मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै

मङ्गलबार, १३ फागुन २०८१, १३ : ००
मङ्गलबार, १३ फागुन २०८१

सुर्खेत । यहाँको प्रमुख पर्यटकीय स्थल बुलबुलेमा अर्को ताल निर्माण कार्य सुरु गरिएको छ । चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयन अन्तर्गत ताल निर्माण गर्न लागिएको हो । 

मंगलबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले ताल निर्माण कार्यको शिलान्यास गरे । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको १ करोड १२ लाख ३६ हजार ८६३।८७ लगानीमा ताल निर्माण गर्न लागिएको हो । ०८२ असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी प्रवीन निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । 

कम्पनीले कम्पाउण्ड वाल, नालालाई व्यवस्थित बनाउनुका साथै ताल वरिपरि मान्छे हिँड्ने फुटपात बनाइने लगायतका काम गर्ने छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेखर चपाईँका अनुसार अहिले पानीको स्रोत भएपनि लिकेज भइरहेको छ । त्यसलाई संरक्षण गर्नु पनि उद्देश्य रहेको छ । 

यसअघि निर्माणको तालसँगै जोड्ने गरी उक्त ताल निर्माण गर्न थालिएको छ । यसअघिको तालमा डुंगा चलाउने गरिएपनि नयाँ बन्ने तालमा डुंगा चलाउन पाइने छैन । उक्त ताल शान्त वातावरणमा चराचुरुङ्गीलाई खेल्न र मनोरम दृश्यका लागि मात्र बनाइने छ ।

‘बुलबुलेमा विभिन्न प्रजातिका चराहरु आउँछन्, मान्छेको आवात–जावतका कारण चराहरूले शान्तसँग खेल्न पाइरहेका छैनन्,’ चपाईले भने, ‘जाडो याममा साइबेरियन चराहरु पनि आउँछन् । चराहरुको बासस्थान पनि हुनेछ ।’

ताल ४ हजार दुई मिटर क्षेत्रफलमा बनाइने छ । ताल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री यामलाल कँडेलले पुरस्कार पाउने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । ‘कामको जिम्मा लिएपछि समयमै गर्नुहोला, भुक्तानीका लागि कुनै समस्या छैन,’ उनले भने, ‘उद्घाटन तामझामका साथ गर्ने काम समयमा नहुने भएपछि राम्रो हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप