महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
_mFvX8cQay4.jpg)
फागुन कृष्ण चतुर्दशीमा पर्ने शिवरात्रि महापर्वलाई शिवचतुर्दशी पनि भनिन्छ । यस दिन विशेषतः हिन्दुधर्मावलम्बीले भगवान्् शिवजीको पूजा–अर्चना गर्छन् । भगवान् शिवको उत्पत्ति भएको र ईश्वरीय संयोगको रात भएकाले त्यसैको नामबाट नामकरण भएको यो पर्व वर्षका प्रमुख चार रात्रिमध्ये एक हो । वर्षमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार रात्रि पर्छन् ।
कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो । जुन रात्रिको शिवतत्त्वसँग घनिष्ठ सम्बन्ध छ, त्यसैलाई शिवरात्रि भनिन्छ । यस दिन शिवार्चनका साथसाथै रात्रि–जागरणको विशेष महत्त्व भएकाले कल्याण चाहने साधकहरूले रातभर जागरणसहित विधिपूर्वक व्रत गर्नुपर्ने शास्त्रीय विधान छ ।
शिवपुराणमा भगवती पार्वतीको जिज्ञासामा भगवान्् शिव भन्छन्– फागुन कृष्ण चतुर्दशीको रात्रि शिवरात्रिको नामले प्रसिद्ध हुनेछ । यस दिन व्रतोपवास गर्ने साधकले मलाई प्रशन्न गर्नेछ ।
यो पर्व सबैका लागि धर्म प्राप्तिको उत्तम साधन हो । यस दिन शिवलाई जलाभिषेक अर्पण गरेमा, बेलपत्र चढाएमा पनि पुण्यार्जन हुने विश्वास गरिन्छ । महाशिवरात्रिको दिन भगवान्् शिवको उपासना गर्नाले उपासकलाई भोग एवं मोक्ष दुवैको प्राप्ति हुने कुराको उल्लेख शिवपुराणको कोटिरुद्रसंहितामा पाइन्छ ।
स्कन्दपुराण अनुसार, शिवरात्रिमा विशेष ऊर्जा उत्पन्न हुने गर्छ र यस ऊर्जाको सम्पर्कमा मात्र पर्नाले पनि मानिस ऊर्जावान् हुन पुग्छ ।
शिव ईश्वर हुन्, परम ब्रह्म परमेश्वर स्वयं शिव नै हुन् । ईश्वरको तीन प्रमुख चरित्रका आधारमा पनि शिवलाई एक मानिन्छ । विनाशकर्ताका रूपले पनि चिनिन्छ ।
शिवपुराणमा शिव र देवी पार्वतीको वर्णनका साथै सबै देवताको सन्दर्भ जोडिएको छ । यसमा भगवान्् शिवका विभिन्न रूप, अवतारहरू, ज्योतिर्लिंगहरूसँगै भक्तहरू र भक्तिको विस्तृत विवरण उल्लेख छ । यस्तै शिवको परोपकारी स्वरूपको दार्शनिक विश्लेषण, रहस्य, महिमा र पूजाको विस्तृत विवरण समेत उल्लेखछ । शिव पुराणमा शिवलाई पञ्चदेवमा प्रमुख, शाश्वत र सिद्ध देवताको रूपमा स्वीकार गरिएको छ ।
भगवान्् शिवको गुणगान गाइएका अनेकानेक मन्त्र र स्तुतिहरू वेद, उपनिषद्, रामायण, महाभारत, पुराण लगायत परवर्ती साहित्यमा पाइन्छन् । भगवान्् शिवको स्तुतिगानका लागि प्रसिद्ध शिवमहिम्नस्तोत्रमा पुष्पदन्तले यसरी श्रद्धाभक्ति दर्शाएका छन् :
‘पशुपतिमतं वैष्णवमिति । प्रभिन्ने प्रस्थाने परमिदमदः पथ्यमिति च ।।
रुचिनां वैचित्र्यादृजुकुटिलनानापथजुषां । नृणामेको गम्यस्स्तमसि पयसामर्णव इव ।।
शिवजी नै एक अखण्ड परतत्त्व हुन्; सर्वव्यापक र सर्वशक्तिमान् हुन्; व्यक्त–अव्यक्त रूपले क्रमशः सगुण ईश्वर र निर्गुण ब्रह्म हुन् । साथै उनी परमात्मा, जगदात्मा, शम्भव, मयोभव, शङ्कर, मयस्कर, शिव, रुद्र, पशुपति, महादेव आदि सहस्र नामले सम्बोधित छन् ।
अर्थात् महासमुद्ररूपी शिवजी नै एक अखण्ड परतत्त्व हुन्; सर्वव्यापक र सर्वशक्तिमान् हुन्; व्यक्त–अव्यक्त रूपले क्रमशः सगुण ईश्वर र निर्गुण ब्रह्म हुन् । साथै उनी परमात्मा, जगदात्मा, शम्भव, मयोभव, शङ्कर, मयस्कर, शिव, रुद्र, पशुपति, महादेव आदि सहस्र नामले सम्बोधित छन् ।
नेपाल आदिकालदेखि नै तपोभूमिका रूपमा रहँदै आएको छ । प्राचीन कालदेखि नै यहाँ धार्मिक स्थलहरू स्थापना गरी सामुदायिक रूपमा उपासना हुँदै रहेको पाइन्छ । गोसाइँकुण्ड, बराहक्षेत्र, स्वर्गद्वारी, मुक्तिनाथ, लुम्बिनी, जनकपुर, पशुपतिनाथजस्ता सयौँ तीर्थस्थलहरू नेपालमा अवस्थित छन् । यिनमा शिवका थुप्रै मठ, मन्दिर र तीर्थस्थल रहेका छन् । शिव देवहरूको पनि देव महादेव हुन् । आशुतोष, इशान, महेश, हरिहर, शंकर, रुद्र, गिरीश आदि शिवका सहस्र नाम छन् । सनातनधर्मी सबै देवी–देवताप्रति आस्थावान् हुन्छन् । तर आध्यात्मिक मार्गलाई नै कर्म क्षेत्र मान्नेहरू विभिन्न सम्प्रदायमा विभाजित हुन्छन् ।
शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो आराध्य मान्छन् । शिवलिङ्गको रूपमा शिवको पूजा गर्ने गरिन्छ । शाक्त सम्प्रदायका अनुयायीहरू शक्तिलाई आफ्नो आराध्य मान्छन् । शिव र शक्तिलाई एउटै मान्ने अद्वैत पनि छन् ।
शिवपुराणमा उल्लेख छ, ‘शंकरः पुरुषाः सर्वे स्त्रियः सर्वा महेश्वरी’ । त्यसैले शिव र शक्तिको योग स्वरूपको प्रतीक रूपमा शिवलिङ्गको अर्चना गरिन्छ । शिवरात्रि शिवशक्ति संयोगको रात हो । यो समयमा शिवरात्रिको आराधना गरेर जीवनलाई सिर्जनशील बनाउन सकिने हुँदा शिवरात्रिको महत्त्व श्रेष्ठ छ । महाशिवरात्रि नेपाल–भारतमा मनाइने महत्त्वपूर्ण चाडपर्वमध्ये एक हो । वर्षको यो सबैभन्दा अन्धकार रातमा शिवको कृपा प्राप्त हुने योग हुन्छ । शिवलाई आदिगुरु मानिन्छ । उहाँबाटै योग परम्पराको सुरुवात भएको थियो । यस रातमा ग्रहहरूको स्थिति यस्तो हुन्छ कि यसले मानव शरीरमा रहेको ऊर्जालाई शक्तिशाली तरिकाले माथितिर लैजान्छ । यस रात मेरुदण्ड सीधा राखेर जागा र सतर्क रहनु हाम्रो शारीरिक र आध्यात्मिक स्वास्थ्यका लागि धेरै लाभदायक छ ।
महाशिवरात्रिमा रुद्राभिषेक गरेर विधिवत पूजा गरिन्छ । महाशिवरात्रिमा रातको चारै प्रहरमा भगवान्् शिवको पूजा गरिन्छ । महाशिवरात्रिको दिन भगवान्् शिवको १०८ नामको जप गरिन्छ । यस दिन धेरै ठाउँमा भगवान् शिवको रथयात्रा पनि निकालिन्छ । कुमारी कन्याहरू मनोनुकूल वर प्राप्तिका लागि विवाहिताहरू सौभाग्य रक्षाका लागि र पुरुष आफ्नो पुरुषार्थका लागि यस दिन शिवजीको व्रत लिएर दिनभर उपवास लिने र राति जागरण बस्ने गर्छन् । शिवतीर्थ, शिवमठ, शिव मन्दिर र शिवालयहरूमा यस अवसरमा गरिने उत्कृष्ट साजसज्जा र श्रद्धालुको भीड मनोरम हुन्छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसीको नयाँ एकदिवसीय वरीयतामा पछि परे नेपाली खेलाडी
-
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
-
६ अर्बभन्दा बढीको लागतमा बन्दै पाँचतारे होटल बन्दीपुर हिल
-
माओवादीको रेकर्डमा ९५० महिला सहिद, को हुन् पहिलो सहिद धनमाया ?
-
सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
-
सुनिताले मागेकी थिइन् गोविन्दासँग सम्बन्धविच्छेद ?