मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

सोफीको शानदार प्रदर्शन, सुपर ओभरमा स्तब्ध बन्यो बैंगलुरु

मङ्गलबार, १३ फागुन २०८१, ०९ : ३५
मङ्गलबार, १३ फागुन २०८१

बैंगलुरु । महिला प्रिमियर लिगमा साबिक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु सुपर ओभरमा यूपी वारियर्ससँग पराजित भएको छ । यूपीकी सोफी एक्लेस्टोनले शानदार बलिङ गरेपछि बैंगलुरुले ९ रनको लक्ष्य पछ्याउन सकेन ।

सुपर ओभरमा बैंगलुरुले ४ रन मात्र बनाउन सक्यो । ऋचा घोष र स्मृति मन्धानाले २–२ रन जोडे । यसअघि, सुपर ओभरमा पहिले ब्याटिङ गरेको यूपीले १ विकेटको क्षतिमा ८ रन बनाएको थियो । चिनेले हेनरीले ४ तथा ग्रेस ह्यारिस र एक्लेस्टोनले १–१ रन जोडेका थिए ।

निर्धारित समयको खेलमा बैंगलुरुले पहिले ब्याटिङ गरेको थियो । एल्से पेरीले नटआउट रहँदै ९० रन जोडेपछि टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन बनाएको थियो । पेरीले मात्र ५६ बलको सामना गरेर ९ चौका र ३ छक्का प्रहार गरिन् । 

उनलाई डेनी वायट हजले ४१ बलमा ५७ रन बनाएर राम्रो साथ दिइन् । हजले ४ चौका र ३ छक्का प्रहार गरिन् । अन्त्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । 
यूपीका लागि चिनेले हेनरी, दीप्ति शर्मा र ताहलिया म्याकग्राथले १–१ विकेट लिए । बैंगलूरका ३ खेलाडी रन आउट भएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको यूपीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८० रन बनाएपछि खेल बराबरी भएको थियो । टोलीका लागि एक्लेस्टोनले १९ बलमा ३३ रन बनाइन् । उनले १ चौका र ४ छक्का हिर्काइन् ।

त्यस्त्ै, स्वेता शेरावतले ३१ रन, कप्तान दीप्ति शर्माले २५ रन तथा किरन नाभगिरेले २४ रनको योगदान दिइन् । बैंगलुरुका लागि स्नेह रानाले ३ विकेट तथा रेनुका सिंह र किम गार्थले २–२ विकेट तथा एल्से पेरीले १ विकेट लिए ।

चार खेलपछि ४ अंक बटुल्दै बैंगलुरु शीर्ष स्थानमा रहेको छ । यूपीको पनि ४ अंक छ । तर, नेट रनरेटको आधारमा टाली तेस्रो स्थानमा छ । एक खेल कम खेलेको मुम्बई ४ अंकसहित दोस्रो स्थानमा छ । गुजरात भने २ अंक बटुलेर पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप