मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?

शान्ति प्रक्रियापछिका लगातार चार वटा संघीय निर्वाचन र २ वटा स्थानीय तहको निर्वाचनमा माओवादी मधेसमा कहिल्यै पहिलो दल बन्न सकेन। मधेसको मुद्दा र एजेन्डा स्थापित गर्ने भूमिका माओवादी आन्दोलन र जागरणबाट नै भए पनि त्यसको बुझाई जनतासम्म स्पष्ट लैजान नसक्नु नै माओवादीको कमजोर पक्ष देखिन्छ।
आफ्नो पहलमा स्थापित भएका एजेन्डा तलसम्म लैजान आवश्यक पर्ने सङ्गठन निर्माणमा माओवादीको ध्यान मधेसमा कहिल्यै प्राथमिकतामा परेन। बदलिँदो राजनीतिक दुष्चक्रमा परेर हो कि सहज यात्राको लागि माओवादीले बेलाबेला विचार मिल्ने वा नमिल्ने जो कोहीसँग गठबन्धन वा तालमेलको नीति अख्तियार गर्दै गयो। नेकपा विघटन पछि लगभग ४ वर्ष सङ्गठन विहीनताको अहिलेको अवस्थासम्म मधेसमा अन्यौलता र कार्यकर्तामा निराशा उस्तै छ।
यही जटिल अवस्थामा माओवादी पार्टीका अध्यक्ष प्रचण्ड सहित शीर्ष नेतृत्वको टिमको फाल्गुन १२ गतेदेखि तराई मधेसको यात्रा सुरु भएको छ । यात्रा पूर्वी नेपालको झापादेखि हुलाकी राजमार्गको बाटो हुँदै सुदूरपश्निमको कञ्चनपुर सम्म हुँदैछ। हिजो जनताको जनजीविका र राष्ट्रको स्वाधीनताको लागि आफ्ना माग राख्दै युद्धमा हुमेको माओवादी नेतृत्व अहिले तिनै पूरा भएका मागको विषय जनतासँग भलाकुसारी र बाकी गर्नुपर्ने कामको बारेमा जनतासँग छलफलको माध्यमबाट जागरण पैदा गराउने उद्देश्यले तराई-मधेस झर्नु सुखद पक्ष हो।
पछिल्लो समय सत्तामा रहँदा ३२ सिट मात्र भएको माओवादीले गर्न खोजेको केही जन पक्षीय र राष्ट्र हितको कार्य पक्कै सम्झनायोग्य थियो। हिजो सत्तामा हुँदा राम्रो कामको जनतामाझ पुर्याउन नसकेको सन्देशको पोको बोकेर प्रचण्ड सहितको पदाधिकारी टिम गाउँ गाउँ झर्नुपर्ने बाध्यात्मक अवस्था किन आयो? यो गम्भीर विषय हो। सधैँ यही उच्च टिमले कामको प्रचारप्रसार गर्न भ्याउँदैन होला। के मधेसमा नेतृत्वको अभाव वा जिम्मेवारी बोध नभएकै हो? हेर्दा र सुन्दा प्रचण्ड आफै जनताको घरघर पुगे जस्तो लाग्ला तर यो अवस्थाको सृजना किन र कसरी बन्यो एक पटक सबै तहका माओवादी नेतृत्वले गम्भीरताको साथ समीक्षा गर्न आवश्यक छ। यदि अब पनि बुझिएन भने यात्राले दिने सन्देश झनै घातक र माओवादीप्रति प्रत्युत्पादक बन्न सक्छ।
२०६४ देखि २०७९ सम्मको निर्वाचनको संक्षेपमा विश्लेषण गर्ने हो भने माओवादी क्रमशः ओरालो यात्रामै छ। नयाँ संरचनाको २ वटा स्थानीय तहको निर्वाचनमा त झन् मत ह्वात्तै घटेको छ। यो सबै पक्षलाई तथ्यगत अध्ययन नगर्ने हो भने देशकै दोस्रो ठुलो निर्वाचन क्षेत्र र धेरै मतदाता भएको प्रदेशमा शून्यतामा रहेर ठुलो दलको कल्पना गर्नु महाभुल हुनेछ। खैर पछिल्लो उप निर्वाचनले केही उत्साह भरेपनि त्यो सबै विश्लेषणको पाटो समग्रतामा नमिल्न पनि सक्छ।
मधेसमा सङ्गठन विहीनताको अवस्था किन बन्यो? यो विषयमा मूल नेतृत्वले नै जवाफ दिन पर्छ। तर माओवादी सत्तामा हुँदा केही सीमितले फाइदा लिने तर सङ्गठनमा कुनै ध्यान नदिने परिपाटी बढ्दो छ। त्यसैले अहिले माओवादी मूल नेतृत्व प्रचण्ड लगायतका नेताहरू हिजो सत्तामा हुँदा यो-यो काम गरेँ अब यो बाकी काम गर्न पुनः एक पटक विश्वास गर्नुस् भन्दै आफै तल तल आउनुपर्ने यो परिस्थिति निर्माणलाई माओवादी बलियो होइन जनस्तरमा नेतृत्व अभाव र कमजोर छ भन्ने बुझ्न पर्दछ।
महान् दार्शनिक कार्ल मार्क्सको भनाई अनुसार "जब पीडा भोग्नेहरूले सोच्न सुरु गर्दछन् तब सोच्नेहरूले पीडा भोग्न सिक्न सुरु गर्दछन्।" तराई- मधेसका जनताले विगतको माओवादी आन्दोलनको एजेन्डा माओवादीले नै भुल्यो कि भनी सोच्न थालिसकेको यो अन्तिम अवस्थामा स्वयं प्रचण्डले नै पिडाबाट सिक्न सुरु गरी अगाडि बढ्ने हिम्मत नलिईकन यो अभियानले सार्थकता पाउँदैन होला। प्रचण्ड लगायत ठुला नेताहरू एक दिन एक रात एक जिल्ला बस्ने कार्यसूची छ। पक्कै यो बिचमा जनताको अपेक्षा र प्रश्नको राम्रै सामना गर्नुपर्ने अवस्था पनि छ। यदि प्रचण्ड नेतृत्व टिमले यो यात्रालाई उत्साहमा बदल्न निकै ठुलो हृदय र स्वभाव बनाउन पर्छ। सहिद परिवार,घाइते/अपाङ्ग र बेपत्ताहरू सँग त भेट हुन्छ नै तर माओवादी आन्दोलनलाई अध्ययन गरेर वा शान्तिप्रक्रियापछिका युवा पुस्तासँगको संवादमा पनि नेतृत्वले समय खर्चनुपर्नेछ।
करिब करिब बोर्डर नजिकको यात्रा कम चुनौतीपूर्ण छैन। जनताहरू केही प्रश्नको जवाफको खोजीमा छन्। मधेसको अधिकार र माग सम्बोधन हुने गरी संविधानमा पक्कै लेखिएको छ। तर कार्यान्वयन किन प्रभावकारी भएन ? ६ महिना अगाडि प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा रहेका प्रचण्डले यसको चित्तबुझ्दो ढङ्गले जवाफ दिनुपर्छ। मधेस कृषि उत्पादन र युवाको हिसाबले निकै उर्वर भूमि हो। तर यहाँको उत्पादन दिने जमिनमा अझै सिचाई अभाव र कृषिको लागि मलको सहज उपलब्धता छैन।
तर २०६४ पछि पटक पटक गरेर १६ वर्ष भन्दा बढी सत्तामा रहेको माओवादीले किन एउटा मल कारखाना खोल्न सकेन? आज उत्पादित कृषि सामाग्रीले २ किलोमिटर दक्षिणको खुल्ला बोर्डर व्यापार सँग प्रतिस्पर्धा गर्न सक्दैन। उदाहरणको लागि भारतीय बजारमा ७० रुपैयाँ प्रति केजी पाइने चिनी नेपाली बजारमा रु ११० सम्म तिर्न जनताहरू बाध्य छन्।
हिजो मधेसको माग समान राजनैतिक अधिकार थियो तर अहिले स्थिति बदलिएको छ। कुनै पनि मधेसी जनता आफ्नो स्वाभिमान गिराएर बाच्न चाहँदैनन्। खुला सीमा आज मधेसी जनताको लागि उपभोग गर्न रहर नभएर बाध्यता भएको छ। के यो जागरण अभियानले मधेस र मधेसी जनताको स्वाभिमानलाई जोगाउन सक्छ? आजसम्म मधेसबाट लगभग १२ लाख युवा खाडीमा र ५ लाखको हाराहारीमा अन्य मुलुकमा पलायन भएका छन्। मधेसको हजारौँ बिगाहा जमिन उर्वर भए पनि आज यो जमिन युवाको लागि उर्वर बन्न सकिरहेको छैन। कारण उत्पादनको उचित मूल्य छैन र नजिकैको भारतीय बजारसँग प्रतिस्पर्धा गर्नै सक्दैन। त्यसै कारण किसान कि पलायन हुन बाध्य छन्। यी विषयमा जागरण अभियानले ध्यान दिन आवश्यक छ।
अहिलेको समय नेतृत्वले जनताको स्तरमै पुगेर बुझ्न निकै सकारात्मक हो तर मधेसमा नेता आइसकेपछि सबै समस्याको हल छु मन्तरले हल हुन्छ भन्ने बुझाई छ।
नेता आउने केही बोल्ने र गइसकेपछि जनताले त्यही समस्या हल किन भएन भनी प्रश्न गरिरहने बाटो राखियो भने तल भुईँमा बसेर काम गर्ने नेता/कार्यकर्ता जनताको नजरमा बेइमानीको सिकार भएर रहनुपर्छ। त्यसैले सक्ने कुरा स्पष्ट भन्ने र नसक्नेलाई त्यही ढङ्गले नीति बनाएर अगाडी बढ्ने रणनीति अपनाउनु पर्दछ। जनता सबैतिरबाट आजित र नेतृत्वप्रति अविश्वासी भैसकेका छन्। हत्तपत्त विश्वास गर्दै नगर्ने गरेपनि शङ्काको घेरामा राखेर हेर्ने अवस्थामा जनताहरू छन्। यो शङ्काको लाभ लिनलाई अभियानपछि पनि निरन्तर जनतामाझ जाने सबै तहको नेतृत्वको आचरण हुन आवश्यक छ।
शान्ति प्रक्रिया पछि जन्मेको मान्छेपनि अब मतदान गर्ने ठाउँमा पुगिसक्यो कति त उम्मेदवारै बन्छन्। तिनीहरूलाई माओवादी आन्दोलन र त्यस आन्दोलनको बलमा स्थापित एजेन्डाको वैचारिक बहसमा अब नजोडी माओवादीको वृद्धि हुँदै हुँदैन। त्यसको लागि स्वदेशमै रमाउने र आर्थिक उत्पादनमा जोडिने नीति ल्याउन ढिलो भइसक्यो। त्यसको बढी आवश्यकता मधेसमै छ र सम्भावना पनि मधेसमा बढी नै छ।
मधेसमा केही भएन र माओवादीले केही गरेन भन्नेहरुलाई पनि जवाफ दिन आवश्यक छ। उत्पीडनमा परेको मधेस र मधेसी जनताहरूलाई अधिकार दिलाउने काम माओवादीलेनै गर्यो। गरिब किसानको ऋण मिनाहा देखि साहु महाजनले मिटर व्याजीको रुपमा शोषण गरिरहेका गरिब-किसानलाई साहुको दासत्वबाट बाहिर ल्याउने कामपनी माओवादी नेतृत्वलेनै गरेको हो। त्यो कुरा जनतामाझ बुझ्न र बुझाउन विगतमा माओवादी नेतृत्वले किन सकेन? यो गम्भीर छ। यति विषय पनि प्रचण्ड स्वयमले भन्दै हिँड्नुपर्ने यो बाध्यात्मक अवस्थालाई मधेसको नेतृत्व टिमले अलि सचेत ढङ्गले हल गर्न आवश्यक छ।
तराई-मधेसको २१ जिल्लाको करिब १७ सय किलोमिटरको यो यात्रामा प्रत्येक जिल्ला एक दिन पुरै बिताउने जनताकै घरमा खाने,जनतासँगै छलफल गर्ने र जनताको झुपडीमा सुत्ने भनिएको छ। तर त्यो भेट भित्र कुन तहको जनता भन्ने एउटा विधि चैँ अवश्य हुनपर्छ। प्राय विगत लामो समयदेखि नेतृत्वमा बसेर जनतालाई नबुझेका र जनतासँग अन्तर घुलन नभएका नेताहरूको जत्था भिड जम्मा गरेर प्रचण्ड लगायत नेतृत्वलाई प्रभावित पनि पार्न सक्छन्। प्रचण्ड आउने भनेपछि १-२ हजार मान्छे आउने अगिपछि लाग्ने र पार्टी प्रवेश गराउने यो कार्य मात्र यो अभियानको मिसन बन्नु हुन्न। विगतमा पनि २०७० सालको चुनाव ताका पूर्वदेखि पश्चिम र हिमाल देखि तराई सम्म प्रचण्ड क्रेज भिडमा नदेखिएको होइन परिणाम त पुरै उल्टो आयो। त्यस्तो भिडले मात्र नाम मात्रैको उत्साह थप्ला तर सार्थक उत्साहमा बदल्न त ती भुईँका जनता जो केन्द्रीय राज्यसत्ताबाट मात्र होइन तल्लो वडा देखि केही बुज्रुक गाउँका मुखियाबाट पीडित छन् तिनीहरूलाई छुट्टै भेट्नु पर्छ। नेतृत्वमा बसेर डुङडुङती गन्हाएका, जनताको नजरमा सांस्कृतिक विचलनमा परेका, विभिन्न काण्डमा मुछिएका र जनताको समस्या हल गर्न पटक्कै नजोडिएका केही केही माओवादी भित्रै पनि होलान् छन् तिनैलाई अघिपछि लगाएर जागरण अभियान पूर्ण हुँदैन। तर यी सबै जोखिम र चुनौतीको बिचमा प्रचण्डले गर्न लागेको यो साहस र हिम्मत जो कोही माओवादीको नेता कार्यकर्ता भन्नेहरूको लागि उदाहरण र शिक्षा बन्ने निश्चित छ। अबको मधेसको भाग्यले माओवादी पार्टी कस्तो बन्ने र कत्रो बन्ने भन्ने बहसलाई झनै उचाइमा पुर्याउन ठुलै मद्दत गर्ने बुझिन्छ।
समाजवादी यात्रा सहितको नीति लिएर अगाडी बढिरहेको माओवादी पार्टीको भाग्यको फैसला यो जागरण अभियानपछि मधेसमा प्रचण्डको आगमनले उत्साह भरेर परिणाममा रूपान्तरण भयो कि बाध्यताले प्रचण्ड मधेस झरे त्यसको विश्लेषण पछि नै होला हेर्न बाँकी नै छ।
लेखक नेकपा (माओवादी केन्द्र) मधेस प्रदेशका युवा नेता हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा