मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र

मङ्गलबार, १३ फागुन २०८१, १० : ५४
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको नवौँ संस्करणमा न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । लगातार दुई जितपछि न्युजिल्यान्डको टोली प्रतियोगिताको सेमिफाइनलमा पनि प्रवेश गरिसकेको छ । 

आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानलाई ६० रनले हराएको न्युजिल्यान्डले दोस्रो खेलमा भने बङ्गलादेशलाई पाँच विकेटले पराजित गरेको थियो । बंगलादेशविरुद्धको खेलमा पाकिस्तानका लागि युवा ब्याट्सम्यान रचिन रवीन्द्रले शतकीय पाली खेलेका थिए ।

२५ वर्षीय रचिनले एक सय पाँच बलमा एक छक्का र १२ चौकाको मद्दतले एक सय १२ रन बनाएका थिए । रचिनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो शतक हो । यो शतकसँगै विश्व क्रिकेटमा उनले एउटा गतिलो कीर्तिमान पनि बनाएका छन् । 

खासमा, रचिन रवीन्द्र आईसीसी एकदिवसीय विश्वकप र च्याम्पियन्स ट्रफीमा आफ्नो ‘डेब्यू’ खेलमै शतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । बंगलादेशविरुद्धको खेल च्याम्पियन्स ट्रफीमा रचिनको ‘डेब्यू’ खेल थियो । 

न्युजिल्यान्ड र पाकिस्तानबिचको खेलमा भने स्वास्थ्य समस्याका कारण उनी टोलीमा थिएनन् । सन् २०२३ मा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि उनले आफ्नो ‘डेब्यू’ खेलमै शतक बनाएका थिए । 

उक्त विश्वकपमा न्युजिल्यान्डले इङ्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेलेको थियो । उक्त खेलमा न्युजिल्यान्ड नौ विकेटले विजयी भएको थियो । न्युजिल्यान्डको जितमा रचिनले अविजित एक सय २३ रन र ओपनर डेभोन कनवेले एक सय ५२ रनको योगदान गरेका थिए । विश्वकपमा रचिनको त्यो पहिलो खेल थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप