मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय
खबरसँगालो

रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म

मङ्गलबार, १३ फागुन २०८१, ०० : ४८
मङ्गलबार, १३ फागुन २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबारदेखि सडक केन्द्रित प्रदर्शन गर्न लागेको छ । पहिलो चरणमा महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा पार्टीले विभिन्न प्रदेशमा मोटरसाइकल र्‍याली निकाल्न लागेको हो ।  प्रवक्ता सगुन लावतीका अनुसार मंगलबार धनगढीमा मोटरसाइकल र्‍याली हुनेछ । त्यसपछि फागुन १९ गते नेपालगन्ज, २१ गते काठमाडौँ, २४ गते वीरगन्ज र २६ गते सुर्खेतमा र्‍याली निकाल्न लागिएको छ । 

२. एनआरएनलाई पत्राचार
सर्वोच्चको परमादेशले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको उच्चस्तरीय समितिले सोमबार एनआरएनलाई पत्राचार गरेको छ ।  एनआरएनएका कार्यकारी अधिकृतलाई पत्र लेखेर समितिले कार्यालय हस्तान्तरण गर्न भनेको हो । 

३. सडकमा चम्किला ज्याकेट लगाएका मान्छेको आतंक
काठमाडौँको बल्खु र ललितपुरको सानेपालाई जोड्ने पुलमा बिहानदेखि रातिसम्मै चम्किला ज्याकेट लगाएका केही मान्छे उभिएका हुन्छन् । छेवैमा निकासी कर संकलन केन्द्र भन्ने एउटा छाप्रो राखिएको छ । चम्किला ज्याकेट लगाएका ती मानिस आफ्नो अधिकार क्षेत्र नाघेर मालवाहक गाडीसँग कर संकलन गरिरहेका पाइन्छन् ।

४. अध्यादेश अलपत्र
फागुन ३ मा सत्तामा रहेका ७ दलको बैठकले भूमिसम्बन्धी अध्यादेशमा रहेका असहमतिलाई हल गर्न कार्यदल बनाउने निर्णय गरेको थियो । सत्तारुढ दलहरूको यो बैठकको निर्णय अझै कार्यान्वयनमा आएको छैन । यतिमात्र होइन, सरकारले अहिलेसम्म अध्यादेश के गर्ने भन्नेबारे प्रस्ट निर्णय गरिसकेको छैन ।

५. देउवाको प्रस्तावमा इतर समूह सहमत भएकै हुन् ?
नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई जिताउन लागेका ११ नेता केही दिनअघि देउवा निवास बुढानीलकण्ठमा भेला भए । देउवाले कांग्रेस–एमालेबिच भएको सहमति देखाउँदै आफू नेतृत्वको वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने प्रस्ताव गरे । कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापाले संस्थापन पक्षीय नेताहरूको अनौपचारिक भेलामा उठेको विषयलाई नै समर्थन जनाउने गरी अभिव्यक्ति दिएका छन् ।

६. शिवरात्रिको यस्तो छ तयारी
शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आवश्यक तयारी भइरहेको छ । सुरक्षा निकायदेखि पशुपति क्षेत्र विकास कोषले शिवरात्रिलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरेका हुन् ।

७. स्थानीय तहका माओवादी जनप्रतिनिधिको भेलामा ३० बुँदे प्रतिबद्धता पारित
नेकपा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले ३० बुँदे प्रतिबद्धता पारित गरेका छन् । काठमाडौँमा शनिबार र आइतबार आयोजित भेलाले स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्न पूर्ण निष्ठा र इमानदारिताका साथ आ–आफ्ना पालिकामार्फत क्रियाशील रहने दृढ सङ्कल्पसहित प्रतिबद्धता पारित गरेको हो ।

९. माओवादीले आजदेखि थालेको अभियानको यी हुन् उद्देश्य
जनतासँग माओवादी तराई–मधेस जागरण अभियान सोमबारदेखि सुरु भएको छ । माओवादी केन्द्रले हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानका २० उद्देश्य घोषणा गरेको छ ।

१०. कृषि मन्त्रालयले रोक लगाएका दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सार नाकाबाट धमाधम भित्रिँदै आएको छ । कृषि मन्त्रालयले २०८० फागुन २ गते ९ प्रकारका दुग्धजन्य वस्तु आयातमा रोक लगाएको थियो । ती दुग्धजन्य वस्तु भन्सारबाट भित्रिँदै आएको पाइएको हो ।

११. नो केबलकार समूह’लाई फेरि सरकारले बोलायो वार्तामा
ताप्लेजुङस्थित पाथीभरा मुक्कुम्लुङ केबलकार खारेजीको माग गर्दै आन्दोलनरत समूहलाई सरकारी वार्ता टोलीले फेरि वार्तामा आउन अपिल गरेको छ । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्या समाधानका गर्न आन्दोलनरत पक्षलाई पुनः वार्तामा बस्न भनेका हुन् ।

१२. अध्ययनविना नै बनेका कोल्ड स्टोर प्रयोगविहीन
लुम्बिनी प्रदेशमा आवश्यक अध्ययनविना नै निर्माण भएका कोल्ड स्टोर सञ्चालनमा समस्या देखिएको छ । निर्माण पूरा भएका कतिपय कोल्ड स्टोर सञ्चालनमा आउन सकेका छैनन् भने सञ्चालित कोल्ड स्टोर पनि सीमित सिजनमा मात्र चल्ने गरेका छन् । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप