बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : शुद्धताको सकस

५ अर्ब खर्चिंदा पनि शुद्ध भएन पोखराको पानी

बुधबार, १४ फागुन २०८१, १० : ४०
बुधबार, १४ फागुन २०८१

पोखरा । दुषित पानी पिउँदा मानिसमा विभिन्न खालका रोग लाग्न सक्छ । चिकित्सकहरूका अनुसार झाडापखाला, टाइफाइड, जन्डिसका साथै छाला सम्बन्धी विभिन्न रोग पानीकै कारण लाग्न सक्छन् । रोग लागेपछि उपचार गर्नुभन्दा रोगबाट बच्नु उत्तम उपाय हो भन्ने गरिन्छ । यद्यपि, पोखरा महानगरपालिकामा भने शुद्ध पानीको व्यवस्थामा सम्बन्धित निकायको बेवास्ता देखिन्छ ।

घटना असोज तेस्रो साताको हो– लेकसाइडको एउटा रेष्टुरेण्टले एक बोतल पानीको मूल्य १ सय रुपैयाँ लियो । कम्पनीले तोकेको भन्दा बढी मूल्य लिएको उजुरी परेपछि कास्की जिल्ला प्रशासन कार्यालयले उक्त रेष्टुरेण्टलाई २ लाख जरिवाना लगायो ।

यस्तो घटना पोखरामा नौलो होइन, निरन्तर भइरहेका छन् । पोखरामा वितरण हुने खानेपानी शुद्ध नभएका कारण महँगोमा जार र बोतलको पानी किनेर प्रयोग गर्न बाध्य छन् पोखरेली उपभोक्ता ।

पोखरामा २ दर्जनभन्दा बढी कम्पनीले जार र बोतलको पानी बेच्छन् । ठिकठाक तथ्याङ्क पाउन मुस्किल भए पनि दैनिक २० हजार जार र ८ देखि १० हजार कार्टुन बोतलको पानी बिक्री हुने कम्पनी सञ्चालकहरूको अनुमान छ ।

त्यसबाहेक दैनिक ३ सय ट्याङ्कर जति पानी बिक्री हुन्छ । ट्याङ्करको पानी बेच्ने ६ वटा कम्पनी छन् । करिब ३० लाख रुपैयाँ जति पानीमा पोखरेली उपभोक्ताले दैनिक खर्च गर्छन् ।

खानेपानी वितरण गर्ने सरकारी निकाय नै नभएकाले उपभोक्ताले यसरी किनेर पानी प्रयोग गर्नुपरेको भने होइन । खानेपानी संस्थानमार्फत धाराबाट वितरण हुँदै आएको पानीको शुद्धतामा विश्वास नभएका कारण उपभोक्ताले महँगोमा पानी किनेर उपभोग गरेका हुन् ।

शुद्ध पानी वितरण गर्न भन्दै खानेपानी संस्थानले पानी शुद्धीकरण परियोजना चलाएको छ । प्रमुख स्रोत मर्दीको पानी शुद्धीकरण प्लाण्ट तयार भइसकेको छ । प्लाण्ट उदघाटन गर्दै मंसिर दोस्रो साता खानेपानीमन्त्री प्रदीप यादवले भनेका थिए, ‘हिजो बर्सातको समयमा हिलो मिसिएको पानी पिउनुपर्ने अवस्था थियो । अब त्यो पीडा सकिएको छ । सिधै धारा खोलेर पानी पिउन मिल्ने भएको छ ।’

मन्त्री यादवले दाबी गरेजस्तै पोखराको पानी सिधै धाराबाट पिउन मिल्ने भएको हो त ? पौने ५ अर्ब खर्च गरेर शुद्ध बनाइएको भनिएको पानी अझै पिउनयोग्य भइसकेको छैन ।

मुहान क्षेत्र रहेको माछापुच्छ्रे–८ का वडाध्यक्ष रामबहादुर गुरुङ स्थानीयको व्यवहार परिवर्तन नगरेसम्म पानी शुद्धीकरण परियोजना नै सफल नहुने बताउँछन् । ‘खोलामा लास पोल्न रोकिएको छैन । गाईभैंसी आहाल खेलिरहेका छन् । कतिपयले सेफ्टी ट्याङ्की नै खोलामा मिसाइरहेको अवस्था छ,’ उनले भने, ‘मुहान क्षेत्रका नागरिकको आनीबानी बदल्न संस्थानले लगानी गर्नुपर्छ । मुहानमा फोहोर भएको पानी पाउडर हालेरमात्रै शुद्ध हुन्छ र ?’

पानी शुद्धीकरणका लागि संस्थानले ब्लिचिङ पाउडर प्रयोग गर्छ । संस्थानले पानी ल्याउने मुहान क्षेत्रमा क्षति बढ्दो छ । त्यहाँका बस्ती जोखिममा परेका छन् भने खेतीयोग्य जमिन बगेको छ । जसका कारण संस्थानले क्षतिपूर्ति दिनुपर्ने माग पालिकाले उठाउँदै आएको छ । यद्यपि पालिकाको माग सुनुवाइ भएको छैन ।

‘तटबन्ध निर्माण गरे जमिन कटान पनि रोकिन्छ । पानी धमिलो पनि हुँदैन,’ गुरुङले थपे, ‘खानेपानी आयोजनामा प्रभावित क्षेत्रका नागरिकहरूको अपनत्व छैन । अपनत्वका लागि क्षतिपूर्ति अनिवार्य दिनुपर्छ ।’

मर्दीखोला माछापुच्छ्रे गाउँपालिकाको ४, ५, ६, ८ र ९ नम्बर वडाका नागरिकहरूको दाहसंस्कार गर्ने घाट पनि हो । प्रायः यो खोलामा गाईभैंसी आहाल खेलिरहेको दृश्य यहाँ सामान्य हो ।

जापान सरकारको अनुदान सहयोगमा ४ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेर मर्दीखोलाको पानी शुद्धीकरण परियोजना पूरा भएको छ । तर पोखरामा वितरण हुने सबै पानी प्लाण्टबाट शुद्धीकरण गरिँदैन ।

आपूर्तिमा कमी भएपछि मर्दीको एउटा पाइपबाट प्लाण्टमा पानी पठाइन्छ भने अर्को पाइपबाट सिधै वितरण लाइनमा पठाइन्छ । हिउँदमा कम धमिलो हुने (फोहोर नहुने) भएकाले यसो गरिएको संस्थानको दाबी छ ।

यसबाहेक प्रमुख आपूर्तिको स्रोत भोटीखोलाको पानी शुद्ध बनाउन ट्रिटमेण्ट प्लान्ट निर्माण भइरहेको छ । सरकारकै लगानीमा ८० प्रतिशत काम सकिएको संस्थानले जनाएको छ । उक्त आयोजना यही वर्षभित्र सिद्ध्याउने लक्ष्य छ ।

अर्को मुहान कालीमुडाको पानी शुद्धीकरण गर्न अहिलेसम्म ट्रिटमेण्ट प्लान्ट निर्माण अघि बढेको छैन । संस्थानका अनुसार भोटीखोला र कालीमुडाको पानी शुद्ध नहुँदासम्म सिधै धाराको पानी पिउन मिल्दैन । ‘सकेसम्म शुद्ध पानी उपभोक्तालाई दिने पक्षमा हामी छौँ । कालीमुडाको शुद्धीकरण परियोजना जग्गा नहुँदा अघि बढ्न सकेन,’ संस्थान पोखराका सव–इन्जिनियर लक्ष्मण पाण्डेले भने ।

उनका अनुसार जग्गा प्राप्ति भयो भने काम अघि बढ्छ । त्यसपछि पोखरेलीले पानीमा समस्या भोग्नुनपर्ने उनले प्रस्ट पारे ।

जापानी सहयोग नियोग (जाइका) ले सन् २०१४ सम्म सम्पन्न गर्ने भनेर सन् २००४ सालमा डिजाइन बनाएको थियो । तर लक्ष्यभन्दा १० वर्षपछि मात्रै योजना पूरा भएको छ । २०१९ मा सुरु गरिएको निर्माण परियोजना कोरोना सङ्क्रमण लगायत विभिन्न कारणले सम्झौता गरिएको भन्दा करिब २ वर्षपछि पूरा भएको हो ।

२०७३ फागुन ४ मा जाइका र नेपाल सरकारबिच आयोजनाका लागि अनुदान सम्झौता भएकोमा निर्माणको ठेक्का जापानकै हाज्मा एन्ड कर्पोरेसनले पाएको थियो । २०८० पुस १५ मा आयोजनाको म्याद सकिए पछि २०८१ भदौ १५ सम्मका लागि म्याद थप गरिएको थियो ।

dhara_NaxoD4azzW

मर्दीको पानी शुद्ध बनाउन मुहान नजिकै ४ करोड २० लाख लिटर क्षमताका ४ वटा बालुवा हटाउने ट्याङ्की (ग्रीट च्याम्बर) र ४ वटा पानी थिग्य्राउने ट्याङ्की (सेडिमेन्टेसन टंकी) निर्माण गरिएको छ । मुहानबाट लगिएको पानी पोखरा–१९, पुरुन्चौरमा निर्माण भएको पानी छान्ने फिल्टरमा खसालिन्छ । यहाँ ४ करोड १० लाख लिटर क्षमताका ६ वटा फिल्टर र ९ सय ३० घनमिटरका २ वटा सफा पानी संकलन ट्याङ्की निर्माण गरिएको छ । सँगै क्लोरिनेसन प्लान्ट पनि बनाइएको छ ।

जाइकाले नै पर्स्याङ, फूलबारी र कोलपाटनमा २०–२० लाख क्षमताका ओभरहेड ट्याङ्की बनाएको छ ।

कोलपाटनको ट्याङ्कीचाहिँ सञ्चालनमा आएको छैन । १४ करोडमा निर्माण भएको ट्याङ्की अन्तर्राष्ट्रिय विमानस्थलको असुरक्षाका कारण हटाउनुपर्ने भएको छ । यद्यपि निर्णय भइसकेको छैन ।

पुरुञ्चौरबाट प्रशोधन भएको पानी २० इन्चको पाइपबाट विन्ध्यवासिनी र १६ इन्चको पाइपबाट अमला बिसौनीमा रहेको ट्याङ्कीमा खसालिन्छ । संस्थानको कार्यक्षेत्रमा पर्ने १ देखि १९ नम्बर वडामा दैनिक ८ करोड ७० लाख लिटर पानी माग रहेको संस्थानले जनाएको छ । ४.२ प्रतिशत वार्षिक जनसंख्या बृद्धि रहेको पोखरामा पानीको स्रोत भने बढेको छैन ।

आयोजनाले पानी वितरण गर्न मुख्य र भित्री सडकमा १ सय ११ किलोमिटर लामो पाइपलाइन विस्तार गरेको छ । जाइकाले ट्रान्समिसन पाइपलाइन १० किलोमिटर, मुख्य वितरण लाइन ३६ किलोमिटर र सहायक वितरण लाइन ५२ किलोमिटर पाइप बिछ्याएको हो ।

बाँकी १२ किलोमिटर मुख्य वितरण लाइनमा संस्थानले पाइप बिछ्याएको हो । यद्यपि पानी शुद्धीकरण प्लान्ट सञ्चालनमा आएसँगै मर्दीबाट आउने पानीमा दैनिक ५० लाख लिटर उत्पादन घटेको छ । जसका कारण झन्डै ५ हजार घरधुरी प्रभावित हुने संस्थानले जनाएको छ ।

संस्थानले वितरण गर्ने पानी शुद्ध नभएपछि पोखरामा जार र बोतलको पानी बढी खपत हुन्छ । संस्थानको लाइनमा नियमित पानी नआएपछि ट्याङ्करबाट पानी खरिद गरेर काम चलाउन बाध्य छन् पोखरेलीहरू ।

‘घरमा खानेपानीको लाइन छ तर हप्ता दिनसम्म पानी झर्दैन,’ पोखरा–८ का उपभोक्ता लालबहादुर भण्डारीले भने, ‘संस्थानलाई पनि पैसा तिर्नुपर्ने, पानी नआएपछि ट्याङ्कर पनि बोलाउनुपर्ने अवस्था छ ।’

नियमित आपूर्तिका लागि उपभोक्ताहरूले संस्थानको ध्यानाकर्षण दैनिक गराउँछन् । संस्थानको पानी प्रयोग गर्ने साढे ३ लाख उपभोक्ता छन् । पानी बेचेर संस्थानले वर्षमा ३० करोडभन्दा बढी कमाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप