किट विश्वविद्यालय फर्किन मानेनन् नेपाली विद्यार्थी, विकल्प खोज्दै सरकार

काठमाडौँ । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीमाथि दुर्व्यवहार भयो ।
नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि होस्टेलमा बस्दै आएका नेपाली विद्यार्थीमाथि कुटपिट भएको थियो । कुटपिट हुनुका साथै उनीहरू तत्काल होस्टेल र विश्वविद्यालय खाली गर्न उर्दी जारी भयो ।
त्यसपछि नेपाली विद्यार्थी हतार हतारमा विश्वविद्यालय खाली गर्न बाध्य भए । स्थानीय प्रहरी प्रशासन लगाएर नेपाली विद्यार्थीलाई गाडीमा कोचेर बस स्टेसनसम्म छोडियो ।
चरम दुर्व्यवहार भोगेका नेपाली विद्यार्थी अहिले विश्वविद्यालय फर्किने मनसायमा छैनन् । तर, विश्वविद्यालय, ओडिसा प्रदेश सरकार र भारत सरकारले समेत विद्यार्थीको सुरक्षा प्रत्याभूति दिलाउने प्रतिबद्धता पटक–पटक जाहेर गर्दै आएका छन् ।
फेब्रुअरी १६ मा प्रकृति होस्टेलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । त्यसपछि नेपालीसँगै भारतीय विद्यार्थीले समेत धर्ना दिए । धर्नामा बसेका नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट भयो । उनीहरूलाई रातारात होस्टेल खाली गर्न लगाइयो । त्यो पीडा र त्रासदी भोगेका नेपाली विद्यार्थी सहजै विश्वविद्यालय फर्किने अवस्थामा छैनन् ।
त्यस पछाडिका विविध कारण छन् । पहिलो कारण, विद्यार्थीहरूमा पछि फेल गराइदिने डर सबैभन्दा बढी छ । एक विद्यार्थीका अनुसार अहिले पढ्न बोलाउने र आन्दोलन गरेको रिस पोख्न परीक्षामा फेल गराउँछ भन्ने डर छ ।
अर्को भनेको, तत्काल केही नगरे पनि भविष्यमा विश्वविद्यालयका अधिकारीहरूले आफूहरूसँग रिसिइबी साध्न सक्ने डर विद्यार्थीमा छ ।
त्यस्तै विश्वविद्यालयले विद्यार्थी पासआउट भएपछि पनि प्रमाणपत्र नदिने, विद्यार्थीहरूलाई स–साना विषयमा समेत पेल्न सक्ने डर छ । जसले गर्दा नेपाल फर्किसकेका विद्यार्थी तत्काल उता फर्किने मनसायमा देखिँदैनन् ।
‘अहिले केही हुँदैन भनेर बोलाएर भोलि अनेक बहाना बनाएर कारबाही गर्ने, रेस्टिकेट गर्ने, परीक्षामा फेल गराउने डर छ । यत्रो आन्दाेलन र विश्वविद्यालयको बदमान गराएको भनेर हामीसँग कुनै बेला पनि प्रतिशोध साँध्न सक्छन् । त्यस्तो डरैडरमा हामी कसरी पढ्न जाने ?’ एक नेपाली विद्यार्थीले भने ।
फर्किएका अर्का विद्यार्थीका अनुसार हाल एक सय हाराहारीमा नेपाली विद्यार्थी पठनपाठनमा फर्किएका छन् । त्यस्तै ३ सयभन्दा बढीको सङ्ख्यामा नेपाली विद्यार्थी नेपाल फर्किएका छन् । बाँकी भारतका विभिन्न स्थानमा बसिरहेका र कोही नेपाल आउने तयारीमा छन् । उनले रातोपाटीसँग भने, ‘अहिले एक सयदेखि एक सय १० जना होस्टेलमा छन् । विश्वविद्यालयमा पढाइ त भइरहेको छ । तर, धेरै नेपाली गएका छैनन् ।’
विश्वविद्यालयमा अहिले आन्दोलन रोकिएर पठनपाठन सुरु भइसकेको छ । विश्वविद्यालयका अधिकारीले नेपाली विद्यार्थीलाई फर्केर पठनपाठनमा सहभागी हुन अनुरोध गर्दै आएका छन् । तर, विद्यार्थीहरू भने ठुलो त्रासदीबाट बाँचेर आएकाले तत्काल फर्किने मनसायमा छैनन् ।
नेपालमै पढ्न पाउने व्यवस्था गरिँदै
विद्यार्थीहरू तत्काल फर्किने मनसायमा नदेखिएपछि सरकारले नेपालमै क्रेडिट ट्रान्सफर गर्ने विषयमा छलफल अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी, तिनका अभिभावक र सरोकारवाला निकायसँग यसबारे छलफल थालेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी निलकण्ठ ढकालले नेपालमै पढ्न दिने विषयमा छलफल भइरहेको बताए । नेपालका विश्वविद्यालयले क्रेडिट आवर ट्रान्सफरको निर्णय गरेको जानकारीमा आएको बताए ।
‘सबैभन्दा पहिला विद्यार्थी क्रेडिट आवर ट्रान्सफरका लागि तयार हुन्छन् कि हुँदैनन् ? उनीहरू तयार भएपछि ट्रान्सफर गराउने भन्ने हो । विश्वविद्यालय, अभिभावक तथा सरोकारवाला निकायबिच छलफलचाहिँ चलिरहेको छ,’ ढकालले भने ।
पूर्वाञ्चल विश्वविद्यालयले क्रेडिट ट्रान्सफरको सुविधा दिने निर्णय गरेको छ । रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै उच्च शिक्षाका लागि विभिन्न देशमा गएर विशेष कारण अध्ययन पूरा नसकी फर्किनुपरेका विद्यार्थीहरूलाई क्रेडिट ट्रान्सर्फमर गरिदिने जनाएको हो ।
स्वदेशमै पुनः अध्ययनलाई निरन्तरता दिई पूरा गर्न चाहे विश्वविद्यालयले अध्यापन गराइरहेका विभिन्न शैक्षिक कार्यक्रमसँग मिल्ने विषयको क्रेडिट ट्रान्सफर गरिदिने भनेको हो । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत आंगिक तथा सम्बन्धनप्राप्त स्कुल/क्याम्पस/कलेजमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा प्राज्ञिक परिषद्ले निर्धारण गर्ने मापदण्डबमोजिम क्रेडिट ट्रान्सफर गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने निर्णय भएको हो ।
त्यस्तै काठमाडौँ विश्वविद्यालयले समेत क्रेडिट आवर ट्रान्सफरका विषयमा छलफल गर्न ओपन हाउस छलफल आयोजना गरेको छ । फागुन १६ गते यस विषयमा छलफल हुने र त्यस्ता विद्यार्थीहरूलाई विश्वविद्यालयमा आफ्नो अध्ययन पूरा गर्न मौका दिने विषयमा निर्णय गरिने विश्वविद्यालयले जनाएको छ ।
शिक्षा मन्त्रालय हेल्प डेस्कका उपसचिव राजु श्रेष्ठले यस घटनामा अहिलेसम्म एउटा मात्रै गुनासो आएको बताए । एक जना अभिभावकले केआईआईटीको फरक–फरक होस्टलका ब्लकमा बस्ने विद्यार्थीलाई एउटैमा बस्ने व्यवस्था गरिदिन आग्रह गरेको उनले बताए । उक्त गुनासो परराष्ट्र मन्त्रालयमा पठाइएको उनको भनाइ छ ।
अहिले तत्कालका लागि सबै नेपाली विद्यार्थीलाई एउटै होस्टेलमा व्यवस्था मिलाउन भनिएको बताए ।
हाल एक हजार १६० जना नेपाली विद्यार्थी उक्त विश्वविद्यालयमा अध्ययनरत छन् ।
केआईआईटीमा भएको घटनाका विषयमा प्रधानमन्त्री तहमा नै चासो व्यक्त हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मृतक प्रकृतिका बुबासँग टेलिफोनमा कुराकानी गरेका छन् । कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले प्रकृतिका आमा–बुवालाई सान्त्वना दिँदै सम्हालिन आग्रह गरेका छन् ।
प्रकृतिका बुवा सुनिल लम्सालले क्याम्पसतिरको स्थितिबारे आफूलाई जानकारी नभएको र प्रकृतिको मृत्युको अनुसन्धान भइरहेको जानकारी आफूले पाएको बताएका थिए ।
प्रकृतिको मृत्युको अनुसन्धान कहाँ पुग्यो ?
भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार प्रकृतिको पोस्टमार्टमको रिपोर्ट आइसकेको छ । तर, त्यसमा के छ भन्ने विषयमा कुनै विवरण उल्लेख गरेका छैनन् । प्रधानमन्त्रीसँगको टेलिफोन सम्पर्कमा प्रकृतिका बुबाले पोस्टमार्टम रिपोर्ट आइसकेको र फरेन्सिक जाँचको प्रगति थाहा भने नभएको बताएका थिए ।
उनको मृत्यु प्रकरणको अनुसन्धान गरिरहेको भुवनेश्वर प्रहरीले मृतकको पोस्टमार्टम रिपोर्ट आएको जनाएको छ । मृतकका परिवारको जाहेरीका आधारमा पक्राउ परेका अद्विक श्रीवास्तवालाई पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै मृतक प्रकृति र श्रीवास्तवाका दुवै जनाको फोन, ल्यापटपलगायत विद्युतीय उपकरणसमेत परीक्षणका लागि पठाइएको छ । जसको रिपोर्ट आइनसकेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
विश्वविद्यालयले गल्ती मान्यो, विद्यार्थीले माफी दिएनन् :
प्रकृतिको मृत्युपछि आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीमाथि विश्वविद्यालयको तर्फबाट दमन भयो । विद्यार्थीहरूले बताएअनुसार होस्टेल तथा कलेजभन्दा बाहिरबाट बाउन्सर, जिम ट्रेनरहरू बोलाएर होस्टेलमा रहेका नेपाली छात्रहरूमाथि कुटपिट गरिएको थियो । उक्त घटनाको भोलिपल्ट फेब्रअरी १७ तारिखको बिहान विश्वविद्यालयले एक नोटिस जारी गर्दै तत्काल विश्वविद्यालय छोड्न भन्यो । त्यसपपछि यो विषय झन् पेचिलो बन्दै गयो ।
चौतर्फी विरोध र दबाबपछि सोही दिन साँझ विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई फिर्ता बोलायो । तर, त्यो समय गरिएको अमानवीय व्यवहारपछि विद्यार्थीमा देखिएका त्रास कम हुन सकेन र तत्काल जाने मनसायमा छैनन् ।
विश्वविद्यालयको संस्थापक अच्यूत सामन्तले नै माफी मागेर विद्यार्थीहरूलाई फर्केर पठनपाठनमा लाग्न अनुरोध गरे ।
केआईआईटीका अतिरिक्त रजिस्ट्रार डाक्टर श्यामसुन्दर बेहुराले एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा विश्वविद्यालयको तर्फबाट गल्ती भएको स्वीकार गरेका छन् । घटनापछि विश्वविद्यालयले अपनाउनुपर्ने प्रोटोकलहरू अनुसार नै प्रहरीलाई खबर गरेको दाबी गरे ।
घटनापछि प्रहरीले श्रीवास्तवालाई एयरपोर्टबाट नियन्त्रणमा लिएको थियो । विदेश उड्न लागेका बेला आफूहरूले नै ट्र्याक गरेर प्रहरीलाई खबर गरेको बेहुराको दाबी छ ।
घटनापछि अनुसन्धानमा आफूहरू सहयोग गर्न तयार रहेको बताउँदै विद्यार्थीहरूको मागअनुसार आफूहरूले सहयोग गरेको दाबी गरे । आन्दोलनमा रहेका विद्यार्थीहरूले मुख्य सडक बन्द गरेर आन्दोलनमा उत्रिएपछि प्रहरीले नै अवरोध हटाउन बल प्रयोग गरेको उनको भनाइ छ ।
आउने जाने क्रममा भएको सम्पूर्ण खर्च विश्वविद्यालयले नै बेहोर्ने उनको भनाइ छ । विद्यार्थीको सुरक्षा विश्वविद्यालयको उच्च प्राथमिकता राखिएकाले ढुक्क भएर आउनसमेत उनले अनुरोध गरेका छन् । विद्यार्थी नियमित कक्षा कोठामा आउने र पठनपाठनमा सहभागी भइरहेका उनले बताए ।
अहिले पनि ४० हजार विद्यार्थी अध्ययनरत रहेको बताउँदै प्रकृति मृत्यु प्रकरणले राम्रो पाठ सिकाएको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा