धमाधम बिरामी हुन थाले बालबालिका : विद्यालयमा टेन्सन, अस्पतालमा प्रेसर

काठमाडौँ । केही दिनयता काठमाडौँमा बालबालिकाहरू बिरामी हुने क्रम बढेको छ । चिकित्सकहरूका अनुसार बालबालिकामा उच्च ज्वरो आउने, बान्ता हुने, रिंगटा लाग्नेलगायतका विभिन्न शारीरिक समस्या देखिन थालेको छ ।
बालबालिकामा यस्तो समस्या देखिएसँगै पठनपाठन र शैक्षिक गतिविधि समेत केही प्रभावित भएको सम्बन्धित विद्यालयहरूले बताएका छन् ।
बालबालिकामा धमाधम स्वास्थ्य समस्या देखिएसँगै राजधानीका केही विद्यालयले अभिभावकलाई सूचना पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् भने चिकित्सकहरूले पनि मौसमी फ्लू, कोभिड–१९, वायु प्रदूषणलगायतका कारणले बालबालिका बढी प्रभावित भएको बताएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका भाइरोलोजिस्ट डा शेरबहादुर पुन अहिले विभिन्न कारणले बालबालिकाहरू बिरामी भइरहेको बताउँछन् । ‘हामीले यसमा दुई वटा कुरा हेर्ने गर्छौं । ज्वरो आउने, खोकी लाग्ने भए त सरुवा रोग भन्नलाई गाह्रो नै भएन’, उनले भने, ‘यसमा धेरै कारण हुनसक्छ ।’
पुनले अहिले फ्लूसँग सम्बन्धित बिरामी नै बढी देखिएको बताए । ‘फ्लुका बिरामी फैलिरहेका बाहेक रुघाखोकीलगायत चीनमा केही अघि देखिएको नयाँ भाइरस पनि होला, कोभिड पनि हुनसक्छ । जे होस्, मल्टिपल इन्फेक्सनको सम्भावना यथावतै छ’, उनले भने ।
साथसाथै अहिले बढिरहेको प्रदूषणका कारण पनि बिरामी बढ्ने अर्को कारक हुनसक्ने उनको भनाइ छ ।
पुनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ठुला उमेर समूहका बिरामीहरूको चाप बढेको बताए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष डीके ढुंगानाले पनि पछिल्लो समय विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा स्वास्थ्य समस्या केही बढेको आफूलाई जानकारी आएको बताए । ‘ज्वरो, रुघाखोकी, एकखालको अस्वस्थपन बच्चाहरूमा देखिएको साँचो हो’, उनले रातोपाटीसँग भने, ‘करिबकरिब एक सातायता विद्यार्थीहरू अलि बढी बिरामी भएका छन् ।’
यस्तो बिरामी बढिरहँदा आफूहरूले घरमै बसेर आराम गर्न या समयमै अस्पताल जान सुझाएको ढुंगानाको भनाइ छ । विद्यार्थी बिरामी हुँदा केही विद्यालयका आन्तरिक कार्यक्रम तलमाथि गरिएको जानकारी आए पनि औपचारिक रूपमा प्याब्सनले यसबारे केही निर्णय नगरेको उनले बताए ।
‘पानी नपरेको लामो समय भएको तथा वायु प्रदूषण पनि बढिरहेको अवस्था अहिले छ’, ढुंगानाले भने, ‘यही कारणले हो कि, विद्यालयको क्लासवाइज हेर्ने हो भने पनि ५/७ जनासम्म बिरामी भएको भेटिएको छ ।’
कान्ति बाल अस्पतालका प्रवक्ता डा सुमित अग्रवालले पनि बालबालिकाहरू बिरामी भएर आउने दर ह्वात्तै बढेको रातोपाटीलाई बताए । ‘पहिलेको हेरिकन अस्पतालमा पेसेन्ट बढेकै छ’, उनले भने, ‘धेरैजसोमा रुघाखोकी र श्वासप्रश्वाससँग सम्बन्धित समस्या नै पाइएको छ ।’
सामान्यतया विगत वर्षहरूमा फागुनदेखि बिरामीहरू केही बढ्ने गरे पनि यो वर्ष माघदेखि नै बिरामीको चाप बढेको उनको भनाइ छ ।
‘माघदेखि नै लोड बढेको बढेकै छ’, अग्रवालले भने । कतिपय बिरामी त गम्भीर अवस्थामा अस्पतालमा आउने गरेको उनको भनाइ छ । तर, भाइरल भएर आएकाको हकमा आफूहरूले पीसीआर टेस्ट नगर्ने भएकाले कुन खालको भाइरस हो भन्नेबारे भने यकिन नगरेको उनको भनाइ छ ।
बच्चामा मात्रै नभएर वयस्कहरूमा पनि भाइरल बढी देखिएको प्रवक्ता अग्रवालले जानकारी दिए ।
‘साथसाथै योपालि निमोनियाका बिरामीहरू पनि धेरै बढेका छन् । निमोनियका धेरैजसो बिरामी त आईसीयूमा पनि जान्छन् । समग्रमा हेर्दा निमोनियाका बिरामी धेरै बढेका छन्’, उनले भने ।
पछिल्ला दिन मेडिकल ओपीडीमा ३५० देखि ४०० को हाराहारीमा बिरामीहरू आइरहेको अग्रवालको भनाइ छ । जबकि अघिल्ला वर्षहरूको तथ्यांक हेर्ने हो भने साढे २ सयको हाराहारीमा मात्रै बिरामी आउने देखिएको उनले जानकारी दिए ।
अग्रवालले यही अनुपातमा बिरामी बढ्दै गएको खण्डमा गर्मी समयमा अवस्था भयावह हुनसक्ने चेतावनी दिए । उनले अहिले बालबालिकाहरू बिरामी भइरहेको अवस्थामा बढी सावधानी अपनाउनुपर्नेमा जोड दिए ।
संक्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, ह्याण्ड सेनिटाइजरको प्रयोग गर्नेजस्ता कार्य गर्नुपर्नेमा अग्रवालले जोड दिए । ‘यी कुरामा मान्छेले ध्यान दिएको पाइँदैन’, उनले भने ।
अग्रवालले विद्यालय उमेर समूहका बालबालिका प्रभावित भएको साँचो भएको उल्लेख गर्दै अस्वस्थ भएको खण्डमा घरमै राखेर बालबालिकाको हेरचाह गर्न अभिभावकलाई सुझाव दिए । ‘रुघा, खोकी ज्वरो आए विद्यालय पठाउन हुन्न । धेरैजसो अभिभावक काममा जान्छन् । आफू काममा जानुपर्ने भएकाले बालबालिका बिरामी भए पनि विद्यालय पठाइदिने प्रचलन छ तर यो पूर्णतः गलत हो’, उनले भने ।
संक्रमण भए पनि बिरामीलाई आइसोलेट गरेको खण्डमा फैलावट रोक्न मद्दत गर्ने अग्रवालको भनाइ छ ।
राजधानीको बालाजुस्थित बालबाटिका स्कुलका प्रधानाध्यापक राजेश खकुरेलले विद्यार्थीहरू बिरामी भएमा घरमै आराम गराउँदा अन्य बालबालिकालाई नसर्ने भएकाले आफूहरूले अभिभावकलाई बिरामी भएका बालबालिका विद्यालय नपठाउन सुझाव दिने गरेको बताए । उनले आफ्नो विद्यालयमा पनि बिरामीहरू देखिएको बताए ।
प्रदूषित सहरको सूचीमा काठमाडौँ ११ औँ नम्बरमा
वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्युएयरका अनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको ११ औँ स्थानमा छ । मंगलबार साँझ साढे ५ बजेको तथ्यांकअनुसार काठमाडौँको वायु गुणस्तर १५१ एक्युआई छ । ५० एक्यूआईसम्मलाई मात्रै वायु गुणस्तर ठिक मानिन्छ ।
वातावरण विभागले नेपालमा विशेषगरी मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको बताउँदै आएको छ । सोहीअनुसार विगत केही हप्तादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको विभागको भनाइ छ ।
वायु प्रदूषणको मुख्य कारक उद्योग, कलकारखाना र सवारी साधनबाट निष्कासन हुने धुवाँ, वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुलो आदि रहेको विभागको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागुनमै विवाह गर्दै अस्मिता र महेश
-
महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि पशुपतिको चारै ढोका खुला गरिने
-
कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार
-
डेलिभरी भ्यान अनियन्त्रित भएर घरकोआँगनभित्र छिर्यो, एकको मृत्यु
-
हिमालको फेदबाट सुशासन सिकाइरहेको नार्पाभूमि
-
स्पष्टीकरणमा परेसँगै कुलमानको विज्ञप्ति : मन्त्रीसँग म्याण्डेट लिइएको थियो