‘लाज शरणम्’ विवादमा अर्जुन घिमिरे : प्रचारको रोकले झन् राम्रो प्रचार भइदियो

अर्जुन घिमिरे चर्चित टेलिशृङ्खला ‘सक्किगोनी’का कलाकार–निर्देशक हुन् । टेलिशृङ्खलामा उनले निर्वाह गरेको ‘पाँडे’को चरित्र हिट छ । फिल्म ‘लाज शरणम्’मा पनि उनी त्यही चरित्रमा देखिँदै छन् ।
‘लाज शरणम्’ ‘सक्किगोनी’ टिमले निर्मित र कुमार कट्टेल निर्देशित फिल्म हो । फिल्म शिवरात्रिको अवसर पारेर १४ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । आफ्नो अभिनय र निर्माण रहेको पहिलो फिल्म रिलिज हुँदै गर्दा उनी एकदमै खुसी छन् ।
फिल्म केही अगाडि विवादमा तानिएको थियो । पूर्वमन्त्री अफताव आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै फिल्म विरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो ।
केन्द्रीय चलचित्र जाँच समितिले फिल्म हेर्दै विषयवस्तु सामान्य नै भएको भन्दै प्रदर्शन अनुमति पाएको छ । फिल्म र विवादको विषयमा रातोपाटीले कलाकार अर्जुन घिमिरेसँग गरेको कुराकानीको सम्पादीत अंश ।
- ‘लाज शरणम्’लाई चलचित्र सेन्सर बोर्डबाट प्रदर्शन अनुमति मिल्दा कस्तो महसुस भयो ?
– सर्वाधिक खुसी छु । जुन फिल्म दर्शकका लागि सार्वजनिक प्रदर्शन गर्न भनेर बनाएका थियौ । त्यसले रिलिज अनुमति पायो । फिल्मसँग जोडिएर भएको लफडाले गर्दा फिल्मको रिलिजलाई लिएर निकै चिन्ता थियो । त्यसबाट छुटकारा मिल्यो ।
- फिल्मको प्रचारमा रोक लाग्दा तनाव भयो कि भएन ?
– रोकमा पनि फिल्मको राम्रो प्रचारप्रसार भइरहेको थियो । हामीले एक किसिमले प्रचार प्रसारमा अगाडि बढाइरहेका थियौ । त्यसमा ब्रेक लाग्यो । ट्रेलर रिलिज रोक्नु पर्यो । प्रचारलाई लिएर बनाएका विभिन्न सोच त्यसै रह्यो । हामीले प्रचार समेटेको कारण नियमित प्रसारण हुँदै आएको सिरियल ‘सक्किगोनी’को नयाँ एपिसोड रोक्नुपर्यो । रिलिज मिति नजिकिँदै गर्दा झन् धेरै प्रचारप्रसार गर्नुपर्ने बेला रोकिदा डर भएको थियो । अहिले फेरि प्रचारप्रसार थालिसकेका छौ ।
सेन्सरमा समेत एक दिन रोकियो, हैन ?
–फिल्मको सेन्सर शुक्रबार नै भएको हो, रोकिएको छैन । फिल्ममा मद्यपान, धूम्रपान लगायतका दृश्यहरू कतैकतै थियो । ती दृश्यहरू ब्लर गर्नुपर्ने भएको कारण शुक्रबार नभ्याएर आइतबार प्रमाण पत्र लिएका हौँ ।
- फिल्मको पोस्टरलाई लिएर विवाद निम्तिन्छ भन्ने लागेको थियो त ?
–यो विषयमा अहिले खै के भनौँ । कसैसँग मिल्न गयो होला । हामीले कसैको हुलिया र व्यक्तिगत चित्रण लिएको होइन । पोस्टर विवादमा परेपछि मात्र हामीले पनि मिलेको थाहा पायौँ । विवाद आउन नहुने थियो, आयो र एउटा लेभलमा पुगेर निकास लागिसक्यो । यस विषयमा अब कुरा नगर्दा राम्रो हुन्छ ।
- फिल्म क्षेत्रमा अप्ठ्यारो पर्दा साथ दिने हुँदैन भनिन्छ, सामाजिक सञ्जाल हेर्दा तपाईँलाई राम्रो साथ मिलेजस्तो लाग्छ ?
– हामीलाई सबैबाट साथ, सहयोग र सल्लाहसमेत मिल्यो । कुनै पनि फिल्म बन्नका लागि यही समाजको पात्र, कथा, घटनाहरू लिने हो । हामी बहुजाति, बहुभाषी, बहुधार्मिक भएको मुलुकमा बसेका छौँ । हाम्रो देश धेरै कन्टेन्ट छ । हिमाल, पहाड, तराई जताको क्यारेक्टर बनाउँदा कोही कसैसँग मिल्न जान्छ । त्यही भएर फिल्ममा कथा कसैसँग मिल्न गयो भने संयोग मात्र हुने भनेर हालिन्छ ।
प्रदर्शनको समय आएर अवरोध भोग्दा बेकारमा बनाइएछ जस्तो लागेन ?
– त्यस्तो लागेन । किनभने हामी राम्रो कामका लागि रिक्स लिनुपर्छ भनेर ठान्ने व्यक्ति हौँ । हामी लामो समयदेखि सिरियल बनाइरहेका छौँ । हाम्रो काम नै यही हो । अहिले फिल्ममा हात हालेका हौँ । यो घटनाले अझ हामीले म्याचोर्ड हुने अवसर पायौँ । एउटा शालिग्राम बन्नका लागि ढुङ्गाले धेरै ठाउँमा ठक्कर खाएको हुन्छ । मानिसहरूले यस्तै विषयबाट सिक्दै अगाडि बढ्ने हो ।
- अहिले आएर किन फिल्म निर्माण गर्न मन लाग्यो ?
– हामीले सिरियल गरेको १०–१२ वर्ष भयो । अहिलेसम्म हामी सानो पर्दामा काम गरिरहेका छौँ । ठुलो पर्दामा पनि हामीलाई देखिने रहर छ । ठुलो पर्दामा पनि हामीलाई हाम्रो कथा भन्न र प्रतिभा देखाउन मन छ । फिल्मको संसार अर्कै छ । फिल्ममा पनि जानुपर्छ भन्ने हिसाबले फिल्म निर्माण गरेका हौँ ।
- ‘लाज शरणम्’ कस्तो फिल्म हो ?
‘लाज शरणम्’ मनोरञ्जनको फूल डोजले भरिएको फिल्म हो । शिवरात्रिको अवसर पारेर १४ फागुनमा रिलिज हुने फिल्ममा हामीले दूरदराजको बाहिर नआएको एउटा कथा भन्न खोजेका छौ । पुरै देशमा मिल्ने कथा छ । फिल्म के हो र कस्तो छ भन्ने विस्तृत जान्न फिल्म नै हेर्नुपर्छ । फिल्मबाट केही ज्ञान पनि पाइन्छ ।
- तपाईं चाही ‘पाँडे’कै भूमिकामा किन ?
– फिल्मको स्क्रिप्ट तयार भए पनि लेखक, निर्देशकले कलाकारलाई कुन भूमिका सुहाउँछ । त्यो दिने कुरो हो । फिल्मका निर्देशक कुमार कट्टेलले मलाई यो भूमिकामै राम्रो देखिन्छ भनेर दिनुभयो । मैले यो भूमिका गर्छु भनेर गरेको होइन । मैले गरिरहेको क्यारेक्टर गर्दा झन् राम्रो हुन्छ भनेर ओके भने ।
फिल्म निर्माण धेरै कलाकार आफू नै हिरो बन्छन् । तपाईँलाई त्यो लोभ लागेन ?
– हामी काम गर्दा टिमवर्कमा विश्वास गर्छौँ । यो फिल्म पनि सक्किगोनी टिमको टिमवर्क हो । फिल्मको लेखक तथा निर्देशक कुमार कट्टले हुन् । उहाँले जसलाई जे रोल सुहाउँछ । त्यही दिनु भएको होला ।
‘लाज शरणम्’सँग अन्य दुई फिल्म पनि जुध्दैछ । व्यावसायिक डर लागेको छैन ?
– व्यावसायिक डर भन्दा पनि रिलिजमा आउन लागेका सबै नेपाली फिल्म हुन् । सबै फिल्ममा लगानी भएको छन् । सबै फिल्म सफल हुनुपर्छ भन्ने मेरो धारणा हो । फिल्म क्षेत्र अगाडि बढ्न सबै सफल भएपछि मात्र सम्भव छ ।
फिल्म निर्माणमा निरन्तरता रहन्छ, कि पुग्यो ?
– हामी नियमित फिल्म निर्माण गर्ने योजना सहित आएका हौ । त्यसैले ‘लाज शरणम्’पछि अन्य फिल्महरू पनि बन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली
-
जनार्दन र वर्षमानलाई प्रचण्डको अँगालो, किन रिसाए नारायणकाजी ?
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने