सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
आयात

कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै

सोमबार, १२ फागुन २०८१, १८ : ३०
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सार नाकाबाट धमाधम भित्रिँदै आएको छ ।

कृषि मन्त्रालयले २०८० फागुन २ गते ९ प्रकारका दुग्धजन्य वस्तु आयातमा रोक लगाएको थियो । मन्त्रालयले स्किम मिल्क पाउडर, डेरी ह्वाइटनर, बटर, घिउ, होल मिल्क पाउडर, चिजलगायतका दुग्धजन्य पदार्थको आयातमा रोक लगाएको थियो । 

कृषि मन्त्रालयकी प्रवक्ता डा. मतिना जोशी वैद्यका अनुसार अहिले पनि दुग्धजन्य पदार्थ आयातमा रोक लगाइएको छ ।

यस्तो थियो दुग्धजन्य पदार्थमा रोक लगाएको निर्णय पत्रः

mantralaya ko nirnaya_page-0001mantralaya ko nirnaya_page-0002mantralaya ko nirnaya_page-0003

कृषि मन्त्रालयले आयातमा रोक लगाएपछिको अवधिमा समेत ३६८ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको भन्सार विभागको तथ्याङ्क छ । ती सामग्री १७ करोड ६५ लाख रुपैयाँ मूल्य बराबरको रहेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक महेश भट्टराईका अनुसार कृषि मन्त्रालयको निर्णय भन्सार विभागलाई जानकारी गराइएको छैन । ‘भन्सार विभागलाई सोही समयमा बोधार्थ गराएको पत्रबाट देखिएन, सम्बन्धित विभागको स्वीकृतिविना कुनै पनि दुग्धजन्य पदार्थ आयात अनुमति हुँदैन,’ उनले भने, ‘मन्त्रालयको पत्र पश्चात पनि पशुसेवा विभाग/खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पटके रूपमा यदाकदा दुग्धजन्य वस्तु आयातका लागि अनुमति दिएको भन्सार विभागको अभिलेखमा देखिएको छ ।’

महानिर्देशक भट्टराईका अनुसार कतिपय हवाई यात्रुले विदेशबाट आउँदा व्यक्तिगत प्रयोजनका लागि ल्याएका सिलप्याक दुग्धजन्य पदार्थलाई भन्सार शुल्क लिएर जाँचपास गरिएको छ ।

कृषि मन्त्रालयले पनि स्वदेशमा उत्पादन नहुने तर आवश्यक पर्ने दुग्ध पदार्थ आयात गर्न अनुमति दिँदै आएको जनाएको छ ।  

कृषि मन्त्रालयले दुग्धजन्य पदार्थ आयातमा रोक लगाए पनि आयात भएका वस्तुको विवरणः

import-milk-data 

नेपालमा गैरकानुनी रूपमा दुग्धजन्य पदार्थ भित्रिएको डेरी उद्योग संघको दाबी छ । त्यस्ता दुग्धजन्य वस्तु भन्सारबाटै आएको पाइएको छ । आयात गरिएका दुध तथा दुग्धजन्य पदार्थ बजारमा प्रशस्त भेटिएको संघका अध्यक्ष राजकुमार दाहाल बताउँछन् । 

‘नेपालका ठुला होटलमा आयातित दुग्धजन्य पदार्थ प्रयोग भइरहेको छ,’ उनले भने, ‘आयात बन्द भएको दुग्धजन्य पदार्थ पनि आइरहेको छ ।’ 

दुधको उत्पादन बढी खपत कम हुने समयमा बजारको मागभन्दा बढी दुधलाई देशैभर ७ वटा पाउडर दुध कारखानाले धुलो दुध र मखन बनाइरहेका छन् । आगामी वर्षको सुक्खा सिजनमा आन्तरिक खपतका लागि चाहिने भन्दा धेरै परिमाणमा अहिले दुग्धजन्य पदार्थको मौज्दात रहेको डेरी संघले जनाएको छ । 

‘मौज्दातमा बटर र पाउडर छन्,’ उनले भने, ‘१५ सयदेखि २ हजार मेट्रिक टन बटर छ । करिब २५ सय मेट्रिक टन पाउडर छ । अझै बन्ने क्रम जारी छ । २ लाख लिटरभन्दा बढी दुधको ७ वटा कम्पनीले कन्भर्जन गरेका छन् ।’

संघले फागुन ११ गते आयात रोक लगाए पनि दुग्ध पदार्थ अवैध रूपमा आइरहेको भन्दै निगरानीका लागि आग्रह गरेको छ । 

डेरी उद्योगको अपिल पत्रः 

2

देशभरका ६ लाख कृषक परिवार डेरी क्षेत्रमा संलग्न छन् । पछिल्लो पटक वर्षभरिका आन्तरिक मागलाई आवश्यक पर्ने दुग्धजन्य पदार्थ पनि स्वदेशी उद्योगमै उत्पादन हुँदै आएको छ । आयातमा रोक लगाइए पनि दुग्धजन्य पदार्थ चोरी पैठारी भइ व्यापारिक रुपमा प्रयोग भइरहेको पाइन्छ । 

यसरी आयात भएका दुग्धजन्य पदार्थले बजारको ठुलो हिस्सा ओगटेका कारण स्वदेशी वस्तु बिक्री हुन नसकी भुक्तानी चक्रको सन्तुलनमा असर पर्न जाँदा दुध उत्पादक किसान तथा उद्यमीलाई थप मार पर्ने नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले बताए । 

उनले यस्ता क्रियाकलापलाई नियन्त्रण गर्न आफूले देशभरका जिल्ला प्रशासन कार्यालयलाई आग्रहसमेत गरेको बताए । ‘नेपालमा उत्पादन भएका दुध तथा दुग्धजन्य पदार्थ बिक्री नभइरहँदा आयात भएका वस्तु बजारमा पाउनु राम्रो होइन,’ उनले भने, ‘हामीले ७७ जिल्लाका प्रशासन कार्यालयमा निवेदन लेखेर निगरानी गर्न वर्षदिन पहिला नै आग्रह गरेका थियौँ तर कसैमार्फत पनि सुनुवाइ हुन सकेन ।’ 

मन्त्रालयले आवश्यकताका आधारमा र स्वदेशमा उत्पादन नहुने दुग्धजन्य पदार्थ आयात गर्न अनुमति दिने गरेको जनाएको छ । विभागले निजी प्रयोजनका दुग्धजन्य पदार्थ ल्याउँदा भन्सार पास दिएको दाबी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप