मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

उपचार खर्च बढी लाग्ने टिटानसबाट जोगिने उपाय

मङ्गलबार, १३ फागुन २०८१

काठमाडौँ । टिटानस रोग अर्थात् धनुष्टङ्कार ब्याक्टेरियाबाट सर्ने रोग हो । यो ब्याक्टेरिया माटो, औजारमा हुन सक्छ । यस्तो ब्याक्टेरिया कुनै अनुकूल वातावरण पायो भने सक्रिय हुन्छ । यसले टक्सिन उत्पादन गर्छ । सो टक्सिनले शरीरका नसालाई असर पुर्‍याउँछ अनि मान्छेको शरीरमा समस्या देखापर्न थाल्छ । 

यही रोगका बिरामी काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६ महिनायता ७ जना उपचारका लागि आइसके । 

अस्पतालका अनुसार गत वर्ष आर्थिक वर्ष २०८०/०८१ मा यही रोगका बिरामी १० जना उपचारका लागि भर्ना भएका थिए । तीमध्ये १ जनाको मृत्यु भयो । 

यही अस्पतालमा अघिल्लो आर्थिक वर्ष ०७९/८० मा १६ जना उपचारका लागि भर्ना भएका थिए । तीमध्ये ५ जनाको मृत्यु भएको थियो । टिटानस रोगमा केन्द्रित रहेर अस्पतालका कन्सलटेन्ट फिजिसियन डा. मिलन बज्राचार्यसँग गरिएको कुराकानी :

  

  • टिटानस रोगले कसरी असर पुर्‍याउँछ ?  

टिटानस रोग लागेपछि धनुषजसरी शरीर तन्किने हुन्छ । यो रोग क्लोस्ट्रिडियम टिटानी नामक ब्याक्टेरियाबाट लाग्छ । यो माटो, औजारमा बसेको हुन्छ । शरीरमा घाउचोट लागेमा यो सर्छ । शरीरमा प्रवेश पाएपछि यसले टक्सिन उत्पादन गर्छ । सो टक्सिनले नसालाई असर गर्छ । मांसपेशीहरू अरह्रो हुने, तन्किने हुन्छ । यसलाई धेरै किसिमले वर्गीकरण गरिएको छ । यो बच्चामा पनि हुन सक्छ, शरीरभरि नै फैलिन्छ । कुनै एउटा अंगलाई मात्रै खराब गर्ने पनि हुन सक्छ । 

  • लक्षण कस्तो हुन्छ ? 

टिटानस लागेको व्यक्तिलाई झट्का आउने लक्षण देखापर्छ । सुरुवाती चरणमा मुख पूर्ण रूपले खुलाउन सकिँदैन । अरू मांसपेशीहरू कडा हुन सक्छन् । प्रेसर एकैचोटि घटबढ हुन्छ । मुटुको चाल पनि एक्कासि तलमाथि हुने समस्या देखा पर्छ । 

  • के कारण हुन्छ टिटानस ?

यो ब्याक्टेरिया माटोमा, खिया लागेको औजारमा बसेको हुन सक्छ । अनुकूल वातावरणमा यो ब्याक्टेरिया एक्टिभ हुन सक्छ । यसले नसालाई असर गर्छ । शरीरमा घाउ लागेको छ भने त्यहाँबाट पनि यो ब्याक्टेरिया जान्छ । अनि घाउबाट टिटानस हुन सक्छ । 

  • कति समयमा लक्षण देखा पर्छ ? 

शरीरमा घाउ भएको छिटोमा तीन दिनमा लक्षण देखिन सक्छ । कसैलाई साताभरमा देखिन सक्छ । जति छिटो लक्षण देखिन्छ, त्यति नै बचाउन गाह्रो हुन्छ । ८ देखि २१ दिनको अन्तरालमा लक्षण देखिन्छ । लक्षणमा सुरुमा मुख खोल्न नसक्ने, जिउ अरह्रो हुने, बिस्तारै श्वासप्रश्वास र मांसपेसीमा पनि असर पुर्‍याउँछ । 

  • टिटानस उपचार सम्भव छ ? 

यो रोग लाग्दा प्रेसर र मुटुको गति बढ्ने घट्ने हुन्छ । यस्तो अवस्थामा उपचारमा समस्या हुन्छ । प्रेसर र मुटुको गति बढ्ने घट्ने अवस्था थाहा हुँदैन, यसले गर्दा मानिसको मृत्यु पनि हुने गर्छ । बिरामीलाई ४ देखि ६ सातासम्म आईसीयूमा राख्नुपर्छ । यसको उपचार महँगो छ । टिटानस भएको अवस्था हेरेर बिरामीलाई बचाउन सकिने/नसकिने भन्न सकिन्छ । बिरामी कस्तो अवस्थामा अस्पताल आइपुगेको छ, त्यसमा भर पर्छ । अर्थात् २० वा २२ दिनमा लक्षण देखापरेको छ भने त्यो बिरामी बच्न सक्ने अवस्था रहन्छ । तर बिरामीमा दीर्घरोग छन् र साताभरमा नै लक्षण देखिएको छ भने जोगाउन जटिल नै हुन्छ । 

  • टिटानसबाट जोगिन के गर्ने ? 

सकेसम्म घाउ चोट लाग्न दिनुभएन, लागिहाले चिकित्सकको सल्लाहअनुसार टिटानस खोप लगाउनुपर्छ । गर्भावस्थादेखि नै यसको खोप लगाइन्छ र नियमित लगाउनुपर्छ । टिटानसको खोप सस्तो पनि छ । औषधि पसलमा सहजै पाइन्छ । त्यसकारण एक पटक स्वास्थ्यकर्मीको सुझाव लिएर खोप लगाउनु नै यसबाट जोगिन राम्रो उपाय हो ।

  • उपचार खर्च कति लाग्छ ? 

कम्तीमा साता बढी नै राखेर उपचार गर्नुपर्ने हुँदा सरकारी अस्पतालमा एउटा बिरामीलाई २ देखि ३ लाख रुपैयाँसम्म खर्च हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया