महाशिवरात्रिमा किन गर्ने शिवको पूजा ?

काठमाडौँ । हिन्दुहरूको प्रमुख चाडहरूमध्ये महाशिवरात्रि पनि एक हो । फागुन कृष्ण चतुर्दशीका दिन अर्थात आजको दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा पुराणहरूमा वर्णन गरिएको छ । विशेष गरी शिवरात्रि भगवान् शिवको प्रमुख पर्व हो ।
व्रतोत्सवहरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरू शुद्ध भई शिव मन्दिरमा पूजा, अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । यस पर्वका दिन उपवास गरी 'ऊँ नमः शिवाय' मन्त्र जप्ने गरेमा पृथ्वीमा सबै कुराले सम्पन्न भई मरेपछि यमलोक जानु नपर्ने र मोक्ष प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको को दिनको रुममा मनाइन्छ ।
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ भनी शास्त्रमा लेखिएको छ । शिवरात्रि व्रतकालमा भगवान् शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा ईशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भव मूर्तिलाई महले स्नान गराइन्छ ।
शिवमहापुराणको कोटिरुद्रसंहितामा शिवरात्रिको महत्त्व बताउँदै भनिएको छ ।
शिवरात्रिव्रतादन्यन्नास्ति नृणा शितावहम् ।
एतत् व्रत तु सर्वेषा धर्मसाधनमुत्तमम् ।।
निष्कायानां सकामानां सर्वेषाञ्च नृणां तथा ।
वर्णानामाश्रमाणाञ्च स्त्रीवालानां तथा हरे ! ।।
दासानां दासिकानाञ्च देवादीना तथैव च ।
शरीरिणाञ्च सर्वेषा हितमेतद् व्रतं वरम् ।। (शिवम्पुराण कोटिरुद्रसंहिता ३८/२१–२३)
अर्थात– मानिसहरूको हित गर्ने शिवरात्रिसमान अन्य कुनै व्रत छैन । यसबाट मानिसहरूले धर्म प्राप्त गर्दछन् । निष्काम कर्म गर्ने अथवा सकाम कर्म गर्ने सबै प्रकारका भक्तहरू यसबाट लाभान्वित हुन्छन् ।
ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र यी चारवर्ण एवं ब्रहचर्य, गार्हस्थ्य, वानप्रस्थ र संन्यास यी चार आश्रमका मानिसहरूले श्रद्धापूर्वक शिवरात्रिव्रत सम्पन्न गरेमा उनीहरू वर्ण र आश्रमसम्मत आ–आफ्नो उद्देश्य सफल तुल्याउन समर्थ हुन्छन् । यो व्रत नरनारी, बालक, बालिका र सबै वर्णका मानिसहरू सबैले श्रद्धापूर्वक गर्नुपर्दछ । यस व्रतबाट विभिन्न प्राणीहरू, मानव जाती, देवता, पितृ, ऋषि–महर्षि सबैको कल्याण हुन्छ ।
आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्ताबेजमा उल्लेख गरिएको श्लेष्मान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शीतल छाया परेको भूमि अनि हिन्दुहरूको आस्थाको भूमि । आजको दिन पशुपतिनाथ, खोटाङको हलेसी र शिव मन्दिरहरूमा दर्शनको लागी विशेष घुइँचो हुने र मेला लाग्ने गर्दछ । पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रूपमा व्याख्या गर्न सकिन्छ । साधुहरूको व्यापक उपस्थिति रहन्छ । विभिन्न कुरामा सिद्धता हासिल गरेका अनि हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि संन्यास जीवन व्यतीत गरिरहेका साधुहरू भारत अनि नेपालका विभिन्न भागहरूबाट पशुपतिनाथ दर्शन र भ्रमणका लागी आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ
-
लैङ्गिक अल्पसङ्ख्यकको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः मन्त्री सुडी
-
खगेन्द्र र वर्षाको फिल्म ‘हर्ष’ को शुभमूहूर्त
-
मोटोपनले वार्षिक तीन लाख मानिसको मृत्यु, कसरी बच्ने त ?
-
राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन
-
केही घण्टाका लागि किन काठमाडौँ आए प्रचण्ड ?