मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सकियो

जग्गाबाहेक २५ करोड रुपैयाँ भन्दी बढी खर्च
मङ्गलबार, १३ फागुन २०८१, १२ : २२
मङ्गलबार, १३ फागुन २०८१

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी स्तरबाट बनिरहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकिएको छ । 

मैदानमा ५ वटा फ्लडलाइट जडान गरिएको छ । नेपालको कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलो हो । 

७ करोड रुपैयाँ भन्दा बढी खर्च गरी जडान गरिएको फ्लड लाइट टेस्टिङको काम बुधवार (आज) देखि सुरु हुने स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए । २०८० साल जेठ २९ गते शिलान्यास भएको स्टेडियमको ०८० फागुन २८ मा गते उद्घाटन गरी लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । त्यसयता यो मैदानमा जिल्ला र स्थानीय स्तरमा सय भन्दा बढी खेल भइसकेका छन् । 

नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास समेत गरेको थियो । यही फागुन २५ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप क्रिकेटका ४६ मध्ये १५ खेल यही मैदानमा हुनेछन् । प्रधानमन्त्री कपका लागि पनि अहिले मैदानमा आवश्यक काम चलिरहेको छ । नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप क्रिकेटका लागि एक्स्ट्राटेक ओभललाई छनोट गरेकोमा खुसी लागेको प्रबन्ध निर्देशक कुँवरले बताए । 

सात वटा पिच रहेको मैदानमा अब खेल हुने मात्रै नभइ नेपालमै पहिलो फ्लड लाइटमा डे नाइट म्याच हुने चरणमा प्रवेश गरेको छ ।

 केही दिनमा लाइट टेस्टिङको काम सकेर डे नाइट म्याचका लागि तयार हुनेछ । आवश्यक परे लाइटको क्षमता थप्ने तयारीका साथ आफूहरू बसिरहेको र सम्बद्ध निकाय अनि खेलाडीबाट समेत त्यसको परीक्षण गराइने प्रबन्ध निर्देशक कुँवरले बताए । 

एकातिर मैदान तयार भएर फ्लड लाइटको काम चलिरहेको छ भने अर्कोतिर अरू संरचना निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा पुगेको छ । नेट प्राक्टिसका लागि छ वटा पिच बनिरहेका छन् । 

अहिलेसम्म मैदानमा जग्गाबाहेक २५ करोड रुपैयाँ भन्दी बढी खर्च भइसकेको कुँवरले बताए । चार तलाको २ वटा भवन बनिरहेका छन् । जहाँ भीआईपी बक्स प्लेयर बक्स, चेन्जिङ रुम र मिडिया बक्स हुनेछन् । यी संरचनाको काम अन्तिम चरणमा छ । 

भीआईपी बिल्डिङमा नौ सय सिट क्षमताको प्यारापिट बन्नेछ । आगामी २ वर्षभित्र सक्ने लक्ष्य रहेको यो मैदानमा २५ हजार दर्शक क्षमताको प्यारापिट बन्नेछ । यो काम केही समयमा सुरु हुने कुँवरले बताए। उनकाअनुसार ५ हजार दर्शक क्षमतासहितको प्यारापिट एक वर्षभित्रै तयार भइसक्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप