एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली

रौतहट । रौतहटको एउटा सामुदायिक विद्यालयमा एकै परिवारका चार सदस्य विभिन्न पदमा रहेको पाइएको छ । गुजरा नगरपालिका–५, ईशलाम्पुर गाउँमा रहेको श्री रहमान प्राथमिक विद्यालयमा एकै परिवारको हालीमुहाली देखिएको हो ।
सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा करिब एक दशकदेखि गुजरा–५, ईश्लामपुरका अवकास प्राप्त शिक्षक मजीबु रहमान छन् । विद्यालयको प्रधानाध्यापकमा उनकै छोरा महमद अफरोज आलम छन् ।
प्रधानाध्यापक अफरोजको छोरी गुलशन नेसा शिक्षिकाका रूपमा कार्यरत छिन् भने आफरोजकै पत्नी सबरिन खातुन पियन छिन् ।
विद्यालयमा बढेको बेथितिलाई स्थानीयवासीले सोमबार पत्रकार सम्मेलनमार्फत उजागर गरे । स्थानीय समाजसेवी तथा नेपाली कांग्रेसका जिल्ला सहसचिव फिरोज आलमका अनुसार मजीबु रहमान लक्ष्मीपुर प्राविमा कार्यरत हुँदा रहमान प्राविको व्यवस्थापन समितिको अध्यक्षमा उनकै परिवारका अन्य सदस्य थिए । उनले अवकाश पाएपछि एक दशक यता विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहँदै आएको आलमले बताए ।
२०७४ सालको स्थानीय तह निर्वाचनपछि गुजराका नगर शिक्षा संयोजक शिवमंगल साहकै मिलोमतोमा रहमान प्राविका प्रधानाध्यापक अफरोजले लाखौँ भ्रष्टाचार गरेको आरोप पत्रकार सम्मेलनमा स्थानीयवासीले लगाए ।
रहमान प्राविमा हाल कक्षा १ देखि ५ सम्म झण्डै १५० जना विद्यार्थी अध्ययनरत छन् तर शिक्षा संयोजकसँग मिलेर प्रधानाध्यापक अफरोजले विधार्थी संख्या ३६० देखाएर नगरपालिकाबाट सम्पूर्ण सुविधा लिँदै आएको आलमले बताए । विद्यालयको समिति र विद्यार्थी संख्या लगायत अन्य जानकारीका लागि पटकपटक गुजरा नगर शिक्षा संयोजक शिवमंगल साहलाई भन्दा बेवास्ता गरेको उनको आरोप छ ।
कक्षा १ देखि ५ सम्मका प्रति विद्यार्थी खाजा बापत दैनिक १५ रुपैयाँ, पाठ्यपुस्तक सरदर ५०० रुपैयाँ र छात्रवृत्ति छात्रा सम्पूर्ण र दलित छात्रालाई सरकारले ४०० रुपैया दिँदै आएको छ । यसरी आउने अनुदान दुरुपयोग गर्नकै लागि विद्यार्थी संख्या बढाएर देखाइएको स्थानीयको आरोप छ ।
पत्रकार सम्मेलनमा सहभागी वडा ५ का अध्यक्ष शेख जमाजुदिनले प्रधानाध्याक अफरोजले विद्यालयको सम्पूर्ण रजिस्टर लुकाएर राखेको बताए ।
विद्यालयमा पटकपटक अनुगमन गर्दा कुनै रजिस्टर नभेटेको र समिति गठनका लागि २ वर्षदेखि प्रयास गर्दागर्दै केहीदिन अघि ४ जना सदस्य छनोट भए पनि प्रधानाध्यापकको बदमासीले पूर्णता नपाएको उनले प्रस्ट पारे ।
समितिलाई पूर्णता दिन आइतबार विद्यालयमा अभिभावक भेला हुँदा प्रधानाध्यापकका परिवारका मानिसहरूले मजीबु रहमान जग्गादाता भएकाले पुनः अध्यक्ष हुनुपर्ने भन्दै होहल्ला गरेपछि भेला नै स्थगित गरिएको वडा अध्यक्ष जमालुदिनको भनाइ छ ।
उता नगर शिक्षा संयोजक शिवमंगल साह भने जिम्मेवार व्यक्तिमाथि यस्ता आरोप लाग्नु सामान्य भएको बताउँछन् । आफूहरूले कुनै गलत काम नगरेको उनको दाबी छ ।
तर गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले रहमान प्राविसँगै अन्य कयौँ विद्यालयमा बेथिति देखिनुमा शिक्षा संयोजक शिवमंगल साह नै जिम्मेवार रहेको आरोप लगाए । रहमान प्राविको व्यवस्थापन समिति गठन लगायत अन्य गतिविधिको बारेमा पटकपटक निर्देशन दिँदा शिक्षा संयोजक साह विभिन्न बहाना बनाएर फुत्किने गरेको मेयर चौधरीको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक अफरोज आलमले विद्यालयमा कुनै अनियमितता नभएको दाबी गरेका छन् । आफूहरूमाथि निराधार आरोप लगाइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तौल घटाउनमा यसले गर्न सक्छ मद्दत
-
स्वास्थ्य बीमा कार्यक्रमबाट सरकार पछि हट्न खोजेको हो ?
-
एनसलको ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही