मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

सोमबार, १२ फागुन २०८१, २० : ११
सोमबार, १२ फागुन २०८१

पर्वत । यहाँको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन थालेको छ ।  पछिल्लो चार महिनामा मात्रै यहाँबाट रु ८५ लाख बराबरको तरकारीको बजारीकरण भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुसालले ढुवानीमा अनुदानपछि कात्तिकदेखि माघ महिनासम्म रु ८५ लाख बराबरको तरकारी बिक्री भएको बताए । उनका अनुसार गत कात्तिकमा रु ३६ लाख १९ हजार, मङ्सिरमा रु १३ लाख ७८ हजार ८३५, पुसमा रु २९ लाख ९७ हजार ८८० र माघमा रु १८ लाख १२ हजार १८५ बराबरको तरकारी बिक्री भएको हो । 

महाशिलामा फर्सी, आलु, अकबरे खुर्सानी, साग, ब्रोकाउली, काउली, बन्दाकोभी, स्कुस, लौका, काक्रो, टमाटर, भिन्डी, सिमी, बोडीलगायत तरकारी  उत्पादन हुने गरेको छ । यहाँका कृषकहरूले मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने गरेका छन् । गाउँपालिकासँगको सहकार्यमा यहाँ हेफर इन्टरनेशनल नेपालको सहयोगमा इन्प्रेड नेपालले ग्रामीण महिला उद्यमसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । 

उक्त परियोजनाबाट यहाँका आठ सय ७५ परिवार लाभान्वित भएका छन् । हाल यहाँ एक हजार एक सय ३९ रोपनी जग्गामा तरकारी खेती गरिएको छ । संस्थाले उत्पादित तरकारी तथा खाद्यान्न बाली घरेलु बजारका साथै जलजला, वालिङ, पोखरा, काठमाडौँलगायत क्षेत्रमा बिक्री वितरण गर्न सहजीकरण गरिरहेको इन्प्रेड नेपालका कार्यक्रम अधिकृत टुकप्रसाद शर्माले बताए । 

पालिकाका छ वटै वडामा सडकको पहुँच विस्तार भएपछि कृषकलाई  व्यावसायिक तरकारीखेती गर्न सहज भएको छ । गाउँपालिकाले कृषिजन्य उत्पादनमा अनुदानस्वरूप प्रति किलो रु पाँच उपलब्ध गराउँदै आएको छ । पालिकाले तरकारी मात्र नभएर खसी बोकामा समेत प्रति किलो रु २५ का दरले अनुदान उपलब्ध गराउँदै आएको छ । 

स्थानीयलाई व्यावसायिक उत्पादनका लागि उत्प्रेरित गर्ने उद्देश्यले पालिकाले अनुदान सहयोग गर्न थालेको अध्यक्ष भुसालले बताउनुभयो । यसले कृषि पेसातर्फ आकर्षित हुनेको सङ्ख्या बढ्दै गएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप