बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय
आईसीसी च्याम्पियन्स ट्रफी

जित्नै पर्ने दबाबबिच आपसमा भिड्दै इङ्ल्यान्ड र अफगानिस्तान

बुधबार, १४ फागुन २०८१, १० : २२
बुधबार, १४ फागुन २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करणमा बुधबार इङ्ल्यान्डले अफगानिस्तानको सामना गर्दैछ । अफगानिस्तान र इङ्ल्यान्डबिचको खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा नेपाली समय अनुसार, दिउँसो १४ः४५ बजे सुरु हुनेछ । 

उक्त खेलमा यी दुवै टोली जित्नै पर्ने दबाबमा रहने छन् । उक्त खेलमा पराजित हुने टोली उपाधि यात्राबाट बाहिरिने छ । यसअघि यी दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । समूह ‘बी’ तालिकामा दुई खेल खेलेको दक्षिण अफ्रिका तीन अंकसहित पहिलो स्थानमा छ । 

दुई खेलबाट समान तीन अंक बटुलेको अस्ट्रेलिया दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच मंगलबार खेलिने तय भएको खेल वर्षाका कारण रद्द भएपछि यी दुवै टोलीले एक–एक अंक बाँडेका थिए । एक–एक खेल खेलेका इङ्ल्यान्ड र अफगानिस्तानले भने अंक बटुल्न सकेका छैनन् ।

अफगानिस्तानको टोली आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग एक सय सात रनले पराजित भएको थियो । इङ्ल्यान्डको टोली भने आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको थियो । 

त्यसैले बुधबार खेलिने खेलमा इङ्ल्यान्ड र अफगानिस्तान दुबैसँग जितको विकल्प छैन । उक्त खेलमा विजयी हुने टोलीले भने सेमिफाइनल प्रवेशको सम्भावना कायमै राख्नेछ । आईसीसीद्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा इङ्ल्यान्ड सातौँ र अफगानिस्तान आठौँ स्थानमा छन् । 

च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्ड

इङ्ल्यान्डले आईसीसी च्याम्पियन्स ट्रफीमा पहिलो संस्करणदेखि नै लगातार रुपमा सहभागिता जनाउँदै आएको छ । त्यसैले च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डको यो नवौँ सहभागिता हो । च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्ड सबैभन्दा अभागी टोली पनि हो । 

इङ्ल्यान्डले सन् २०१३ मा वेल्ससँग मिलेर फेरि च्याम्पियन्स ट्रफीको आयोजना गरेको थियो । त्यतिबेला पनि इङ्ल्यान्ड प्रतियोगिताको फाइनलसम्म पुग्न सफल भएको थियो । तर, यसपटक पनि इङ्ल्यान्ड घरेलु मैदानमा उपाधिबाट विमुख हुन पुग्यो ।

पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि इङ्ल्यान्डले हालसम्म उपाधिको स्वाद चाख्न पाएको छैन । इङ्ल्यान्डले हालसम्म तीनपटक च्याम्पियन्स ट्रफीको सफल आयोजना गरिसकेको छ । तर, जतिसुकै प्रयास गरे पनि फाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।

इङ्ल्यान्डले सबैभन्दा पहिले सन् २००४ मा च्याम्पियन्स ट्रफी आयोजना गरेको थियो । च्याम्पियन्स ट्रफीको यो चौथो संस्करण थियो । त्यतिबेला इङ्ल्यान्ड प्रतियोगिताको फाइनलमा पनि पुगेको थियो । तर, फाइनलमा वेस्ट इन्डिजसँग दुई विकेटले पराजित भएपछि इङ्ल्यान्ड उपाधिबाट विमुख भयो ।

त्यसपछि इङ्ल्यान्डले सन् २०१३ मा वेल्ससँग मिलेर फेरि च्याम्पियन्स ट्रफीको आयोजना गरेको थियो । त्यतिबेला पनि इङ्ल्यान्ड प्रतियोगिताको फाइनलसम्म पुग्न सफल भएको थियो । तर, यसपटक पनि इङ्ल्यान्ड घरेलु मैदानमा उपाधिबाट विमुख हुन पुग्यो ।

प्रतियोगिताको सातौँ संस्करणको फाइनलमा इङ्ल्यान्डको टोली भारतसँग केवल पाँच रनले पराजित भएको थियो । त्यसपछि च्याम्पियन्स ट्रफीको आठौँ संस्करण पनि इङ्ल्यान्ड र वेल्सले नै संयुक्त रुपमा आयोजना गरेका थिए ।

यसपटक पनि इङ्ल्यान्ड उपाधिसम्म पुग्न सकेन । च्याम्पियन्स ट्रफीको यो संस्करणमा इङ्ल्यान्डको टोली सेमिफाइनलमै पराजित भएको थियो । सेमिफाइनलमा इङ्ल्यान्डलाई आठ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको थियो ।

च्याम्पियन्स ट्रफीमा अफगानिस्तान 

आईसीसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानको यो पहिलो सहभागिता हो । त्यसैले च्याम्पियन्स ट्रफीको इतिहासमा अफगानिस्तान सबैभन्दा कान्छो राष्ट्र पनि हो । यसपटक च्याम्पियन्स ट्रफीमा सहभागी हुने टोलीहरुको टुंगो लगाउन सन् २०२३ को एकदिवसीय विश्वकपलाई आधार बनाइएको थियो ।

सन् २०२३ को एकदिवसीय विश्वकपमा माथिल्लो आठ स्थानमा रहेका टोलीले च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाएका हुन् । उक्त विश्वकपको सेमिफाइनलमा पुग्ने चार टोली भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण अफ्रिका स्वतः च्याम्पियन्स ट्रफीमा छनोट भएका थिए ।

पाकिस्तान सन् २०२३ को विश्वकपमा अंक तालिकाको पाँचौँ स्थानमा थियो । उक्त विश्वकपमा अफगानिस्तान छैटौँ, इङ्ल्यान्ड सातौँ र बंगलादेश आठौँ भएका थिए । त्यसैले यी तीन टोलीले पनि च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाए । यसरी अफगानिस्तानले पहिलो पटक प्रतियोगितामा छनोट भयो ।

च्याम्पियन्स ट्रफीमा पहिलो भिडन्त

अफगानिस्तान र इङ्ल्यान्डले च्याम्पियन्स ट्रफीमा पहिलो पटक आपसमा भिडन्त गर्न लागेका हुन् । इङ्ल्यान्डको नवौँ सहभागिता भए पनि च्याम्पियन्स ट्रफीमा अफगानिस्तानको यो नै पहिलो सहभागिता भएकाले यी दुई टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा चौथो भिडन्त

इङ्ल्यान्ड र अफगानिस्तान एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो पटक आपसमा भिड्न लागेका हुन् । यी दुई टोली यसअघि तीनपटक एकदिवसीय अन्तर्राष्ट्रियमा भिडिसकेका छन् । यसअघि, तीनैपटक यी दुई टोलीबिच विश्वकपमा भिडन्त भएको थियो ।

सन् २०१५ मा खेलिएको एकदिवसीय विश्वकपमा पहिलो पटक यी दुई टोलीबिच खेल भएको थियो । त्यो खेलमा इङ्ल्यान्डले अफगानिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा नौ विकेटले हराएको थियो । 

यसैगरी, सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि यी दुई टोलीबिच खेल भएको थियो । उक्त खेलमा इङ्ल्यान्डले अफगानिस्तानलाई एक सय ५० रनको फराकिलो अन्तरले हराएको थियो । त्यसपछि सन् २०२३ को एकदिवसीय विश्वकपमा तेस्रो पटक यी दुई टोली आपसमा भिडेका थिए । उक्त खेलमा भने अफगानिस्तानले इङ्ल्यान्डले ६९ रनले हराएको थियो । 

तीब्रगतिका बलर कार्सको अनुपस्थिति

इङ्ल्यान्डका प्रभावशाली बलर ब्राइडन कार्स च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन् । बुधबार खेलिने अफगानिस्तानविरुद्धको खेलमा इङ्ल्यान्डका लागि यो दुःखद पक्ष हो । २९ वर्षीय ब्राइडन कार्स केवल एक खेल खेल्दै जारी च्याम्पियन्स ट्रफीबाट बाहिरिएका हुन् ।

अस्ट्रेलियाविरुद्धको खेलमा उनी टोलीमा थिए । त्यो खेलमा उनले एक विकेट लिएका थिए भने आठ रन पनि बनाएका थिए । ब्राइडन कार्स खुट्टाको औंलामा गम्भीर चोट लागेका कारण प्रतियोगिताबाट बाहिरिएका हुन् । 

अस्ट्रेलियाविरुद्धको खेलका क्रममा उनको औंलामा चोट लागेको थियो । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले उनको स्थानमा लेग स्पिनर रेहान अहमदलाई टोलीमा समावेश गरेको छ । रेहान अहमद अझै पाकिस्तान पुगिसकेका छैनन् । 

लयमा छन् बेन डकेट

पछिल्लो समय इङ्ल्यान्डका ब्याट्सम्यान बेन डकेट लयमा छन् । उनले अस्ट्रेलियाविरुद्धको पहिलो खेलमा शतक पनि बनाएका थिए । उक्त खेलमा डकेटले टोलीका लागि एक सय ६५ रनको योगदान गरेका थिए । उनले एक सय ४३ बलको सामना गरी तीन छक्का र १७ चौका पनि हिर्काएका थिए । 

बुधबार खेलिने अफगानिस्तानविरुद्धको खेलमा पनि इङ्ल्यान्डले ओपनर ब्याट्सम्यान डकेटबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । बेन डकेट यो वर्ष इङ्ल्यान्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले यो वर्ष चार खेलमा कुल दुई सय ९६ रन बनाएका छन् । 

अस्ट्रेलियाविरुद्धको खेलमा अनुभवी ब्याट्सम्यान जो रुटले पनि ६८ रन बनाएका थिए । बलिङतर्फ स्पिनर आदिल रशिदले सबैभन्दा बढी विकेट लिएका छन् । उनले यो वर्ष चार एकदिवसीय खेल्दै कुल आठ विकेट लिएका छन् । अघिल्लो खेलमा पनि उनले एक विकेट हात पारेका थिए ।

अफगानिस्तानलाई रहमत शाहमाथि विश्वास

यो वर्ष खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रहमत शाह अफगानिस्तानका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन् । रहमत शाहले दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि ९० रन बनाएका थिए । उक्त खेलमा उनले ९२ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए ।

यसैगरी, अनुभवी खेलाडी मोहम्मद नाबी यो वर्ष अफगानिस्तानका लागि सबैभन्दा बढी विकेट लिने बलर हुन् । उनले जारी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाविरुद्धको पहिलो खेलमा पनि दुई विकेट लिएका थिए । 

ब्याट्सम्यानलाई माया गर्ने पिच

इङ्ल्यान्ड र अफगानिस्तानबिचको खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा खेलिँदै छ । गद्दाफी स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई मायाँ गर्ने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा बढी रन बन्ने गरेको छ । 

यो स्टेडियममा कुनै पनि टोलीले भेट्टाएको सबैभन्दा ठुलो विजयलक्ष्य भने चार विकेट गुमाएर तीन सय ४९ रन हो । सन् २०२२ मा पाकिस्तानले अस्ट्रेलियाविरुद्ध उक्त विजयलक्ष्य पुरा गरेको थियो ।

यो स्टेडियममा हालसम्म कुल ७० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले ३५ खेल जितेका छन् । यो स्टेडियममा जवाफी ब्याटिङ गर्ने टोलीले भने ३३ खेलमा जित हात पारेका छन् । एक खेल बराबरीमा र एक खेल अनिर्णित रुपमा सकिएको छ । 

यो स्टेडियममा बनेको सबैभन्दा ठुलो स्कोर भने तीन विकेट गुमाएर तीन सय ७५ रन हो । सन् २०१५ मा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रियमा पाकिस्तानले जिम्बाबेविरुद्ध उक्त स्कोर बनाएको थियो । 

यो स्टेडियममा कुनै पनि टोलीले भेट्टाएको सबैभन्दा ठुलो विजयलक्ष्य भने चार विकेट गुमाएर तीन सय ४९ रन हो । सन् २०२२ मा पाकिस्तानले अस्ट्रेलियाविरुद्ध उक्त विजयलक्ष्य पुरा गरेको थियो ।

छैन वर्षाको सम्भावना

अफगानिस्तान र इङ्ल्यान्डबिच खेल हुने दिन बुधबार लाहोरमा वर्षाको सम्भावना नरहेको समाचारमा जनाइएको छ । लाहोरको आकाशमा हल्का बादल देखिने तर, वर्षाको भने सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लाहोरको तापक्रम १४ देखि २५ डिग्री सेल्सियसको बिचमा रहने छ । हावाको गति भने १५ किलोमिटर प्रति घण्टा रहने समाचारमा जनाइएको छ ।

इङ्ल्यान्ड र अफगानिस्तानको सम्भावित टोली 

इङ्ल्यान्ड : जस बटलर (कप्तान), फिल साल्ट (विकेटकिपर), बेन डकेट, जामी स्मिथ, जो रुट, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, जामी ओभर्टन, जोफ्रा आर्चर, आदिल रशिद र मार्क उड । 

अफगानिस्तान : हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जदरान, रहमानुल्लाह गुरबाज, सेदिकुल्लाह अटल, रहमत शाह, अजमतुल्लाह ओमरजाई, मोहम्मद नाबी, गुलबदिन नायब, राशिद खान, नुर अहमद र फजल–हक फारुकी ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप