आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
कोशी प्रदेशसभा

कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक

दफावार छलफलमा कुनै पनि सांसदले सहभागिता नजनाएपछि निर्णयार्थ पेस
सोमबार, १२ फागुन २०८१, १८ : १५
सोमबार, १२ फागुन २०८१

विराटनगर । कोशी प्रदेशसभामा गत माघ १३ गते पेस भएको ‘प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पर्याप्त छलफल बिना नै पारित भएको छ । 

प्रदेशसभामा पेस भएको उक्त विधेयकको विषयमा सोही दिन सत्तापक्षका चार जना सांसदले सैद्धान्तिक छलफलमा भाग लिए । जसमा एमालेकी सचेतक कमला दर्नाल, सांसद रामदेव यादव, छविलाल चुँडाल र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले सैद्धान्तिक छलफलमा भाग लिएका थिए । तर, विपक्षी दलका तर्फबाट कोही पनि सांसदले उक्त विधेयक माथिको छलफलमा भाग लिएनन् ।

सभामुखसहित ९३ सदस्यीय प्रदेशसभामा कानुन निर्माणको मुख्य भूमिकाका लागि सांसदहरु निर्वाचित भएका हुन् । तर, उनीहरूले विधेयकको दफावार छलफलमा सहभागी हुन समेत चासो देखाएनन् । उक्त विधेयक माथि संशोधन प्रस्ताव दर्ता गराउन सभामुखले गत माघ १४ गते ७२ घण्टाको समय दिएका थिए । उक्त समयमा विधेयकमाथि कुनै संशोधन प्रस्ताव दर्ता भएन ।

प्रदेशसभाको सोमबार (फागुन १२)को बैठकमा सभामुख अम्बरबहादुर विष्टले दिइएको समयमा विधेयक माथि कुनै संशोधन प्रस्ताव दर्ता नभएको भन्दै दफावार छलफलको लागि प्रस्ताव पेस गर्न उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामलाई समय दिए । 

उनले राखेको प्रस्ताव पारित भए पनि दफावार छलफलको लागि कुनै पनि सांसद छलफलका लागि तयार नभएको सभामुख विष्टले जानकारी दिए । 

त्यसपछि सभामुख विष्टले उक्त विधेयकलाई निर्णयार्थ पेस गरे । ‘विधेयक माथिको दफावार छलफलमा भाग लिने माननीय सदस्यको नाम प्राप्त नभएको ब्यहोरा जानकारी गराउँछु,’ सभामुख विष्टले भने । त्यसपछि उनले विधेयकलाई निर्णयार्थ पेस गरे र विधेयक पारित भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप