्भव हुन सक्छ ।

१० करोड जति बजेट व्यवस्था भयो भने समस्या समाधान हुन्छ । जग्गा प्राप्ति लगायत समस्या समाधान भयो भने रकम अभाव नहोला । हामीलाई कुनैकुनै ठाउँमा पानी पु¥याउन गाह्रो छ । त्यस्ता उपभोक्ताहरूले निजी कम्पनीका बोरिङबाट पानी उपभोग गरिरहनुभएको छ । योचाहिँ महँगो पर्छ । १० देखि १५ प्रतिशत ठाउँमा संस्थानलाई पानी पु¥याउन कठिन छ । तर हामी सबैतिर वितरण गर्नका लागि जोडले काम गरिरहेका छौँ । महसुल नतिर्ने उपभोक्ताको पनि हालसम्म धारा काटेको छैन । अबचाहिँ महसुल नतिर्नेको धारा नै काट्ने योजना छ ।

जे होस्, समस्याका बाबजुद पनि शुद्ध पानी वितरणका लागि संस्थानले प्रतिबद्धता जनाएको छ । समय केही वर्ष लाग्छ तर लक्ष्य पूरा हुन्छ ।

(खानेपानी संस्थान, पोखराका प्रमुख कार्कीसँग रातोपाटीका लागि प्रकाश ढकालले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ई. आशिष कार्की
ई. आशिष कार्की
लेखकबाट थप