कांग्रेसमा राठौर र साउदले गुट परिवर्तन गरेका हुन् ?

काठमाडौँ । नेपाली कांग्रेसमा एकतातिर २०८२ साल मंसिरमा हुनुपर्ने महाधिवेशन केन्द्रीय कार्यसमितिको बहुमतले एक वर्ष थप्ने आन्तरिक तयारी भइरहेको छ भने अर्कोतर्फ १५ औँ महाधिवेशनका लागि नेताहरूले कित्ता यकिन गर्न थालेका छन् ।
पछिल्लो समयका गतिविधि र क्रियाकलापले संस्थापन पक्षका दुई नेता इतर समूहमा ढल्केको देखिन्छ । सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य एनपी साउदले सभापति शेरबहादुर देउवा नेतृत्वको समूहलाई छोडेर नेता डा. शेखर कोइराला नेतृत्वको इतर समूहमा फट्को मार्न लागेको देखाउँछ ।
कांग्रेसको राजनीति सुरुवात गरेको आधारमा डा. कोइरालाभन्दा साउद सिनियर हुन् । साउद २०४८ सालमा कांग्रेस भ्रातृसंस्था नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । त्यसपछि २०५९ सालमा वर्तमान सभापति देउवाले नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा केन्द्रीय सदस्य बनेका साउद अहिलेसम्मै केन्द्रीय सदस्य छन् ।
अर्कोतर्फ डा. कोइराला भने २०६२ भदौ १ देखि ४ गतेसम्म भएको ११औँ महाधिवेशनपछि मात्रै कांग्रेसको केन्द्रीय समितिमा आएका हुन् । त्यसअघि उनी डाक्टरी पेसामा रहँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई कार्यकाल उपकुलपति बने । कांग्रेसमा १३ औँ महाधिवेशन पछिसम्म कोइरालाको भन्दा साउदको वरीयता अगाडि थियो । १४ औँ महाधिवेशनमा सभापति लडेर निकटतम प्रतिद्वन्द्वी भएकै कारण साउदको भन्दा कोइरालाको वरीयता सिनियर भएको छ । अहिलेको केन्द्रीय समितिमा कोइरालाको वरीयता २६ औँ र साउनको वरीयता ३९ औँ नम्बरमा छ ।
यसअघिसम्म प्रायः कोइराला प्रमुख अतिथि भएको कार्यक्रममा सहभागी नहुने साउद पछिल्ला दुई कार्यक्रममा भने सहभागी भएका छन् । माघ २८ मा जीपी फाउन्डेसनले भक्तपुरमा आयोजना गरेको ‘राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा साउद सहभागी थिए । त्यो कार्यक्रममा साउदले आफू निकट संस्थापन समूहकै केन्द्रीय सदस्य गोविन्दबहादुर शाहलाई पनि सहभागी गराएका थिए ।
त्यसपछि साउद इतर समूहका लागेको चर्चा भएपछि फागुन २ मा १४ औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई सहयोग गर्ने ११ नेताहरूको बैठकमा सहभागी भएर गुट परिवर्तन नगरेको संकेत दिन खोजेका थिए । तर, फागुन ६ मा प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनमा पनि डा.शेखर कोइराला प्रमुख अतिथि भएको कार्यक्रममा पुनः साउद सहभागी भएपछि कित्ता क्लियर भएको नेताहरू बताउँछन् ।
साउदले यसबारे औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरिरहेका छन् तर निकटस्थहरूसँग भने आफू देउवा फेरि सभापति हुने अवस्था निर्माण भएमा वा कांग्रेस–एमालेबिचको सहमति अनुरुप प्रधानमन्त्री हुने बेलामा देउवासँगै हुने र देउवापछि भने उनले भनेको व्यक्तिका पछि लागेर नहिँड्ने प्रतिक्रिया दिने गरेको स्रोत बताउँछ ।
अर्कोतर्फ देउवालाई पार्टी फुटालेर नेपाली कांग्रेस (प्रजातान्त्रिक)को तत्कालीन विद्यार्थी नेताका हैसियतमा भरपुर सहयोग गरेका वर्तमान कार्यसमितिका सहमहामन्त्री किशोरसिंह राठौर पनि संस्थापन समूहबाट बाहिरिने तयारीमा रहेको उनी सहभागी पछिल्लो कार्यक्रमले देखाएको छ । राठौर कांग्रेस प्रजातान्त्रिक क्रियाशील रहेको बेला नेपालगञ्जमा भएको नेपाल विद्यार्थी संघको महाधिवेशनमा अध्यक्ष निर्वाचित भएका थिए । उनी १४ औँ महाधिवेशनमा देउवा प्यानलबाट उम्मेदवार भएर खस आर्य कोटामा सहमहामन्त्री निर्वाचित भएका थिए ।
प्रायः औपचारिक कार्यक्रममा सहभागी नहुने राठौर गत शुक्रबार र शनिबार नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णले गरेको आफू नेतृत्वमा रहेको नेविसंघको कार्यकालका नेता समेटेर आयोजना गरेको कार्यक्रममा सहभागी भए । कर्ण १४ औँ महाधिवेशनमा डा. कोइराला समूहबाट सहमहामन्त्रीको उम्मेदवार भएर अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए । राठौर सहभागी कार्यक्रममा अर्का कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई पनि सहभागी थिए । उनी पनि कोइराला पक्षीय नेता भनेर चिनिन्छन् ।
खासै मिडियालाई प्रतिक्रिया नदिने राठौरले देउवापछि आफ्नो गुट कुन हुने भन्ने आफूमा निर्भर हुने र अहिलेको संस्थापन भनेर नहिँड्ने बताउने गरेका छन् ।