अब पढ्न पाइने छैन अस्ट्रेलियाका पूर्वकप्तान इयान च्यापलले लेखेको क्रिकेटसम्बन्धी समाचार र विश्लेषण

काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका पूर्वकप्तान इयान च्यापलले क्रिकेट सम्बन्धी समाचार र आलेख लेखनबाट पनि सन्न्यास लिएका छन् । सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि उनी क्रिकेट सम्बन्धी समाचार र विश्लेषण लेखनमा सक्रिय थिए ।
आफ्नो समयका प्रभावशाली खेलाडी च्यापलले पाँच दशक लामो (५२ वर्ष लामो) क्रिकेट लेखन कार्यलाई ८१ वर्षको उमेरमा आएर बिट मारेका हुन् । क्रिकेट सम्बन्धी उनको अन्तिम विश्लेषणात्मक टिप्पणी आइतबार ईएसपीएन क्रिकइन्फोमा प्रकाशित भएको छ ।
उनले क्रिकेट लेखन कार्यबाट बिदा लिँदा आफू निकै भावुक बनेको बताएका छन् । ‘सक्रिय खेल जीवनबाट बिदा लिँदा जस्तो अनुभव गरेको थिएँ, अहिले त्यस्तै अनुभव भइरहेको छ । वास्तवमै यो निर्णय लिनु मेरा लागि निकै कठिन थियो,’ उनले भनेका छन् ।
उनले लेखन कार्यबाट बिदा लिने आफ्ना लागि यो उपयुक्त समय भएको पनि बताएका छन् । ‘म ५० वर्षभन्दा लामो समयदेखि निरन्तर क्रिकेट सम्बन्धी समाचार र विश्लेषणहरू लेखिरहेको छु । अब मैले आफ्नो क्रिकेट जीवनको दोस्रो पालीलाई पनि बिट मार्ने निर्णय लिएको छु,’ उनले भनेका छन् ।
इयान च्यापलले सक्रिय खेल जीवन र लेखन कार्यमा आफूलाई सहयोग पुर्याउने सबैप्रति आभार पनि व्यक्त गरेका छन् । आफ्नो अन्तिम खेलमा भारतका महान् क्रिकेटर सचिन तेन्दुल्करको बारेमा पनि उल्लेख गरेका छन् ।
च्यापलले आफ्नो अन्तिम लेखमा सचिनको प्रसङ्ग उल्लेख गर्दै लेखेका छन्, ‘सन् १९९८ मा चेन्नईमा सम्पन्न टेस्ट म कहिल्यै भुल्दिन । त्यतिबेला दुई महान् खेलाडी सचिन तेन्दुल्कर र शेन वार्नबिच झगडा भएको थियो । मैले त्यसको समाचार लेखेको थिएँ । त्यो लेख मेरो जीवनकै उत्कृष्ट लेखमध्ये एक हो । अस्ट्रेलियाविरुद्ध भीभीएस लक्ष्मणले खेलेको दुई सय ८१ रनको पाली पनि स्मरणीय छ । यसदेखि बाहेक ब्रायन लाराको प्रतिभा र रिकी पोन्टिङको आक्रामकताको बारेमा पनि मैले स्मरणीय लेख लेखेको छु ।’
इयान च्यापल आफ्नो समयका प्रभावशाली ब्याटिङ अलराउन्डर थिए । उनले अस्ट्रेलियाका लागि ७५ टेस्टको एक सय ३६ पालीमा कुल पाँच हजार तीन सय ४५ रन बनाएका छन् । उनले टेस्ट क्रिकेटमा १४ शतक र २६ अर्धशतक पनि प्रहार गरेका छन् ।
यसैगरी, इयान च्यापलले १६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा कुल ६ सय ७३ रन बनाएका छन् । यसका अतिरिक्त, उनले टेस्ट क्रिकेटमा २० र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने
-
बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ