हिमालको फेदबाट सुशासन सिकाइरहेको नार्पाभूमि

पोखरा । न सडक सञ्जाल, न अन्य विकासका पूर्वाधार । २०७८ को जनगणना अनुसार जम्मा ४९६ जनसङ्ख्या छ ।
सदरमुकाम चामेबाट लगभग डेढ दिन हिँडेपछि पुगिन्छ मनाङको नार्पभूमि गाउँपालिका । दिनभरि घाम लागेन भने गाउँपालिका कार्यालय लगभग ठप्प जस्तै हुन्छ । किनकि सोलारबाट बिजुलीको काम हुन्छ ।
भौगोलिक रूपमा विकटताका बिच नार्पाभूमिले सुशासनमा भने राम्रो नतिजा निकालेको छ । भर्खरै सार्वजनिक भएको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा नार्पाभूमिले ७१ अंक प्राप्त गरेको छ । गाउँपालिकाले दिएको अंकमा जिल्ला समन्वय समितिले मूल्याङ्कन गरेर नयाँ अंक दिइन्छ । जिससले दिने अंकमा समेत नार्पाभूमिले यस्तो नतिजा निकालेको हो ।
‘विकासका पूर्वाधार लगभग छैन भन्दा पनि हुन्छ । यति विकट ठाउँमा दिनरात नागरिकको सेवामा जुटेका छौँ हामी,’ प्रमुख प्रशासकीय अधिकृत सुशील लम्साल भन्छन्, ‘नार्पाभूमिले पनि सुशासनको क्षेत्रमा यस्तो राम्रो नतिजा ल्यायो भन्दा खुसी लागेको छ ।’ गत आर्थिक वर्षमा भएको कामका आधारमा वित्तीय जोखिम मूल्याङ्कन गरिन्छ ।
यसअघि कार्यसम्पादन मूल्याङ्कनमा समेत हिमाली जिल्लामा सर्वाधिक ७३ अंक पाएको थियो । आन्तरिक आम्दानी, विभाज्य कोषमा दाखिला भएको रकम, बेरुजु, विनियोजन अनुसारको खर्च, आवधिक योजना निर्माण लगायत क्षेत्रमा गरिएको प्रगति हेरेर कार्यसम्पादन मूल्याङ्कनमा अंक दिइन्छ ।
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण र राजश्व व्यवस्थापनलाई आधार मानेर वित्तीय जोखिम मूल्याङ्कन गरिन्छ ।
‘सुशासनको काम गर्न पालिकाको भूगोल र जनसङ्ख्याले अर्थ राख्दैन रहेछ । कर्मचारी र जनप्रतिनिधि जिम्मेवार र जबाफदेही भए जनतालाई सेवा दिन सकिन्छ,’ लम्साल अघि भन्छन्, ‘पहिला वर्षमा २–३ महिना मुस्किलले कार्यालय पुग्ने कर्मचारीहरू अहिले लगभग पूरै समय कार्यालयमै हुन्छन् । पालिकाको स्रोत बढाउन प्रयास पनि गरिरहेका छौँ ।’
नार्पाभूमिले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ८६ अंक पाएको छ । यस्तै, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ८३, लेखांकन तथा प्रतिवेदनमा ८८ पाएको छ । अनुगमनमा ५९ र राजश्वमा सबैभन्दा कम २६ प्रतिशत अंक प्राप्त गरेको छ । पालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा वर्षभरिको मेहनतबाट उत्कृष्ट फल निस्किएको भन्दै खुसी व्यक्त गर्छन् ।
‘तल्लो क्षेत्रमा जस्तो राजश्व उठ्ने ठाउँ छैन । न होटल व्यवसाय छ,’ उनले अघि थपे, ‘तैपनि जडीबुटी लगायत पर्यटनबाट अलिअलि राजश्व उठाएका छौँ । जे होस् आफ्नो गच्छेअनुसारको काम हामीले गरिरहेका छौँ ।’ आगामी वर्ष अझै नतिजा बढाउने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत
-
एनआरएनए एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक (कार्यतालिकासहित)
-
१० बजे १० समाचार : पहलगामको बाछिटा नेपालसम्म, रघुजी इन्-कान्छाराम आउट
-
जसपा नेपालले ‘कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा’ विषयक गोष्ठी गर्ने
-
जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु
-
पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने