गाजाबाट डोनाल्ड ट्रम्पलाई पत्र

प्रिय ट्रम्प !
म गाजाको नरसंहारमा बाँच्न सफल प्यालेस्टिनीको तर्फबाट तपाईँलाई यो चिठी लेखिरहेको छु । म प्रेम र प्रतिरोधको सहर गाजाकै माटोमा जन्मेको र हुर्किबढेको हुँ । मैले गाजाबारे तपाईँले जारी गर्नु भएको वक्तव्य राम्रोसँग पढेँ । नढाँटी भन्ने हो भने त्यो पढेपछि म अलमलमा परेँ ।
तपाईँले आफूलाई ‘शान्ति स्थापक’ का रूपमा दावा गर्नु भएको रहेछ । तर, सँगै इजरायललाई नरसंहार जारी राख्न पनि उक्साउनु भएको रहेछ । तपाईँका माग पुरा नभएको खण्डमा गाजालाई नर्कमा परिणत गराइदिने भन्नु भएको रहेछ ।
ट्रम्प महोदय ! हामी त पहिलेदेखि नै नर्कमा पुरिएका छौँ । हामीले ६० हजार सहिद गुमाएका छौँ । युद्धविरामको श्रेय तपाईँले दाबी गर्नुभएको छ । हाल जारी युद्धविराम लागू गराउने पक्षको रूपमा आफूलाई दाबी गरिरहेको तपाईँको सरकार इजरायललाई आफ्ना प्रतिबद्धता पुरा गर्न दबाब दिन अस्वीकार गरिरहेको छ ।
तपाईँले गाजालाई ‘ध्वस्त सहर’ भन्नु भएछ तर यस्तो आपराधिक काम गर्नेहरूको नाम लिन सक्नु भएन । बरु उल्टै उसैलाई बम, पैसा र कूटनीतिक कवच उपलब्ध गराउनु भएछ । एकातर्फ तपाईं ‘सुरक्षित’ र ‘खुसी’ प्यालेस्टिनीको कुरा गर्नुहुन्छ । फेरी तपाईं ठुलै बोझ जस्तो ठानेर हामीलाई जोर्डन, इजिप्ट वा कुनै इच्छुक मुलुकले लैजानु पर्ने पनि भन्नुहुन्छ । ‘हामी गाजा पट्टिमा बस्न चाहेकै केही नबुझेर हो’ भन्ने तपाईँको दाबी रहेछ ।
ट्रम्प महोदय !
मलाई त तपाईँले हामी को हौँ ? र हाम्रा लागि गाजाको के अर्थ छ ? भन्ने नै खुट्याउन सक्नु भएन वा नितान्त गलत बुझाइसाथ अझै पनि बोली रहे जस्तो लाग्यो ।
तपाईँलाई हामी तपाईँको परिकल्पनाको विलासी रिसोर्ट निर्माणका अवरोधहरू जस्तो लाग्न पनि सक्छ । तर, हामी त आफ्नो जमिनमा गहिरो जरा गाडिएका, धेरै लामो इतिहास भएका तथा अविभाज्य अधिकार भएका जनता पो हौँ । हामी आफ्नो जमिनका वास्तविक हकदार हौँ ।
गाजा तपाईँको व्यापार परियोजनाको हिस्सा होइन । र, यो बिक्रीमा पनि छैन । गाजा त हाम्रो घर हो । हाम्रो भूमि हो । यो हाम्रो विरासत हो । र, हामी केही नजान्ने गवार भएकै कारण यहाँ बसेका पनि होइनौँ । इजरायलले १७ वर्षदेखि गरेको कठोर घेराबन्दीले हाम्रो जिन्दगी कल्पनै गर्न नसकिने गरि अप्ठेरो पक्कै भएको छ ।
तर, पनि हामीमध्ये कोही–कोही त अझै बाहिर पनि निस्केका छन् । पढ्न, उपचार गर्न तथा कामको खोजीमा विविध ठाउँमा यात्रा गर्न सफल भएका छन् । तर, जहाँ पुगे पनि ती मानिस अझै पनि यहीँ फर्किँदैछन् । किनभने गाजा हाम्रो आफ्नो घर हो ।
हामी गाजाका मान्छे धर्तीका अन्य आदिवासी जस्तै आफ्नो भूमिबाट बेदखल हुन अस्वीकार गर्छौँ । आफ्नो भूमि बोल–कबोलमा राखेर लिलाम गर्दै आफ्नै माटोबाट निर्वासित हुन अस्वीकार गर्छौँ ।
यसको राम्रो र प्रेरक उदाहरण डा. रेफात अलारीर हुन् । उनलाई इजरायलीहरूले निशानामा पारेर सन् २०२३मा मारिदिए । उनी बेलायतबाट स्नातकोत्तर तथा मलेसियाको पुत्र मलेसिया युनिभर्सिटीबाट विद्यावारिधि गरेर गाजा फर्केका थिए । उनी अरू देशमा बस्न नपाएर फर्केका थिएनन् । उनी गाजामै बस्ने भनेर आएका थिए । उनले यहाँको विश्वविद्यालयमा सिर्जनात्मक लेखन र साहित्य पढाए ।
उनले यहाँ ‘वि आर नट नम्बर्स’ भन्ने संस्था स्थापना गरे । उक्त संस्थाले प्यालेस्टाइनका युवा र सिकारु लेखकहरूलाई अनुभवी लेखकसँग जोडेर आफ्ना कथाहरु भन्दै आफ्नो आवाजको दायरा बढाउन तथा प्यालेस्टाइनमाथिको जबर्जस्ती कब्जाको प्रतिरोध गर्न मद्दत गर्यो । तीनै आवाजहरू मध्येको एउटा आवाज मेरो पनि हो ।
गएको वसन्तमा मलाई पनि यहाँबाट अन्यत्र देश जाने अवसर मिलेको थियो । तर, मैले बाहिर नजाने निर्णय गरेँ । म मेरो परिवार, साथीभाइ र प्यारो गाजालाई नरसंहारकारी युद्धबिच छोडेर निस्किन सक्दिनथेँ । यद्यपि म बाहिर जाँदै नजाने भन्ने होइन । अरू धेरै जस्तै म भित्र पनि मेरो शिक्षा पूरा गर्न विदेश जाने सोच छ । त्यसरी गए भने पनि मेरा आफ्ना गाजावासीलाई पुनर्निर्माणमा सघाउन तथा उनीहरुको दुःखमा हातेमालो गर्न आफ्नै देश फर्किन्छु ।
यही प्यालेष्टीनी तरिका हो । हामी ज्ञान र अवसर खोज्छौँ तर आफ्नो जन्मभूमी कहिल्यै बिर्सिदैनौँ । बरु त्यसको निर्माण गर्छौँ । त्यसलाई झनै बलियो बनाउँछौँ ।
निर्माण गर्ने भन्दै गर्दा तपाईँले भन्नु भएको निर्माणको सन्दर्भ याद आयो । तपाईँले गाजालाई सागर किनारको झकिझकाउ सहरको रूपमा ‘मध्यपूर्वको रिभेरा’ बनाउने भन्नु भएको रहेछ । खास कुरा के हो भने गाजा आफैमा ‘मध्यपूर्वको रिभेरा’ थियो ।
हाम्रा पुर्खाले यसलाई फस्टाउँदो व्यापारिक केन्द्र, बन्दरगाह र सांस्कृतिक सहर बनाएका थिए । तपाईँकै शब्द सापट लिएर भन्ने हो भने हाम्रो सहर शानदार थियो । हो, इजरायल बन्नु अघि र त्यसले ध्वस्त पार्न अघिसम्म हाम्रो सहर भव्य थियो ।
आजपर्यन्त गाजामाथि इजरायलले गरेका प्रत्येक बीभत्स हमलापछि प्यालेस्टिनीहरुले आफूलाई फेरि तङ्ग्राएकै छन् । आफ्नो पुनर्निर्माण गरेकै छन् । इजरायलले गरेका प्रत्येक हिंसा, प्रतिबन्ध, लुटपाटका बाबजुद प्यालेस्टिनीहरुले गाजालाई जीवनको सुन्दर लय समातेको सुरक्षित ठाउँको रूपमा ज्युँदै राखेका थिए ।
हामी माथि जतिसुकै बम पड्काउनुस् । नाकाबन्दी लगाउनुस् । वा हाम्रा छातीमा ट्याङ्क दौडाउनुस् । हामी हाम्रो प्रतिबद्धता कदापि भुल्दैनौँ । हामी कदापि अन्यत्र जाने छैनौँ । बसाई सर्ने छैनौँ । विस्थापित हुनेछैनौँ ।
जहाँका युवाहरू आफ्नो सुन्दर जीवनका लागि आफ्नो हाडछाला घोटिरहेकै थिए । जहाँ–जहाँ घर जोगिएका थिए, त्यहाँ परिवार खुसीसाथ मिलेर बसेकै थिए । इजरायले अहिले फेरी सिङ्गै गाजालाई भग्नावशेषमा परिणत गर्न खोज्यो । कहिल्यै उठ्न नसक्ने गरी हामीलाई मार्न खोज्यो । तपाईँले पनि मानवतावादको घुम्टो ओढेर उनीहरूकै विचारलाई दह्रो गरी आड दिनुभयो ।
हाम्रो नामोनिशान बाँकी नरहने गरी ध्वस्त पार्ने अभियानलाई सघाउनु भयो । ट्रम्प महोदय हामी गाजा भन्दा बाहेक कहीँ पनि सुरक्षित र खुसी हुनै सक्दैनौँ ।
तपाईँले भन्नु भएको एउटा कुरामा चाहिँ म सहमत छु । तपाईँले भन्नु भएको रहेछ ‘इतिहासबाट सिक्नुपर्छ’ हो, इतिहासबाट सिक्नुपर्छ । इतिहासले हामीलाई सिकाएको छ कि आधुनिक युगमा अर्काको भू–भाग कब्जा गर्ने कुनै पनि उपनिवेशवाद टिकेको छैन । यस अर्थमा तपाईँको योजना असफल हुनेछ । इजरायलको योजनाले हार्नेछ ।
हामी गाजाका मान्छे धर्तीका अन्य आदिवासी जस्तै आफ्नो भूमिबाट बेदखल हुन अस्वीकार गर्छौँ । आफ्नो भूमि बोल–कबोलमा राखेर लिलाम गर्दै आफ्नै माटोबाट निर्वासित हुन अस्वीकार गर्छौँ । हामी समाधान खोज्दै हिँडेका समस्या होइनौँ । हामी त आफ्नै माटोमा, आफ्नै देशमा स्वतन्त्रता र स्वाभिमानसाथ बस्ने अधिकार खोजी रहेका नागरिक हौँ ।
हामी माथि जतिसुकै बम पड्काउनुस् । नाकाबन्दी लगाउनुस् । वा हाम्रा छातीमा ट्याङ्क दौडाउनुस् । हामी हाम्रो प्रतिबद्धता कदापि भुल्दैनौँ । हामी कदापि अन्यत्र जाने छैनौँ । बसाई सर्ने छैनौँ । विस्थापित हुनेछैनौँ ।
धन र तागतले गाजाको भाग्य निर्धारण गर्न सक्दैन । लुटेराहरूद्वारा इतिहास लेखिँदैन । प्रतिरोध गर्नेहरूद्वारा लेखिन्छ । जनताको इच्छाद्वारा लेखिन्छ । तपाईं जति दबाब दिनुस् हामी र हाम्रो भूमिको सम्बन्ध कसैगरि तोडिने छैन । पलायन वा आत्मसमर्पण हाम्रा विकल्पमा पर्दैनन् । हामी त जुझारु प्रतिरोधले आफ्नो भूमिलाई प्रेम, हेरचाह र सम्झनाले भर्दै सहिदहरूप्रति सम्मान गरिरहन्छौँ ।
तपाईँलाई व्यर्थको अभियानको शुभकामना !
हस्सन अवो कमर
गाजा, प्यालेष्टाइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण