सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

एसपीए कैलाली प्रिमियर लिग क्रिकेट :  सेमिफाइनल समीकरण पूरा

सोमबार, १२ फागुन २०८१, १६ : २८
सोमबार, १२ फागुन २०८१

काठमाडौँ । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी एसपीए कैलाली प्रिमियर लिगको सेमिफाइनल समीकरण पुरा भएको छ । सोमबार सम्पन्न समूह ‘डी’ अन्तर्गतको अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई हराएसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुङ्गो लागेको हो ।

यसअघि, समूह ‘ए’ बाट कैलालीको गोदावरी नगरपालिका, समूह ‘बी’ बाट कञ्चनपुरको पुनर्वास ‘बी’ टोली र समूह ‘सी’ बाट बाजुराको त्रिवेणी नगरपालिका समूह विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन । तेस्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको थियो । 

लिग कम नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगितामा हरेक समूहको विजेता टोली सेमिफाइनल पुग्ने प्रावधान थियो । पहिलो सेमिफाइनल खेल मङ्गलवार बिहान ९ः०० बजे गोदावरी नगरपालिका र पुनर्वास ‘बी’ टोलीबिच खेलिने छ ।

यसैगरी, दोस्रो सेमिफाइनल पनि मङ्गलवार नै दिउँसो १४ः ०० बजे बाजुराको त्रिवेणी नगरपालिका र भिमदत्तबिच हुनेछ । फाइनल खेल भने फागुन १४ गते दिउँसो १३ः ०० बजेबाट धनगढीको फाप्ला मैदानमा सुरु हुनेछ ।

सोमबारको खेलमा लम्कीचुहा नगरपालिकाले दिएको ९७ रनको लक्ष्य भिमदत्तले १६ ओभरमा पाँच विकेट गुमाएर ९९ रन बनाउँदै पार गरेको थियो । भिमदत्तका लागि साजन बिटालुले अविजित ३१ रनको योगदान गरे । 

मिलन बोहराले पनि अविजित २६ रन बनाए । लम्कीचुहाका डम्बर माझीले दुई विकेट लिए । सुरेश भण्डारी र सागर बीसीले पनि एक–एक विकेट हात पारे । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको लम्कीचुहाले १९.२ ओभरमा अलआउट हुनुअघि ९६ रन बनाएको थियो । लम्कीचुहाका लागि रविन भण्डारीले सर्वाधिक २७ र हेमन्त चलाउनेले २४ रन बनाए । भीमदत्तका बलर अरुण ऐरीले चार विकेट लिए ।

अरुणले चार ओभरमा २० रन खर्चिए । तीन वटा क्याचसमेत लिएका उनी म्यान अफ दि म्याच पनि घोषित भए । समीर बिस्टले तीन तथा सन्तोष भट्ट र मिलन बोहराले एक–एक विकेट हात पारे ।

जिल्ला क्रिकेट सङ्घ कैलालीको आयोजनामा जारी कैलाली प्रिमियर लिगको यो तेस्रो संस्करण हो । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाले र दोस्रो संस्करण डडेलधुराको आलिताल गाउँपालिकाले जितेका थिए । 

प्रतियोगिताको विजेता टोलीले दुई लाख, उपविजेता टोलीले एक लाख र सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले पनि जनही १५–१५  हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । उदीयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचले दुई हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप