मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय
दस्ताबेज

राजेन्द्र महतोको राजनीतिक प्रतिवेदन : ‘एमाले नवपुँजीवादमा फस्यो, कांग्रेस विपक्षी शक्ति’

मङ्गलबार, १३ फागुन २०८१, १५ : ०६
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान दल र तिनीहरूको अवस्थासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । 

वर्तमान सरकार लामो समय नटिक्ने दाबीसहितको राजनीतिक प्रतिवेदनमा उनले वर्तमान सत्ता सहयात्री दल नेपाली कांग्रेस र नेकपा एमालेसहित विप्लव नेकपाबारे पनि उक्त प्रतिवेदनमार्फत टिप्पणी गरेका छन् । 

पार्टीको केन्द्रीय समिति बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अहिलेको सरकार चीनको सहयोगमा बनेको आरोप पनि लगाएका छन् । उनको प्रतिवेदनमा छ– ‘गोर्खाली सत्ता कमजोर बनेसँगै नयाँ बहुल राष्ट्रिय राज्य व्यवस्थाको माग तीव्र बनेको छ ।’

२०७२ सालमा संविधान जारी गर्दा नेपाली कांग्रेस र नेकपा एमाले ‘गोर्खाली राज्यको पुनर्स्थापना’का लागि एकताबद्ध भएको उल्लेख गरेका महतोले अहिले पनि त्यही बाटोमा अघि बढिरहेको दाबी गरे ।

संघीयता कागजी रूपमा सीमित रहेको र संघीय सरकार आफ्नो पार्टीका आसेपासे र नेतालाई खुसी पार्नमा केन्द्रित रहेको उनले गुनासो गरेका छन् । 

अध्यक्ष महतोले कांग्रेस पार्टी हाल ‘क्लासिकल लिबरल्स’को स्वरूपमा सीमित रहेको टिप्पणी पनि गरे । ‘कांग्रेसले न बहु सांस्कृतिक सुधारको पक्षपोषण गर्छ, न त सामाजिक न्यायको परिप्रेक्ष्यलाई स्वीकार गर्छ,’ उनले बताए । 

कांग्रेसले एकल सांस्कृतिक राष्ट्र–राज्यको अवधारणा अँगालेर वर्गीय स्वार्थ सुरक्षित राख्न चाहेकोसमेत दाबी गरे । साथै कांग्रेस दक्षिणपन्थी ध्रुवमा खुम्चिएको र अनुदार कन्जर्भेटिभ दृष्टिकोण अँगाल्दै लोकतन्त्रलाई केबल औपचारिक र सीमित पार्न खोजेको पनि आरोप लगाए । ‘दलाल र नोकरशाही पुँजीवादलाई अँगाल्दै, अन्तर्राष्ट्रिय नवसाम्राज्यवादप्रति झुकेको छ । यसले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेभन्दा परनिर्भरता सिर्जना गरिरहेको छ,’ उनले भने ।

  • कांग्रेस विपक्षी, एमाले प्रतिस्पर्धी

आफ्नो पार्टीले कांग्रेसलाई मित्र नभई विपक्षी शक्तिका रूपमा मानेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । 

एमालेलाई भने उनले प्रमुख प्रतिस्पर्धी पार्टीका रूपमा राखेका छन् । ‘हाल यो (एमाले) पार्टी स्वदेशी जनताको अधिकारलाई दबाउने र राष्ट्रिय मुक्तिको आन्दोलनलाई समाप्त पार्ने दिशामा अग्रसर छ । एमाले, आफ्नो अस्थिर र अवसरवादी नीतिका कारण राष्ट्रिय मुक्तिका लागि सबैभन्दा खतरनाक शक्ति हो । यसलाई प्रमुख प्रतिस्पर्धी शक्तिका रूपमा चिह्नित गर्दै यसको प्रतिरोधमा विशेष ध्यान दिन आवश्यक छ ।’

प्रारम्भमा उत्पीडित जाति–वर्गको प्रतिनिधित्व गर्ने दाबी गरे पनि हाल नवपुँजीवादी र मध्यमवर्गीय स्वार्थमा एमाले फसेको उनको दाबी छ । महतोले एमाले पुँजीवाद र अवसरवादको मिश्रण भएकाले यसले स्पष्ट नीति निर्माण गर्न असफल भएको पनि दाबी गरेका छन् । ‘एमाले आफ्नो अस्तित्व जोगाउन जुनसुकै सम्झौता गर्न पछि पर्दैन,’ उनको प्रतिवेदनमा लेखिएको छ । 

यसैगरी महतोले माओवादीले प्रचण्डपथको माध्यमबाट २१औं शताब्दीको जनवादलाई नेपाली सन्दर्भमा संश्लेषण गर्दै जनयुद्धलाई उच्चतम् स्तरसम्म पुर्‍याए पनि हेटौँडा महाधिवेशनपछि यो पार्टी (नेकपा माओवादी) निम्न पुँजीवादी संशोधनवादमा फस्दै गएको टिप्पणी गरेका छन् । 

माओवादीले जनयुद्धको समयमा राष्ट्रिय/जातीय मुक्तिका विषय अत्यधिक उठाए पनि अन्तरिम संविधान निर्माण बखत ती सबै मुद्दाको विसर्जन गरेको उनले गुनासो गरे । पार्टी नेतृत्वले सत्तास्वार्थका लागि जनयुद्धका बलिदानलाई केवल औजारका रूपमा मात्र माओवादीले प्रयोग गरेको टिप्पणी पनि गरे । 

माओवादीले अहिले वर्ग संघर्ष र राष्ट्रिय मुक्तिका कुनै पनि पक्षलाई निष्कर्षमा पु¥याउने इच्छाशक्ति वा क्षमता राख्न नसकेको उल्लेख गरेका महतोले माओवादी केन्द्रले सत्तास्वार्थका लागि आफ्ना आदर्शहरूलाई त्यागेको आरोप पनि लगाए । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बारे अध्यक्ष महतोले भने, ‘यसको कुनै स्पष्ट विचारधारा वा दीर्घकालीन योजना छैन ।’

उग्रवामपन्थी धारमा रहेको नेकपा (विप्लव) अहिले संसदीय राजनीतिमा प्रवेश गर्ने दिशामा रहेको उल्लेख गर्दै महतोले यो संगठनको पनि टिप्पणी गर्न छाडेका छैनन् । विप्लवले राष्ट्रिय संघर्षलाई केवल उपयोगवादका रूपमा प्रयोग गरिरहेको महतोको टिप्पणी छ । ‘यथार्थ के हो भने कम्युनिस्ट विचारधाराबाट राष्ट्रिय मुक्ति सम्भव नै छैन । हाम्रो पार्टीको दृष्टिकोणले कम्युनिस्ट शक्तिहरूलाई प्राथमिक प्रतिद्वन्द्वीका रूपमा हेर्नुपर्छ । सशक्त वैचारिक र रणनीतिक तयारीमार्फत यी शक्तिहरूलाई चुनौती दिन आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप