मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा

सोमबार, १२ फागुन २०८१, २३ : ०५
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबारदेखि सडक केन्द्रित प्रदर्शन गर्न लागेको छ । पहिलो चरणमा महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा पार्टीले विभिन्न प्रदेशमा मोटरसाइकल र्‍याली निकाल्न लागेको हो । 

प्रवक्ता सगुन लावतीका अनुसार मंगलबार धनगढीमा मोटरसाइकल र्‍याली हुनेछ । त्यसपछि फागुन १९ गते नेपालगन्ज, २१ गते काठमाडौँ, २४ गते वीरगन्ज र २६ गते सुर्खेतमा र्‍याली निकाल्न लागिएको छ । 
हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापना, प्रदेश खारेजी र भ्रष्टाचार अन्यको माग राखेर कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।  

पहिलो दिन मंगलबार धनगढीको अत्तरियाबाट दिनको १२ बजे बृहत् मोटरसाइकल र्‍याली आरम्भ हुनेछ ।  राष्ट्रिय झन्डामा आयोजना हुने बाइक र्‍यालीमा राजसंस्था पक्षधर समूह दल, धार्मिक संघ संस्था, प्रदेश तथा भ्रष्टाचार विरोधी राष्ट्रवादीहरूको सहभागिता रहने बताइएको छ ।

राप्रपा कैलाली जिल्ला अध्यक्ष होमबहादुर गुरुङले बताए अनुसार, फागुन १३ गते मंगलबार धनगढीको अत्तरियास्थित दुर्गा लक्ष्मी उच्च माविको ठिक अगाडि भेला भएर मोटरसाइकल र्‍याली आरम्भ हुनेछ ।

राप्रपाले चैतमा काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको छ । सोही निर्णायक आन्दोलनको तयारीको रूपमा सात प्रदेशका सात प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली आयोजना गरिएको हो ।

यस्तै राप्रपाले प्रदेशस्तरीय आमसभाहरू समेत गरिरहेको छ।  फागुन ९ गते पोखरामा आमसभा गरेको राप्रपाले १३ गते बुटवलमा गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप