बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय
माओवादी अभियानको पहिलो दिन

जनार्दन र वर्षमानलाई प्रचण्डको अँगालो, किन रिसाए नारायणकाजी ?

झापामा पाँचौँ स्थानको माओवादी फेरि ब्युँतेला ?
सोमबार, १२ फागुन २०८१, २१ : ०८
सोमबार, १२ फागुन २०८१

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले महत्वका साथ प्रचार गरेको ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ झापाबाट सुरु भएको छ । अभियानमा उद्घाटन उत्साहजनक भएको माओवादी बताउँछन् ।

झापाको कामाटोली बजारमा प्रचण्डसहितको टोली पुग्दा साँझको ७ बजेको थियो । त्यसबेला पनि सयौँ जनताहरू लाम लागेर बसेको देखियो । झापामा साना ठुला गरी ७ वटा कार्यक्रम भएको माओवादी संयोजक राजु आचार्यले बताए । ‘झापाको अभियान ऐतिहासिक सफल भयो । झापाका कार्यकर्ता नेताहरू प्रचण्डसँगै नाचे, हाँसे । अभियान सशक्त भयो । एउटा जागरण आएको छ । सबै जनताहरू उद्वेलित भए । सबै जनाले प्रचण्ड पुग्दा घरघरबाट फूलमाला लिएर स्वागत गरेका छन्,’ उनले भने, ‘आगामी राजनीतिका लागि हामीलाई धेरै सहज भएको छ ।’

अभियानमा अध्यक्ष प्रचण्डसहित नेताहरू वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, नेताहरू पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायत सहभागी छन् । अभियानमा प्रायः सबैजसो नेताहरू दिनभर झापाका आधा दर्जनभन्दा बढी कार्यक्रममा सहभागी भए । प्रचण्डले उक्त अभियान झापाको कचनकवलबाट उद्घाटन गरे ।

WhatsApp Image 2025-02-24 at 13.56.21_d0fd397a

त्यस क्रममा नेपालकै होचो भूभाग केचनकवलमा राष्ट्रिय झन्डा फहराए । पर्यटकीय रूपमा उच्च सम्भावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि प्रचण्डले अपिल गरे ।

प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गरिएको माओवादीले जनाएको छ । दलाल, बिचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुई दलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिनलगायत अन्य धेरै विषयलाई सम्बोधन गर्नका लागि दबाब दिने उद्देश्यले अभियान सञ्चालन गरिएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले बताए । 

WhatsApp Image 2025-02-24 at 09.52.01_058e92ab

अभियानकै क्रममा प्रचण्डले झापाका अग्रज कम्युनिस्ट व्यक्तिहरू हरि अधिकारी र वेदनिधि निरौलालाई सम्मान गरे । त्यस क्रममा प्रचण्डले क्रान्तिको प्रतीक मानिने झापालाई अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतराबाट जोगाउनु जरुरी रहेको बताए । झापाले अब समाजवादी क्रान्तिको लागि भूमिका खेल्नुपर्नेमा जोड दिए । 

यो अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुनेछ । गत पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो । यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम् जागरण अभियान सञ्चालन हुने जनाइएको छ । 

479930367_614724968014254_912018938960805214_n

  • नारायणकाजी रिसाए

अभियान उद्घाटनकै क्रममा प्रचण्डले नेताद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई अँगालो हालेको दृश्य चर्चाको विषय बन्यो । यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मञ्चमा देखाएको असन्तुष्टिले पनि तरङ्ग ल्यायो । 

WhatsApp Image 2025-02-24 at 13.56.01_972eddd4

प्रचण्डले शर्मा र पुनलाई सार्वजनिक रूपमा अँगालो हालेर पार्टी भित्रको शक्ति सन्तुलनको नयाँ समीकरण संकेत गरेका छन् । पार्टीभित्र शर्मा र पुन पार्टीभित्र प्रतिस्पर्धी मानिन्छन् । दुवै नेतालाई सन्तुलनमा राख्न प्रचण्डलाई बेलाबेला संकट पर्ने गरेको छ । 

कार्यक्रममा नारायणकाजी श्रेष्ठले आफूलाई कम बोल्न दिने प्रयास गरेको भन्दै झोकिएर बोल्दा बोल्दै छोडेर हिँडे । श्रेष्ठले मन्तव्य राखिरहँदा झापाका माओवादी संयोजक आचार्य छेउमा पुगेका थिए । त्यसै क्रममा श्रेष्ठले, ‘मैले सक्नु पर्ने भयो ?’ भन्दै रिसाएका थिए । आचार्यले होइन होइन भन्दा पनि उनले आफ्नो मन्तव्य नराखी हिँडेका थिए । 

माओवादी केन्द्रले तराई–मधेसमा आफ्नो साङ्गठनिक आधार बलियो बनाउन विशेष अभियान सञ्चालन गरेको हो । विगतमा तराई–मधेसमा मधेसवादी दलहरूले प्रभुत्व जमाएका छन् भने कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा एमाले, काँग्रेस, राप्रपा भन्दा माओवादी पछि छ । त्यो अवस्थामा सुधार ल्याउन माओवादी केन्द्रले विशेष रणनीति अपनाएको देखिन्छ ।

  • झापामा पाँचौँ माओवादी

२०७९ सालको आम निर्वाचनमा प्रतिनिधिसभातर्फ माओवादीको समानुपातिक मत पाँचौँ स्थानमा छ । झापामा एमालेले १ लाख २७ हजार ७८० मत ल्याएर पहिलो हुँदा दोस्रोमा काँग्रेसले १ लाख, रास्वपाले तेस्रो हुँदै ७७ हजार ४४४, राप्रपाले ४६ हजार ४६६ मत ल्याउँदा माओवादीले जम्मा ३१ हजार ६६६ मत मात्रै पाएको छ । माओवादीले झापालाई समाजवादी क्रान्तिको केन्द्र बन्ने बताउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप